जनकपुरका दुई युवककाे अपहरणपछि भारतमा हत्या

 माघ ८, २०७९ आइतबार १३:४९:५३ | सुजीत झा
unn.prixa.net

साङ्केतिक तस्बिर

धनुषा – जनकपुरका दुई युवककाे अपहरणपछि भारतमा हत्या भएको छ । करिब १३ दिन अगाडिदेखि सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको हो । मृतक दुवै जना एकै पारिवारिका हुन् । 

मृतक दुवै भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो एक नातेदारको घरमा गएका थिए । अपहरणपछि गएको सोमवारसम्म विष्णुका परिवारलाई फिरौतीको माग गरेर भारतीय नम्बरबाट फोन आइरहेको थियो । सुरुमा २० लाख रुपैयाँ मागेका अपहरणकारीले विष्णुसँग कुरा नगराए पनि उनको आवाज रेकर्ड गरेर आफन्तलाई सुनाउने गरेका थिए । विष्णुको परिवार अपहरणकारीलाई २० लाख रुपैयाँ दिन राजी भएका थिए ।

त्यसपछि अपहरणकारीले २० लाख रुपैयाँ लिएर सर्लाही मलङ्गवा नाकामा आउन भनेका थिए । विष्णुका परिवारले त्यो कुरा प्रहरीलाई जानकारीसमेत गराएका थिए । तर गएको मङ्गलवारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोड्यो । भारतीय प्रहरीले त्यसै क्षेत्रमा दुई वटा शव भेटेपछि आज बिहान मृतकका आफन्तलाई खबर गरेको हाे। 

मृतक दुवै जनाको परिवार यसअघि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ मा बस्दै आए पनि अंशबण्डापछि अलग-अलग बस्दै आएका थिए । मृतक विष्णु र रोहितका बाजे नातामा दाजुभाइ हुन्। उनीहरुको शव अहिले भारतको बेला परिहार पर्साको प्रहरी चौकीमा राखिएको र नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया