चिडियाखानाको बाघ पाल्ने जिम्मा ललितपुर महानगरको

 पुष १४, २०७९ बिहीबार १३:५३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुर महानगरपालिकाले चिडियाखानामा रहेको बाघलाई आवश्यक पर्ने खाना तथा अरू व्यवस्थापनका लागि आवश्यक खर्च बेहाेर्ने भएको छ ।

चिडियाखानाको २७ औँ वार्षिकोत्सव कार्यक्रममा महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले चिडियाखानामा रहेको बाघको अभिभावकत्व ग्रहण गर्ने जानकारी दिनुभएको हो । चिडियानाले दुई वर्षअघि सुरु गरेको 'एडप्ट एन एनिमल' अर्थात् जनावरको अभिभावकत्व ग्रहण गर्ने कार्यक्रमलाई ललितपुर महानगरपालिकाले पनि साथ दिन लागेको हो ।

दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकसिङ्गे गैँडाको अभिभावकत्व ग्रहण गरेर यो कार्यक्रम सुरुवात गर्नुभएको थियो । त्यसपछि जनावरको अभिभावकत्व ग्रहण गर्ने कार्यक्रममा आकर्षण थपिएको चिडियाखानाले जनाएको छ ।

२७ औँ वार्षिकोत्सव कार्यक्रममा मेयर महर्जनले चिडियाखाना घुम्न आउने अशक्त तथा ज्येष्ठ नागरिकका लागि सुविधाजनक गाडीको व्यवस्थापन गर्ने जानकारी पनि दिनुभयो । महर्जनले चिडियाखाना सबैको आकर्षणको केन्द्रविन्दु भएकाले यसको संरक्षण र संवर्द्धनमा महानगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

२०५२ साल पुस १४ गते राष्ट्रिय प्रकृति संरक्षण कोषले चिडियाखाना व्यवस्थापनको जिम्मा लिएको अवसरमा हरेक वर्ष दिवस मनाइने गरिन्छ । छ हेक्टर क्षेत्रफलमा फैलिएको चिडियाखानामा अहिले एक सय १४ प्रजातिका विभिन्न जीवजन्तु प्रदर्शनीमा राखिएको छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया