नवनिर्वाचित सांसदहरुलाई शपथको तयारी, ज्येष्ठ सदस्य को भन्नेमा अन्योल

 पुस २, २०७९ शनिबार ७:१९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ गराउने तयारी थालेको छ । निर्वाचन आयोगले चुनावी परिणामसहितको प्रतिवेदन अस्ति बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएपछि सङ्घीय संसद् सचिवालयले शपथको तयारी थालेको हो ।

चुनावको नतिजा सार्वजनिक भएको ३० दिनभित्र संसद् बैठक आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा ९३ को उपधारा १ अनुसार राष्ट्रपतिले प्रतिनिधि सभा चुनावको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुपर्नेछ ।

संसद् बैठकमा सहभागी हुनुअघि नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ लिनुपर्ने हुन्छ । निर्वाचित भएर आएका ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिएपछि उनले अरु सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउने संवैधानिक व्यवस्था छ । सङ्घीय संसद् सचिवालयले नवनिर्वाचित ज्येष्ठ सांसदको जन्ममिति खुल्ने कागजातसहितको विवरण बुझाउन निर्वाचन आयोगलाई पत्राचार गरिसकेको छ ।

आयोगले सचिवालयमा बुझाएको नवनिर्वाचित सांसदहरूमध्ये ज्येष्ठ सदस्य को हो भन्नेमा स्पष्ट उमेर खुल्ने आधार नभएकोले उमेर खुलाएर पठाउन सचिवालयले आयोगलाई पत्राचार गरेको हो । राजनीतिक दलले निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार तीन जना सांसदको उमेर ८० वर्ष र एक सांसदको उमेर ८५ वर्ष पुगेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र राप्रपाका पशुपति शम्शेर जबराको उमेर ८० वर्ष पुगेको आयोगको विवरणमा उल्लेख छ । उमेरका हिसाबले तीन जनामध्ये केसी ज्येष्ठ सदस्य हुनुहुन्छ । आयोगको विवरण अनुसार महिन्द्र राय यादवको उमेर ८५ वर्ष पुगेको छ । तर, आयोगले पठाएको विवरण र यादवको नागरिकताको उमेर बाझिएको छ ।

यादवले नागरिकता बनाउँदा आफ्नो उमेर बढाइएको बताउनुभएको छ । यसअघि २०७४ सालको प्रतिनिधि सभामा पनि यादव उपस्थित नभएपछि महन्थ ठाकुरले ज्येष्ठ सदस्यको हैसियतमा सांसदहरुको पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।

आयोगले विवरण पठाएपछि त्यसको परीक्षण गर्ने र शपथ ग्रहणको कार्यक्रम राख्ने संसद् सचिवायलको तयारी छ । राष्ट्रपति कार्यालय र दलहरुसँग समन्वय गरेपछि सांसदहरुको शपथ ग्रहणको मिति तय हुने सचिवालयले जनाएको छ । सांसदहरुले शपथ लिएसँगै राजनीतिक दलहरूले संसदीय दलको नेता चयन गर्नेछन् । त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया