हिउँदमा कम पानी पर्ने भएकाले हिउँदे बाली र फलफूलमा सिँचाइ व्यवस्थापनमा ध्यान दिन आग्रह

 माघ १, २०७९ आइतबार ८:०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यसवर्षको हिउँद सुक्खा हुने अनुमानसहित नेपाल कृषि अनुसन्धान परिषद् नार्कले हिउँदे बाली र फलफूलमा सिँचाइ व्यवस्थापनमा विशेष ध्यान दिन किसानलाई आग्रह गरेको छ ।

नार्कको कृषि वातावरण अनुसन्धान केन्द्र र जल तथा मौसम विज्ञान विभागले कृषि मौसम सल्लाह बुलेटिनमार्फत् किसानलाई प्लास्टिक पोखरीमा पानी जम्मा गरी थोपा सिँचाइ, स्पिङ्गकल लगायतबाट सिँचाइ व्यवस्थापन गर्न आग्रह गरेको हो ।

७१ वटा मौसम केन्द्रहरुमा मापन गरिएको साप्ताहिक कुल वर्षाको तथ्याङ्क अनुसार कुनै पनि केन्द्रमा वर्षा मापन भएको छैन । तर हिउँदे बाली गहुँ आलु तथा फलफूलमा पानी दिन आवश्यक छ । गहुँ छरेको २०–३० दिनभित्र जरा पलाउने अवस्थामा गहुँको जरा भिज्नेगरी पहिलो सिँचाइ र ५०–५५ दिन भइसकेको गहुँबालीमा सिँचाइ पछि नेपाल कृषि अनुसन्धान परिषदबाट अध्यावधिक गरिएको सिफारिस मात्रा अनुसार टपड्रेस गर्न आग्रह छ ।

तोरी तथा बकुल्ला बालीमा लाही कीराको व्यवस्थापन गर्न तथा अरहर तथा चना बालीको कोसामा लाग्ने गवारो कीरा व्यवस्थापनको लागि पनि नार्कले किसानलाई सल्लाह दिएको छ । तराईका जिल्लामा बिहानीपख कुहिरो लाग्ने हुनाले गोलभेँडा तथा आलुबालीमा पछौटे डढुवा रोगको जोखिमबारे अनुगमन गर्न पनि सल्लाह छ ।

कृषि र पशु सम्बन्धी जिज्ञासाको नार्कले पैसा नलाग्ने फोन ११३५ मा हरेक सोमवार दिँउसो २ देखि ४ बजेसम्म सम्पर्क गर्न अनुरोध गरेको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया