१५ बुँदे घोषणापत्र जारी गर्दै सकियाे पत्रकार महासङ्घको साधारणसभा

 पुष ९, २०७९ शनिबार १९:५८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल पत्रकार महासङ्घको साधारणसभा १५ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । सुर्खेतमा हिजोदेखि सुरु भएको साधारणसभाले महासचिव, कोषाध्यक्ष र लेखा समिति संयोजकको प्रतिवेदन पारित गर्दै आज सकिएको हो । साधारणसभाबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री कानुन निर्माण गर्न तीन वटै तहका सरकारलाई आग्रह गरिएको महासचिव रोशन पुरीले जानकारी दिनुभयो ।

संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गरे पनि त्यसपछि गठन भएका तीन वटै तहका सरकार तथा राजनीतिक दलहरूले पूर्णतः कार्यान्वयनमा नल्याएको भन्दै यसलाई कार्यान्वयनमा ल्याउन आग्रह गरिएको हो ।

पत्रकारलाई सचेततापूर्वक ‘डिजिटल’ माध्यमको प्रयोग गर्नुका साथै यो माध्यममार्फत् प्रेस स्वतन्त्रता हननका घटनामाथि कानुनी कारबाहीका लागि माग गरिएको छ । श्रमजीवी पत्रकार ऐन तथा नियमावलीमा तोकिएका सेवा सुविधाको पूर्ण कार्यान्वयन तथा समसामयिक परिमार्जनसहित श्रम समस्या समाधानका लागि नेपाल सरकार र सम्बद्ध पक्षसँग माग गर्दै महासङ्घलाई ट्रेड युनियन संस्थाका रूपमा सामूहिक सौदाबाजीमार्फत् श्रम अधिकार स्थापित गर्न निर्देश गरिएको छ ।

श्रमजीवी पत्रकारको निःशुल्क उपचार, दुर्घटना र स्वास्थ्य बीमाका सम्बन्धमा यसअघि सरकारले गरेका निर्णयको प्रभावकारी कार्यान्वयनका लागि माग गरिएको छ । यस्तै सञ्चार प्रतिष्ठानका विषयवस्तु र संरचनालाई लैङ्गिक, समावेशी र अपाङ्गतामैत्री एवं कार्यस्थललाई सुरक्षित बनाउन सबै सञ्चार प्रतिष्ठानलाई आह्वान समेत गरिएको छ ।

प्रेसपासको सहज उपलब्धताका लागि आवश्यक वातावरण बनाउन सम्बद्ध सबै निकायलाई अपिल गरिएको छ । सञ्चारमाध्यमको दर्ता, नवीकरण, नियमन तथा सेवा सुविधाका सन्दर्भमा प्रेस काउन्सिल नेपाल, सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्डलगायत विभिन्न सरकारी निकायमा अनावश्यक र झन्झटिलो प्रक्रिया पूरा गर्नुपर्ने अव्यावहारिक व्यवस्था तत्काल खारेज गर्न माग गरिएको छ । यसैगरी पत्रकार आचारसंहिताको पूर्णपालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सबै सञ्चारकर्मीलाई आह्वान गरिएको छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया