महानगरले डबली सभ्यतालाई पुनर्जागरण गर्छ : मेयर शाह

‘काठमाण्डाै महानगरलाई सांस्कृतिक सहर बनाउने सपना पूरा गरेरै छाेड्छाैँ’

 मंसिर २९, २०७९ बिहीबार १६:१८:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगरले डबली सभ्यतालाई पुनर्जागरण गर्ने बताउनुभएको छ । 

आज बिहीवार काठमाण्डौ महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाहले महानगरले काठमाण्डौ उपत्यकाभित्र डबली सभ्यतालाई पुनर्जागरण गर्न लागेको बताउनुभएको हो । उहाँले उपत्यकाभित्र रहेका डबलीहरूलाई जनचेतनामूलक कार्यक्रम गर्न प्रयोग गरिने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘काठमाण्डौ महानगरपालिकाले सप्ताहव्यापी महानगर दिवस मनाउँदै गर्दा विभिन्न कुरालाई एउटा सिम्बोलको रूपमा देखाउन चाहेको छ । उदाहरणको रूपमा हामीले हाम्रो डबली सभ्यतालाई पुनर्जागरण गर्न लागेका छौँ । उपत्यकाभरि र काठमाण्डौ महानगरभरि रहेका डबलीमा साङ्गीतिक कार्यक्रमदेखि लिएर नाटक मञ्चन हुने गर्दथ्यो । त्यसलाई फेरि पुनर्जागरण गर्नुपर्छ ।’

मेयर शाहले संस्कृतिलाई जगेर्ना गर्नका निम्ति नयाँ पुस्तामा हस्तान्तरण गर्दै जानुपर्ने बताउनुभयो । मौलिक बाजाहरूलाई अभिलेखीकरण गर्दै नयाँ पुस्तालाई पनि सिकाउँदै जानुपर्नेमा उहाँले जोड दिनुभयो । 

शाहले काठमाण्डौ महानगरपालिकाबाट गरिने सेवा प्रवाहलाई डिजिटलाइज गर्न सुरु गरिएको बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य र पूर्वाधारलगायतका क्षेत्रमा छिमेकी पालिका र सबै तहको सरकारसँग सहकार्य गर्दै अगाडि बढेको बताउनुभयो । काठमाण्डौ महानगरलाई सांस्कृतिक सहर बनाउने सपना पूरा गरेरै छोड्ने उहाँले उल्लेख गर्नुभयो । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया