‘श्रम र सिप भए नेपालमै मनग्य आम्दानी गर्न सकिन्छ’

 माघ १३, २०७९ शुक्रबार ११:३५:१ | रासस
unn.prixa.net

तस्बिर : रासस

धनकुटा - सिप भए विदेश वा कतै भौँतारिनु पर्दैन, जहाँ बसेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हुनुहुन्छ, धनकुटाका कृष्ण रसाइली । ४० वर्षीय रसाइलीले पाँच वर्षअघि माेरङबाट धनकुटा बसाइँ सरेर काष्ठकला उद्योग स्थापना गर्नु भएकाे हाे ।

महालक्ष्मी नगरपालिका-९ को ग्रामीण क्षेत्रमा उद्याेग सञ्चालन गरिरहनुभएका रसाइलीले लाेभलाग्दाे कमाइसँगै केहीलाई राेजगारी समेत दिनु भएकाे छ । रसाइली भन्नुहुन्छ 'श्रम र सिप हुनेलाई नेपालमै काम र दाम पर्याप्त छ, विदेश जानै पर्दैन ।'

त्यसाे त २०६३ सालमा उहाँ आफैँ रोजगारीका सिलसिलामा मलेसिया पनि जानुभयाे । सोचेजस्तो पारिश्रमिक नपाउँदा खान–बस्नसमेत नपुगेपछि रसाइली त्यहाँबाट भागेर अवैधानिकरूपमा साढे चार वर्ष अन्यत्र सुरक्षा गार्डका रूपमा काम गर्नुभयो ।

यस समयमा मासिक १८ हजार रुपैयाँ नेपाली तलबमा काम गर्नुभएका रसाइली अनधिकृतरूपमा काम गरेको आरोपमा जेल परेर २०६८ सालमा नेपाल फर्किनुभयो । उहाँले भन्नुभयो,'विदेश बसेर पैसा कमाउन सकिएन, नेपाल आएर पुर्ख्याैली पेसामा लागेँ ।'

पुर्ख्याैली पेसा काठको काम गर्ने (चुँदार) भएकाले रसाइली त्यही कामका लागि सात वर्षअघिबाट धनकुटाका विभिन्न खोलामा काठका सामान बनाउँदै आउनुभएको छ । पानीघट्टको सहाराले काठलाई कुँदेर गरिने कामलाई रसाइलीले व्यावसायिक बनाउनुभयो ।

रसाइलीले अनुभवका आधारमा सम्भावना देखेर २०७५ सालदेखि घरमै उद्योग सञ्चालन गर्नुभयो । दुई वर्षअघि घरेलु ठेकी तोङ्वा उद्योग दर्ता गरेका रसाइलीले मासिक २० हजार रुपैयाँ पारिश्रामिक दिएर दुई सहयाेगी र ५५ हजार रुपैयाँ पारिश्रमिक दिएर तीन कालिगढ राख्नुभएको छ ।

६० देखि ७० प्रकारका काठका सामग्री बनाएर बिक्री गर्दैआउनुभएका रसाइलीले एउटा सामान दुई सयदेखि २२ हजारसम्म रुपैयाँमा बिक्री गर्दै आउनुभएको छ । वार्षिक २५ लाखदेखि ४० लाख रुपैयाँसम्म कारोबार गर्ने रसाइलीले मासिक दुई लाख रुपैयाँ कमाइ गरिरहनुभएकाे छ । 

समय र उमेर रहेकै बेला विदेश र अन्यत्र भौतारिनुभन्दा बेलैमा सिप सिकेर उद्यमशील बन्नुपर्ने युवाहरूलाई उहाँको सुझाव छ । कुनै तालिम नलिइ युट्युबमा हेरेर विभिन्न सामग्री तयार गरेर रसाइलीले ताप्लेजुङ, इलाम, सुनसरी, झापा, काठमाण्डाैलगायत क्षेत्रमा बेच्दै आउनुभएको छ ।

महालक्ष्मी नगरपालिकाको जितपुर बजारमा हरेक वर्षको श्रीपञ्चमीमा लाग्ने वसन्त पञ्चमी मेलामा कक्ष लिँदै आउनुभएका रसाइलीले आफ्नो व्यवसाय प्रवर्द्धनमा नगरपालिकाले सहयोग गरेको बताउनुभयो । 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया