सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटक ७० प्रतिशतले बढे, ३ करोड ५५ लाख रुपैयाँ राजस्व सङ्कलन

 पुस २१, २०७९ बिहिबार १९:९:१३ | सुवास दर्नाल
unn.prixa.net

फाइल फाेटाे

सोलुखुम्बु – विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटक आवगमन ७० प्रतिशतले बढेको छ । गएको आर्थिक वर्ष २०७८÷०७९ को पहिलो पाँच महिनाको तुलनामा चालु आर्थिक वर्ष २०७९÷०८० को त्यही अवधिमा सगरमाथा क्षेत्र भ्रमण गर्नेको सङ्ख्यामा ७० दशमलव १७ प्रतिशतले बढेको हो ।

सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको तथ्याङ्कअनुसार गएको आर्थिक वर्षको पहिलो पाँच महिनामा सात हजार चार सय ६४ जना पर्यटकले खुम्बु भ्रमण गरेका थिए भने चालु आर्थिक वर्षको त्यही अवधिमा २५ हजार २९ जनाले भ्रमण गरेका छन् । चालु आर्थिक वर्षको साउनमा तीन सय ८५, भदौमा छ सय ९०, असोजमा छ हजार सात सय ३१, कात्तिकमा १३ हजार एक सय ५८ र मङ्सिरमा चार हजार ६५ जना खुम्बु पुगेका निकुञ्जका सूचना अधिकारी मनोज मण्डलले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच महिनामा २१ हजार आठ सय ५३ जना विदेशी र तीन हजार एक सय ७६ जना नेपाली पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । 

निकुञ्जले पर्यटक प्रवेश शुल्कबाट पाँच महिनामा तीन करोड ५५ लाख ७७ हजार एक सय ७६ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । निकुञ्जले विदेशी पर्यटकबाट प्रतिपर्यटक तीन हजार रुपैयाँ प्रवेश शुल्क लिने गरेको छ भने सार्क देशका नागरिकबाट एक हजार पाँच सय र नेपाली पर्यटकबाट १०० रुपैयाँ प्रवेश शुल्क लिने गरेको छ । 

२०३२ सालमा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय १४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । पू्र्वी नेपालको सोलुखुम्बुमा रहेको यो निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कु जस्ता हिमाल रहेका छन् । यस निकुञ्जभित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको छ । सन् १९७९ देखि यस राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो ।

अन्तिम अपडेट: चैत १५, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया