तोरीले पहेँलपुर रत्नेचौर पर्यटकीय गन्तव्य बन्दै (फाेटाेफिचर)

 माघ २१, २०७९ शनिबार १०:७:१५ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – शिशिर ऋतुको समयमा खुलेको मौसम । गाउँको खेत र बारीमा पहेँलै तोरी फुलेको छ । तोरीसँगै लगाएको गहुँ र केराउले हरियाली छाएको छ । उत्तरतर्फ फर्किएर हेर्दा सेताम्मे हिमाल देखिन्छ । गाउँको बीचमा कालोपत्र गरेको चिल्लो सडक छ ।

बारीभरी पहेँलपुर तोरीको फूलमा बसेर भमरा र मौरीले रस चुसिरहेका छन् । बारीको छेउकुना तथा सडकको दायाँ र बायाँ मानिसहरु भुलिरहेका छन् । पूर्वतिर मोहडा भएको र सम्म परेको फाँटमा परम्परागत तथा आधुनिक घरहरु छन् । यस्ताे दृश्यले भरिएकाे बेनी–बाग्लुङ सडक खण्डको बीचमा पर्ने रत्नेचौर अहिले 'भाइरल' छ ।

म्याग्दीको बेनी नगरपालिका–१, मा पर्ने रत्नेचौर समुद्री सतहदेखि ७ सय ९२ मिटरको उचाइमा पर्दछ । रत्नेचौरको खेत, बारीमा लगाएको तोरी फुलेर रत्नेचौर गाउँ नै पहेँलपुर बनेको छ । तोरीले पहेँलै तथा गहुँ र केराउले हरियाली छाएपछि यतिबेला रत्नेचौर निकै सुन्दर, आकर्षक र मनमोहक देखिएको छ । रत्नेचौरमा तोरी फुलेपछि अहिले तोरीबारीमा फोटो, भिडियो र सेल्फी खिच्ने र टिकटक बनाउनेको भिड लाग्ने गरेको छ ।

तोरी फुलेको खेतका फाँट र बारीमा कालोपत्रे गरिएको चिल्लो सडकमा मानिसहरुको भिडभाड हुने गर्छ । रत्नेचौरको फाँटमा गहुँ र तोरी झुलिरहेको छ भने झुलिरहेको गहुँ र तोरीको सौन्दर्यमा स–साना बालबालिका, युवायुवतीदेखि बुढाबुढीसम्म भुलिरहेका छन् । तोरी फुलेर पहेँलै भएको रत्नेचौरको बारेमा सञ्चारमाध्यममा समाचार, स्टोरी प्रकाशन तथा प्रसारण र सामाजिक सञ्जाल टिकटक एवं फेसबुकमा फोटो भिडियोमार्फत् प्रचारप्रसार हुन थालेपछि पछिल्लो समय भाइरल बनेको हो । 

अहिले तोरी फुलेर पहेँलपुर बनेपछि रत्नेचौरको तोरी बारीमा पुगेर फोटो, भिडियो खिच्ने र रमाउने युवायुवतीहरुको भिड बढ्दै गएको छ । रत्नेचौरबाट संसारको सातौँ अग्लो ८ हजार १ सय ६७ मिटर उचाइको चुचुरो धौलागिरी हिमाल देखिन्छ । तोरी फुलेर पहेँलै बनेको रत्नेचौरमा खेतको बीच सडकमा कालोपत्रे गरिएपछि देखिएको चिल्लो सडकले थप रौनकता थपेको स्थानीयवासी बताउँछन् । अहिले रत्नेचाैरवासीले पोहोरको तुलनामा कम तोरी लगाएको भए पनि रत्नेचौर भ्रमण गर्नेहरुको भने आकर्षण बढेको छ । तोरीकै कारणले गर्दा भाइरल बनेको रत्नेचाैर पर्यटकीय गन्तव्य बन्दै गएकाे छ । 

रत्नेचौर क्षेत्र र तोरीबारीको भ्रमणमा म्याग्दीसहित बाग्लुङ, पर्वत, मुस्ताङको विभिन्न ठाउँका साथै पोखरा, काठमाण्डौ, चितवन, भैरहवालगायत जिल्ला र ठाउँबाट पर्यटकहरु आउने गरेको स्थानीय भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक भरत खत्रीले जानकारी दिनुभयो ।

रत्नेचौरमा अहिले दैनिकजसो पर्यटकहरु घुम्न जाने गरेका छन् भने बिदाको दिन र शनिवार भने बिहानदेखि बेलुकासम्म सयौँको सङ्ख्यामा पर्यटक पुग्छन् । पहेँलपुर फुलेको रत्नेचौर पुग्ने पर्यटकहरु फोटो, भिडियो र सेल्फी खिच्ने तथा टिकटक बनाएर रमाउने गर्छन् । वरिपरिको हरियाली तथा मुसुक्क मुस्कुराइरहेको धौलागिरि हिमालको दृश्य र पहेँलपुर तोरीले रत्नेचौरको पर्यटन प्रवर्द्धनमा सघाएको छ । 

तोरीले व्यापार–व्यवसाय बढ्यो

ताेरीले भाइरल बनेको रत्नेचौरमा पर्यटकहरुको भिड बढ्न थालेपछि स्थानीयको व्यापार, व्यवसाय पनि बढेकाे छ । 

पछिल्लोपटक रत्नेचौर क्षेत्रमा सानादेखि ठूला होटल तथा रेष्टुरेण्टहरु खुलिरहेका छन् । यसका साथै म्याग्दीको रत्नेचौर र छिमेकी जिल्ला बाग्लुङलाई जोड्ने रत्नेचौर–कुँडुले ३ सय ८८ मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि पुलमा रमाउने पर्यटकहरु पनि बढेका छन् ।

रत्नेचौरको भ्रमणमा निस्कनुभएकी सन्दीपा शर्माले भाइरल तोरीबारीमा पुगेर रमाउन पाउँदा आफूलाई निकै खुसी लागेको सुनाउनुभयो । 

तोरीबाट पाइने फाइदा धेरै

रत्नेचौरमा पछिल्लोपटक स्वदेशी पर्यटकहरुको चहलपहल बढेको छ । सडक कालोपत्रे गरिएपछि चिल्लो सडक र पहेँलै फुलेको तोरीका कारणले गर्दा दृश्यावलोकन गर्नका लागि पनि रमाइलो हुने भएपछि पर्यटकहरु रत्नेचौर पुग्ने गरेका छन् । रत्नेचौरमा पहिलेदेखि नै तोरी उत्पादन हुँदै आएको थियो ।

मौरीपालन तथा मह उत्पादनका लागि उपयुक्त मानिने तोरीको सागलाई तरकारीको रुपमा समेत प्रयोग गर्ने गरिन्छ । ग्रामीण भेगमा फुलेको तोरीले गाउँको सुन्दरतामा निखारपन ल्याएकाे छ ।

‘तोरी–महोत्सव’ आयाेजनाकाे तयारी

नेपालमा पाइने दुई रङको तोरीमध्ये म्याग्दीका गाउँमा पहेँलो रङको तोरीको खेती अधिक मात्रामा हुने गरेको छ । पहेँलो तोरीमा २५ देखि ३० प्रतिशतसम्म तेलको मात्रा हुने कृषि प्राविधिकहरु बताउँछन् । तेलहन बालीअन्तर्गत पर्ने तोरी ३ महिनाको अवधिमा पाक्छ ।

समथर भू–भाग रहेको रत्नेचौरमा अहिलेको तुलनामा दोब्बर तोरी उत्पादन गर्न सकिने यहाँका किसान बताउँछन् ।  रत्नेचौरमा तोरीकै कारण पर्यटक आगमन बढ्नुका साथै प्रचारप्रसार भएकाले आउँदो वर्ष ‘तोरी–महोत्सव’ आयोजना गरिने रत्नेचौरका वडा अध्यक्ष टेकबहादुर थापाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १०, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया