हामीले बिर्सिएको प्राङ्गारिक पदार्थको महत्त्व

 माघ २१, २०७९ शनिबार १२:३६:३१ | डा. दिनेश पाण्डे र लक्ष्मी चौलागाईँ
unn.prixa.net

खाद्यान्नको सुरुवात माटोबाट हुन्छ अनि हाम्रो खानामा हुने पोषणको गुणस्तर सिधै माटोको गुणस्तर र स्वास्थ्यसँग जोडिएको हुन्छ ।

कुनै पनि बिरुवाको वृद्धि र विकासको लागि, रासायनिक तत्वहरु आवश्यक पर्छ । जसमध्ये १८ तत्वहरु अति आवश्यक तत्व हुन् । यी नभइ नहुने तत्वहरुलाई बिरुवाहरूले दुई फरक वातावरण, जस्तै माटो र हावाबाट प्राप्त गर्छ । जसमध्ये पन्ध्र वटा तत्व माटोले उपलब्ध गराउँछ भने अन्य तीनवटा (कार्बन, हाइड्रोजन र अक्सिजन) बोटबिरुवाहरुले प्रकाश संश्लेषणको प्रकृयाबाट हावा र वायुमण्डलबाट लिने गर्छ ।

पशुमा आधारित खानाबाट पाइने पौष्टिक तत्वहरूको स्रोत पनि मुख्यतः बोटबिरुवा वा बिरुवामा आधारित खाना नै हो जसको मुख्य फेरि माटो नै हो । यसकारण हामीले खाने प्रायः सबै खानाको स्वस्थता र पौष्टिकता माटोसँग जोडिएको छ ।

माटोलाई कसरी बुझ्ने ?

माटो के हो त ? माटो भनेको पानी, हावा, खनिज र प्राङ्गारिक पदार्थको संयोजन हो । सामान्यतया  माटोमा ४५ प्रतिशत खनिज, २०–३० प्रतिशत पानी, २०–३० प्रतिशत हावा र ५ प्रतिशत प्राङ्गारिक पदार्थ हुन्छ । हावा र पानी माटोमा रहेको छिद्र (प्वाल) मा मिलेर बसेका हुन्छन् ।

हामीलाइ सुन्दा अचम्म लाग्न सक्छ तर माटोका छिद्रहरुमा पानी र हावाको अनुपात कति छ भन्ने कुराले माटोको स्वस्थता निर्धारण गरेको हुन्छ । माटोमा हावा र पानीको मात्रा लगभग बराबर भएको उचित मानिन्छ । त्यसैगरी माटोमा पाइने खनिज तत्व चट्टान टुक्रिएर बनेको हुन्छ र खनिजहरूको प्रकार चट्टानको मूल सामग्रीको प्रकार र प्रकृतीले निर्धारण गरेको हुन्छ । माटोमा सबैभन्दा कम मात्रा प्राङ्गारिक पदार्थको भएता पनि यसले माटोको स्वस्थता, पौष्टिकता र उत्पादकत्वलाई निकै प्रभाव पारेको हुन्छ ।

माटोको प्राङ्गारिक पदार्थ मुख्यतया: कार्बन (५८ प्रतिशत) बाट बनेको हुन्छ भने बाँकी चाहिँ पानी र अन्य खनिज तथा पोषक तत्वहरू जस्तै नाइट्रोजन, फस्फोरस र पोटासियम आदिले बनेको हुन्छ । यस पदार्थ क्षय भएका (कुहिएका) र आंशिक रूपमा क्षय भएका कणहरूले भरिपूर्ण हुन्छन् । जसलाई सूक्ष्मजीवहरूले बोट र जनावरको अवशेषहरूको विघटन (कुहिने प्रक्रिया) मार्फत् निरन्तर बनाइराखेका हुन्छन् । यसका साथै यी सूक्ष्मजीवहरूले माटोमा उपलब्ध खनिजलाई बोटबिरुवाका लागि उपलब्ध हुने पोषक तत्वमा रुपान्तरण गरेका हुन्छन्, जसले बाली उत्पादनको आधार प्रदान गर्छ । यी पोषक तत्वहरु विना बाली उत्पादन हुन असम्भव जस्तै छ । 

माटोबाट स्वस्थ खाना उत्पादन गर्न सकिन्छ ?

