दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै - नेपालमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण जोखिम बढेको छ । अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण मुख्यगरी सुँगुर/बङ्गुरमा हुने गरेको छ ।
काठमाण्डौ, कास्की, म्याग्दी, बाग्लुङलगायतका जिल्लामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणबाट केही सुँगुर/बङ्गुर मरेका छन् । ती जिल्लामा सङ्क्रमण देखिएपछि रोकथामका उपाय अपनाउन थालिएको छ । यस्तै छिमेकी जिल्लामा पनि उच्च सतर्कता अपनाउन थालिएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र पर्वतका अनुसार छिमेकी जिल्लामा सङ्क्रमण देखिएपछि व्यावसायिक किसानलाई जैविक सुरक्षाका उपाय अलवम्बन गर्न आग्रह गरिएको छ । सङ्क्रमण फैलन नदिनका लागि केही औषधिसमेत वितरण गरिएको विज्ञ केन्द्र पर्वतका प्रमुख रामजी पौडेलले जानकारी दिनुभयो ।
सुँगुर/बङ्गुर काटेमा मासु चिस्यान केन्द्रमा राख्न समेत आग्रह गरिएको छ । अफ्रिकन स्वाइन फिभरले मान्छेमा असर गरेको भने पाइएको छैन । सुँगुर/बङ्गुर प्रजातिमा मात्र देखिने यो रोगको खास उपचार विधि नरहेको पशु विज्ञले बताएका छन् । यो रोगको पूर्ण उपचार नभए पनि ६–६ महिनामा सुँगुर/बङ्गुरलाई खोप लगाएर न्यूनीकरण गर्न सकिन्छ ।
सङ्क्रमण देखिए वा शङ्का लागेमा पशुलाई बथानबाट अलग्गै राख्न, समयमै पशु विज्ञ केन्द्रमा जानकारी दिन र मरेकोलाई खाडलमा पुर्न पशुसेवा विभागको आग्रह छ । यसवर्ष नेपालमा गएको जेठ २ गते अफ्रिकन स्वाइन फिभर पुष्टि भएको थियो ।
यो रोगबाट सङ्क्रमित सुँगुर/बङ्गुरमा उच्च ज्वरो आउने, कान, पुच्छर तथा पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखानेलगायतका लक्षण देखिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।