स्याङ्जाको वालिङमा आधुनिक बसपार्क बनाइँदै

 पुस १५, २०७९ शुक्रबार १४:५३:३३ | राधाकृष्ण डुम्रे
unn.prixa.net

वालिङमा निर्माण हुन लागेको बसपार्कको नमुना

स्याङ्जा – स्याङ्जाको वालिङ नगरपालिकामा आधुनिक बसपार्क निर्माण गरिने भएको छ । आधुनिक बसपार्कको निर्माणसँगै गाडी पार्किङको समस्या समाधान हुने विश्वास लिइएकाे हो ।

'स्मार्ट सिटी' को अवधारणसहित अगाडि बढिरहेको वालिङमा गाडी व्यवस्थितरूपमा पार्किङ गर्ने ठाउँ नहुँदा बजार क्षेत्र अस्तव्यस्त हुँदै आएको थियो । गाडी पार्किङको समस्या समाधानका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको छ ।

आधुनिक बसपार्कलाई नमुना बसपार्कको रूपमा तयार गरिने वालिङका मेयर कृष्ण खाणले बताउनुभयो । बसपार्क बनेपछि वालिङबाट छुट्ने तथा वालिङमा रोकिने ठूला, मझौला र साना गाडीलाई पार्किङकाे समस्या नहुने खाणको भनाइ छ । 

बसपार्क निर्माणको काम केन्द्र सरकार र प्रदेश सरकारको समपूरक योजनाका रूपमा अघि बढाइने उपमेयर कविता तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार पब्लिक–प्राइभेट पार्टनरसिप (पीपीपी) मोडेलमा बसपार्क निर्माण हुनेछ ।

आधुनिक बसपार्कको टर्मिनल भवन, घेरा पर्खाल, वर्कशप, आन्तरिक बाटो लगायत निर्माणका लागि १४ करोड ४१ लाख रुपैयाँ बजेट अनुमान गरिएको छ । यसका लागि सहरी विकास कोषबाट ८० प्रतिशत ऋण तथा वालिङ नगरपालिकाको २० प्रतिशत लगानीमा काम सम्पन्न हुने नगरपालिकाले जनाएको छ । 

निर्माण सम्पन्न भएपछि बसपार्कमा प्रतिघण्टा ९६ वटा गाडी पार्किङ गर्न सकिनेछ । जीप, मिनीबस, माइक्रोबस लगायतका छोटो दूरीमा चल्ने गाडी प्रतिघण्टा ४२ वटा पार्किङ गर्न सकिनेछ । त्यसैगरी लामो दूरीमा चल्ने बसहरू प्रतिघण्टा ४८ वटा र बिजुलीबाट चल्ने बसहरू प्रतिघण्टा आठ वटा, दुई पाङ्ग्रे गाडी प्रतिघण्टा १० वटा, निजी गाडी प्रतिघण्टा २० वटा अटाउने प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिनुभयो । सहरी विकास कोषसँगको सहकार्यमा बसपार्क निर्माणका लागि डीपीआर तयार पारिएको हो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया