धनुषा : इलाका प्रहरी कार्यालय महेन्द्रनगरका तीन जना प्रहरी निलम्बित

 माघ १७, २०७९ मंगलबार १०:४९:४ | सुजीत झा
unn.prixa.net

धनुषा - धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका तीनजना प्रहरी निलम्बनमा परेका छन् । हिजाे साेमवार हिरासत कक्ष ताेडेर ६ जना थुनुवा फरार भएपछि मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले हिरासत व्यवस्थापन अधिकृतसहित तीनजना प्रहरीलाई निलम्बनमा परेका हुन् ।

घटनामा लापरबाही गरेको भन्दै हिरासत अधिकृत प्रहरी असई अशोक मण्डल, वरिष्ठ प्रहरी हवलदार सरोज रेग्मी र प्रहरी जवान रोहन मगरलाई निलम्बन गरिएको जनाइएको छ । थुनुवा कक्षको भौतिक पूर्वाधार कमजोर रहेको भए पनि ड्युटीको समयमा प्रहरीको लापरबाही देखिएकाले उनीहरुलाई निलम्बन गरिएको बताइएको छ । थुनुवा फरार घटना छानबिनका लागि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयले छुट्टाछुट्टै समिति बनाएर अनुसन्धान गरिएका छन् । 

वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मनोज यादवको नेतृत्वमा मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको हाे । यस्तै, जिल्ला प्रहरी कार्यालय धनुषाले पनि प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीपबहादुर क्षेत्रीको संयोजकत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको छ । दुवै समितिले सूक्ष्म रुपमा प्रहरीको कमिकमजोरीबारे छानबिन गरिरहेको जनाइएको छ ।

प्रहरी चौकीका इञ्जार्ज प्रहरी निरीक्षक बेचन यादवलाई अहिलेसम्म केही गरिएको छैन । यसैबीच थुनुवा कक्षको पर्खाल भत्काएर फरार भएका थुनुवाहरूमध्ये एकजनालाई सोमवार हिजाे बेलुका पुनः पक्राउ गरिएकाे छ । 

फरार भएकामध्ये हातहतियार तथा खरखजनाका आरोपी रोशन कुमार महतोलाई धनुषाको मिथिला नगरपालिका वडा नम्बर ८ कुशुमविछौनामा रहेकाे आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरी थुनुवा कक्षबाट फरार अन्य पाँच जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरको थुनुवा कक्षमा रहेको दक्षिणपट्टीको पर्खाल ताेडेर हिजाे बिहान करिब ३ बजेको समयमा ६ जना थुनुवा बन्दी फरार भएका थिए । 

अन्तिम अपडेट: चैत २९, २०८०

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया