प्रचण्डलाई समर्थन गर्ने कि नगर्ने भन्नेबारेमा हामीलाई धर्मसङ्कट पर्‍याे : प्रवक्ता खतिवडा

 पुष १८, २०७९ सोमबार १८:२६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्यहरूले वामपन्थी शक्तिहरूका बीचमा एकता गर्नुपर्नेमा जोड दिएका छन् । आज सोमवारदेखि सुरु भएको पार्टीको पोलिटब्युरो बैठकमा आफ्नो धारणा राख्दै पोलिटब्युरो सदस्यहरूले वामपन्थी शक्तिहरूका बिचमा एकता गर्नुपर्नेमा जोड दिएका हुन् । 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बैठकमा बोल्ने सदस्यहरूले वामपन्थीहरूलाई एकताबद्ध बनाउन पहल गर्नुपर्ने धारणा राखेका बताउनुभयो । उहाँले वामपन्थीहरूको एकताको सम्बन्धमा सबैको एकमत रहेको बताउनुभयो । 

त्यस्तै सङ्गठन सुदृढीकरण गर्न आउँदो पाँच वर्ष पार्टी निर्माणको अभियानमा लाग्नुपर्नेमा पनि सबै सदस्यको एकमत रहेको उहाँले उल्लेख गर्नुभयो । बैठकमा झन्डै ३० जना सदस्यले आफ्नो धारणा राखेका प्रवक्ता खतिवडाले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘धेरैले पार्टीलाई सबल बनाएर शक्ति सुदृढीकरण गरिसकेपछि मात्रै सबै उपलब्धि प्राप्त गर्न सक्छौँ भनेका छन् । पाँच वर्षसम्म पार्टी निर्माणको अभियानमा हिँड्नुपर्छ भन्नेमा सबैको एक मत छ । अब वाम एकताको बारेमा, वामपन्थीहरूलाई एकताबद्ध बनाउन पहल गर्ने कुरामा सबैको एक मत छ ।’ 

प्रवक्ता खतिवडाले वर्तमान सरकारमा जाने सन्दर्भमा औपचारिक प्रस्ताव नै नआएको भन्दै यस सम्बन्धमा छलफल नभएको बताउनुभयो । बैठकमा सरकारलाई हेर्ने दृष्टिकोणको सम्बन्धमा भने छलफल भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘यो सरकारलाई हेर्ने दृष्टिकोणको बारेमा छलफल गरिरहेका छौँ । सरकारमा जाने कि नजाने भनेर छलफल गरिरहेका छैनौँ । औपचारिक प्रस्ताव नै आएको छैन ।’

प्रवक्ता खतिवडाले विगतमा सँगै गठबन्धन गरेका नेता पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएसँगै समर्थन गर्ने कि नगर्ने भन्ने सम्बन्धमा आफूहरूलाई धर्मसङ्कट परेको बताउनुभयो । व्यक्तिगतरूपमा प्रधानमन्त्री प्रचण्डप्रति सद्भाव भए पनि राजनीतिमा व्यक्तिगत सद्भावले काम नगर्ने उहाँले उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘हामीले जनादेश बुझेका छौँ । हामीलाई एउटा धर्मसङ्कट छ अहिले, सँगै काम गरेको सहयात्री, १७/१८ महिनासम्म हामी गठबन्धनमा सँगै बस्यौँ । कमरेड प्रचण्ड प्रधानमन्त्री हुनुभएको छ, जुन–जुन बाटोबाट भए पनि उहाँ प्रधानमन्त्री हुनुभयो । पार्टीको नीतिगत प्रश्नहरूमा प्रष्टता नभइकन व्यक्तिगत कुराको अर्थ रहँदैन । त्यो नीतिगत प्रष्टता प्राप्त गर्नका निम्ति पोलिटब्युरो बैठक राखेका हौँ । त्यसैले हाम फाल्ने, खुट्टो उचाल्नेजस्ता कुनै सन्दर्भ छैन । बडो सोची, सम्झी हामी जे गर्छाैँ परिपक्व काम गर्छौँ ।’

पार्टीको बैठक भोलि मङ्गलवार बिहान ११ बजे फेरि बस्नेछ ।

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया