आफैँलाई आगो लगाएका प्रेमप्रसाद आचार्यको उपचारको क्रममा ज्यान गयो

 माघ ११, २०७९ बुधबार ८:४२:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सङ्घीय संसद् भवन अगाडि आफ्नै शरीरमा आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा ज्यान गएको छ । कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान ५ बजे उहाँकाे ज्यान गएको उपचारमा संलग्न डाक्टर किरण नकर्मीले उज्यालोलाई जानकारी दिनुभयो ।

इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय आचार्यले हिजो आफैँले आफ्नो शरीरमा पेट्रोल हालेर आगो लगाउनुभएको थियो । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो निभाएर उद्धार गरी उपचारका लागि बर्न अस्पताल लगे पनि शरीरको धेरैजसो भाग जलिसकेकाले बचाउन नसकिएको डाक्टर किरण नकर्मीले बताउनुभयो । आफूलाई आगो लगाउनुअघि आचार्यले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आफू ठूलो आर्थिक सङ्कटमा फसेको बताउनु भएको थियो ।

स्टाटसमा उहाँले आफूले आत्मदाह गर्नुपर्ने कारणसहित सङ्घर्ष र भोगाइबारे उल्लेख गर्नु भएको थियो । जीवनमा गरेका अनेक प्रयास असफल भएपछि आत्मदाहको कदम चाल्नुपरेको उहाँले लेखेको स्टाटसमा उल्लेख छ । आफूले पढ्दा, जागिर खाँदा, व्यापार गर्दा वैदेशिक रोजगारीमा जाँदा एवम् उद्योग चलाउँदा भोग्नु परेका समस्याबारे उहाँले उल्लेख गर्नु भएको थियो । आफू विद्यार्थी छँदा २०६७ सालमा  ब्रेन टयुमर भएर बुबाको निधन भएको र त्यसपछि काठमाण्डौमा रहेर एउटा निजी विद्यालय र ठमेलका ट्राभल एजेन्सीमा काम गरेर गुजारा चलाउन थालेको उहाँले स्टाटसमा लेख्नु भएको छ ।

इलाममा रहेको पुर्ख्याैली घर बेचेर काठमाण्डौको बूढानीलकण्ठमा घर बनाएको तर ट्राभल एजेन्सीमा उधारो कारोबार धेरै हुँदा आफूलाई ऋणमाथि ऋण लागेको आचार्यले बताउनु भएको थियो । सरकार, बिचौलिया र ठूलो व्यवसायीले आफूजस्तै केही गर्न खोज्नेलाई हतोत्साही गर्ने गरेको उहाँले उल्लेख गर्नुभएको थियो ।

तनाव र समस्याकै कारण यसअघि पनि आफूले आत्महत्याको प्रयास गरेको उल्लेख गर्नु भएको थियो । उहाँले ऋण तिर्नका लागि आफ्नी श्रीमतीलाई सहयोग गरिदिन स्टाटसमार्फत् नै आग्रह  गर्नुभएको थियो । आचार्यका श्रीमती र दुई छोरी छन् । 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया