परदेश गएका श्रीमानको पीर र ऋणले रातभर छटपटाउने म परामर्शपछि निदाउन सक्ने भएँ

 माघ १७, २०७९ मंगलबार १४:२९:२
unn.prixa.net

प्रतिकात्मक तस्बिर

रामसोमारी साह/ सर्लाही।

मानिस निदाउनै सकेन भने के हुन्छ ? सर्लाहीकी शिलाको व्यथाले भन्छ, निदाउन सकिएन भने संसार व्यर्थ लाग्न थाल्छ । 

जबसम्म श्रीमान् साथैमा थिए तबसम्म पेट भोको नै किन नहोस् । मनमा शान्ति थियो र त आँखामा निद्रा पनि थियो ।

तर जब श्रीमान् सुखको खोजीमा परदेसिए तब शिलाको आँखाको निद्रा र मनको शान्ति पनि श्रीमानसँगै परदेश गयो । साहुको ऋण बोकेर परदेश गएका श्रीमान् न फर्कन सक्छन् न त अन्य कुनै उपाय छ । शिलामा छटपटी झन् बढ्यो । पीर चिन्ताले मनमा डर बढ्यो । एक्लै बस्न मन लाग्ने र दिमागमा साहुको ऋण मात्र आउन थाल्यो । 

तर जब सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत मनोपरामर्श पाउनुभयो । मनोपरामर्शले समस्यामा पनि मनको डर, उडेको निद्रा र लागिरहने चिन्ता गायब भयो । 

तनावको सुरुवात

शिलाका श्रीमान् राम २०७७ सालमा रोजगारीका लागि यूएई जानुभयो । यूएई जानका लागि  साहुसँग २ लाख रुपैयाँ ऋण काढ्नुभयो र एजेण्टलाई बुझाउनुभयो । यूएईमा सेक्युरिटीको कामका लागि भनेर म्यानपावरलाई पैसा पनि बढी बुझाउन पर्यो ।

रामको यो दोस्रो वैदेशिक रोजगारीको यात्रा थियो । पहिले कतार जानुभएका उहाँ भने अनुसारको काम नभएपछि रित्तो हात स्वदेश फर्कनु परेको थियो । यस पटक भने काम र कमाइ राम्रो होला भन्ने आसमा हुनुहुन्थ्यो शिला । तर समयले यस पटक पनि साथ दिएन ।

यूएई पुगेको दुई महिनासम्म काम त गर्नुभयो तर तलब कम पाउनुभयो । दुई महिनापछि त कोरोना महामारीको कारण यूएईमा लकडाउन सुरु भयो । लकडाउनको कारणले आठ महिनासम्म कामको ठेगान नै भएन । कमाइ पनि भएन । उता श्रीमानलाई ज्यान पाल्नै धौं धौं पर्न थालेपछि यता घरमा शिलालाई चिन्ता बढ्न थाल्यो । 

‘मनमा डर मात्र लाग्ने, त्यत्रो ऋण कसरी तिर्नु भन्ने कुरा मात्र मनमा खेल्न थाल्यो’ शिला भन्नुहुन्छ ‘यस्तै हुँदै गएपछि त मलाई केही गर्नै मन लाग्न छाड्यो, रातभर निद्रा पनि पर्न छाड्यो ।’

खाना खान पनि मन लाग्दैन थियो शिलालाई । मनमा श्रीमानको र ऋणको पनि पीर ले एकोहोरो हुन थाल्नुभयो शिला । सबै कुरा सोच्दा उहाँलाई के गरौँ कसो गरौँ भन्ने छटपटी मात्र हुन थाल्यो ।

मलंगवा नगरपालिकामा कार्यरत रिर्टनी स्वयंसेवकमार्फत शिलाको अवस्थाबारे मसम्म आइपुग्यो ।

सामी कार्यक्रम अन्तर्गत नगरपालिकामा मनोपरामर्शकर्ताको रूपमा कार्यरत भएकाले पनि शिलाको अवस्थाबारे जानकारी पाएपछि उहाँलाई भेट्न पुगेँ । 

कसैले पनि अपरिचित मानिससँग मनको पीडा बाहिर निकाल्न सहज मान्दैन । तर मनोपरामर्शकर्ताको रूपमा कार्यरत भएकाले पनि उहाँको मनको कुरा सुन्ने र पीर मा मलम लगाउने मेरो काम हो । मैले पनि त्यही गरेँ । उहाँसँग कुरा गर्ने र मनको कुरा भन्न सक्ने वातावरण बनाउन त समय लाग्यो । तर बिस्तारै शिला खुल्न थाल्नुभयो । 

कुरा गर्दै जाँदा थाहा पाएँ शिलाको मनमा भविष्यको चिन्ता बढी छ । जे सोचेको त्यो भइरहेको छैन र मनमा पीडाहरू उकुस उकुसमुकुस भरिएका छन् ।

उहाँको पीडा बुझेपछि एक मनोपरामर्शकर्ताको रूपमा नियमित मनोपरामर्श सुरुवात गरेँ । लगातार १० पटकसम्म शिलालाई भेटेर उहाँको कुरा सुन्ने, उहाँले भोगिरहेको निद्रा नलाग्ने, एउटै कुरा मात्र दिमागमा खेलाउने, संसार बेकार रहेछ भन्ने सोचलाई परिवर्तन गर्ने उपायहरु सिकाएँ । परामर्शले बिस्तारै शिलाको समस्या कम हुँदै गयो । 

बिस्तारै शिला निदाउन थाल्नुभयो । मनको डर कम हुँदै गयो । खाना रुच्न थाल्यो अनि आत्मबल पनि बढ्दै गयो ।

‘तपाईँसँग भेटेर कुराकानी गर्न र तपाईँले सिकाएका कुराहरू गर्न थालेपछि त मनमा डर छैन, खाना पनि टन्न खान्छु अनि निदाउँछु पनि’ शिला हाँस्दै सुनाउनुहुन्छ ।  

शिलाको अनुहार नै अहिले हँसिलो र उज्यालो छ । उहाँ आफूले आफूलाई माया गर्नुहुन्छ । आफ्नो शरीरलाई माया गर्नुहुन्छ । तर जति बेला उहाँ तनावमा हुनुहुन्थ्यो त्यो बेला उहाँले यी सबै कुरा गर्नुहुन्थ्यो । अझ भनौँ उहाँको दिमाग यतातिर जाँदैन थियो । 

अहिले त शिला भन्नुहुन्छ ‘ आजकाल त म जोसँग पनि बोल्छु हाँस्छु, पहिला त कहाँ यस्तो थिएँ र कसैसँग पनि बोल्न मन लाग्दैन थियो ।’

शिला उमेरले ४० लाग्नुभयो । साथमा ५ जना सन्तान छन् । एक छोरा र चार छोरी । सबै बालबच्चा सरकारी स्कुलमा पढिरहेका छन् । शिला भने लेखपढ गर्न जान्नुहुन्न । खेतीपाती र घरको चुलो चौको धान्नुहुन्छ शिला । आफूले नपढे पनि छोराछोरी दुवैलाई पढाउन पर्छ भन्ने सोच उहाँको छ । 

परिस्थितजस्तो होस् त्यसैको चिन्तामा डुबेर बस्नुहुन्न आजकाल उहाँ । जीवन जसरी पनि चल्ने रहेछ र चलाउन पर्छ भन्ने कुरा मनोपरामर्शपछि लिनुभएको छ शिलाले । 

‘चिन्ता त हर कोहीलाई हुन्छ, तर पीर व्यथा सुनिदिने पनि हुन पर्ने रहेछ’ शिला भन्नुहुन्छ ‘पीर बिसाउने चौतारी भएको तपाईँलाई धन्यवाद ।’

व्यक्तिगत परिचय गोप्य राखिएको छ – सम्पादक ।

(रामसोमारी साह सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत सर्लाहीको मलंगवा नगरपालिकामा मनोपरामर्शकर्ता हुनुहुन्छ । सामी नेपाल सरकार र स्वीस सरकारबीचको दुई पक्षीय कार्यक्रम हो ।)

अन्तिम अपडेट: फागुन १६, २०८०

तपाईको प्रतिक्रिया