दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डौ – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका–७ मा निर्माण गरिएको सुनवल १ सय ३२ केभी सबस्टेसन सञ्चालनमा आएको छ ।
परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योगहरु र स्थानीयबासिन्दालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि सुनवल १ सय ३२ केभी सबस्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ ।
अहिले सञ्चालनमा रहेको पूर्व–पश्चिम १ सय ३२ केभी प्रसारण लाइन सुनवल सबस्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ । यही १ सय ३२ केभी लाइनबाट सुनवल सबस्टेसनमा विद्युत् आपूर्ति दिइएको छ ।
सबस्टेसन सञ्चालनमा आएसँगै त्यस क्षेत्रमा सञ्चालित स्टील, सिमेन्टलगायतका उद्योगहरु तथा स्थानीय उपभोक्ताले पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति पाएका छन् ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले परासी क्षेत्रका सिमेन्ट, स्टीललगायतका ठूला उद्योगहरु र स्थानीय उपभोक्तालाई विद्युत् आपूर्तिका लागि सुनवल सबस्टेसन मेरुदण्ड भएको बताउनुभयो ।
बुटवल सबस्टेसनबाट लामो र कम क्षमताको ३३ केभी लाइनमार्फत आपूर्ति दिँदा सुनवल तथा परासी क्षेत्रका उपभोक्ताहरुबाट पर्याप्त विद्युत् नपाएको, भोल्टेजको समस्या भएको, पटक–पटक ट्रिपिङ हुने जस्ता गुनासाहरु आउने गरेका थिए । बुटवल सबस्टेसन माग धान्न नसक्ने अवस्थामा पुगी ओभरलोडेड थियो ।
सुनवल सबस्टेसन सञ्चालनमा आएसँग बुटवल सबस्टेसनको चाप घटेको छ । सुनवल तथा परासी क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय भएको र उपभोक्ताले मागेजति विद्युत् पाउने कार्यकारी निर्देशक घिसिङको भनाइ छ । साथै अब प्राविधिक चुहावट समेत घट्नेछ ।
सबस्टेसनबाट स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि निकालिने ३३ केभीका ७ वटा फिडरहरुमध्ये ३ वटा सञ्चालनमा ल्याइएको छ । ३३ केभीका तीन वटा फिडरहरुमध्ये एउटाबाट सर्वोत्तम सिमेन्ट तथा परासी बजार क्षेत्र, अर्काेबाट पाल्पा सिमेन्ट तथा रुपन्देहीको शित्तलनगर सबस्टेसन र लक्ष्मी स्टीलमा विद्युत् आपूर्ति दिइएको प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालय, बुटवलका निर्देशक नवराज ओझाले जानकारी दिनुभयो ।
अहिले सुनवल सबस्टेसनबाट त्यस क्षेत्रमा करिब २० मेगावाट विद्युत् आपूर्ति भइरहेको छ । परासीतर्फ जाने बाँकी ३३ केभीका चारवटा र सबस्टेसनको वरिपरि विद्युत् आपूर्तिका लागि ११ केभीका चारवटा फिडरहरु निर्माणाधीन छन् ।
औद्योगिक करिडोरमा विद्युत् आपूर्तिको व्यवस्थापनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत प्राप्त भएको बजेट करिब ६९ करोड रुपैयाँमा सुनवल सबस्टेसन निर्माण गरिएको हो ।
सबस्टेसन निर्माणका लागि इनर्जी प्याक तथा सिग्माकोनको उपक्रमसँग गरिएको ठेक्का सम्झौता २४ कात्तिक २०७६ मा कार्यान्वयनमा आएको थियो ।
प्राधिकरणले परासी र रुपन्देहीको भैरहवा औद्योगिक करिडोरमा विद्युत्को बढ्दो मागलाई सम्बोधन गर्न, प्रसारण क्षमता वृद्धि गर्न, प्राविधिक चुहावट घटाउन, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि सुनवल (भुमही) –हकुई १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण अगाडि बढाएको छ ।
प्राधिकरणले भैरहवा क्षेत्रको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन योगीकुटी (बुटवल) बाट मैनहियासम्मको १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइन र सबस्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ ।
मैनहिया सबस्टेसनबाट विद्युत् दिन थालेपछि भैरहवा क्षेत्रको क्षेत्रको भोल्टेज सुधार भइ आपूर्ति भरपर्दो र गुणस्तरीय भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।