के हामी हाम्रो माटोबाट स्वस्थ खाना उत्पादन गर्दैछौँ । या के हामीले खाद्यान्न उत्पादन गर्ने जमिनको माटो स्वस्थ छ त ? एसियाली विकास बैंकद्वारा गरिएको नेपाल कृषि क्षेत्र रणनीति अध्ययन अनुसार सन् १९६६ मा नेपालमा अन्नबाली विशेष गरी धानको उत्पादन दक्षिण एसियामा सबैभन्दा बढी थियो र सन् १९८० सम्ममा यो सबैभन्दा न्यूनमा झरेको थियो ।

विगतमा धान निर्यात गर्ने हामी आज धान चामलसहित खाद्यान्न आयात गर्ने प्रमुख देश बनेका छौँ । यसरी हाम्रो अन्नबाली उत्पादनमा ह्रास आउनुको मुख्य कारण हो माटो अर्थात् माटोमा प्राङ्गारिक पदार्थको मात्रा कमी हुनु र माटोको उत्पादकत्व शक्ति घट्दै जानु । धेरै अध्ययनहरूले पनि नेपालको माटोमा कम प्राङ्गारिक पदार्थको मात्रा, सीमित पहुँच र मलको अभाव र बदलिँदो मौसमका कारणले कृषि उत्पादनमा कमी आएको निष्कर्ष निकालेका छन् । उत्पादनशील माटोमा ३ देखि ५ प्रतिशत प्राङ्गारिक पदार्थ हुन्छ । तर तथ्याङ्कअनुसार  नेपालमा खेतीयोग्य जमिनमा माटोको प्राङ्गारिक पदार्थको मात्रा लगभग १ प्रतिशतको हाराहारीमा घटेको छ । त्यसोभए हामीले खाद्यान्न उत्पादन गर्ने जमिनको माटो स्वस्थ छ त ? यो अझै पनि अध्ययनकै विषय छ ।

त्यसोभए यसको विकल्प के होला त ? सर्वप्रथम माटोमा प्राङ्गारिक पदार्थ निर्माण गर्न सकिन्छ र त्यसका लागि एक व्यावहारिक विकल्प हो माटोमा राम्रो गुणस्तरको प्राङ्गारिक पदार्थ थप्नु । यसले जीवित जीवाणुहरूलाई घरभित्रै (माटो भित्रै) राख्छ र सामुदायिक गतिविधि सुरुवात गराउँछ । यसो भन्दै गर्दा कसैले यो पनि सोच्न सक्छ कि थपिएको प्राङ्गारिक पदार्थले माटोमा अवस्थित छिद्रहरू भर्छ र यसलाई अझ बलियो या ठोस बनाउँछ । तर प्राङ्गारिक पदार्थयुक्त माटो ठोस पदार्थ होइन कि स्पन्ज (घिरौलाको जाली) जस्तै हुन्छ । माटोको आयतनमा विस्तार हुने हुँदा यस्तो माटो अधिक छिद्रपूर्ण हुन्छ र अधिक पानी सञ्चित गर्नसक्ने हुन्छ । करिब १ प्रतिशत जैविक पदार्थको वृद्धिले प्रति हेक्टर माटोमा २ लाख ३४ हजार लिटर पानी उपलब्ध गराउँछ । 

तपाईंले ‘अवतार २– पाण्डोरा न्यूरल नेटवर्क हेर्नुभयो भने देख्नुहुन्छ की पाण्डोराका सबै वनस्पति र जीवजन्तुहरू कसरी एकअर्कासँग सञ्चार गर्छन् । माटोको एक ग्राममा अरबौँ सूक्ष्मजीवहरू भेट्टाउन सकिन्छ, जसमा अति सुक्ष्म रेखा जस्तै–माइकोराइजल फंगी भनिने जीवहरू समावेश हुन्छन् । यो पन्डोरा न्यूरल नेटवर्क जस्तै हो जसले माटोको विश्वव्यापी सञ्जाल बनाउँछ र साथ साथै स्वस्थ माटो बनाइ, स्वस्थ र पौष्टिक खाना उत्पादन गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । माटोमा पाइने जीवन्त प्राणी जस्तै ब्याक्टेरिया, प्रोटोजोआ, नेमाटोड र ढुसी, बिरुवाको जराबाट पाइने पोषक तत्वहरू, जीवबाट हुने उत्सर्जन, जरा प्रणालीले अन्ततः दिगो र स्वस्थ उत्पादन प्रदान गर्छ ।

हाम्रा खेती विधि र अभ्यासहरूले माटो प्रणालीमा हुने बिरुवाको पोषक तत्व प्रवाह र सन्तुलनलाई विभिन्न स्रोतहरूबाट मद्दत गरेको छ । त्यसमध्ये एक हो वन, जसलाई हाम्रो बाली प्रणालीको अभिन्न अङ्ग मानिन्छ । शताब्दीयौँदेखि नै, माटोको उर्बरता पुनःपूर्तिका लागि हाम्रो परम्परागत खेतीले प्राङ्गारिक मल जस्तै कम्पोस्ट प्रयोगलाई मान्यता दिँदै आइरहेको छ । कम्पोस्ट पशुपालन र जनावरको मल स्रोतलाई कुहाएर बनाएको एक प्राङ्गारिक मल हो, जुन मुख्यतया धेरै संख्यामा पशुपालन वा ट्रान्स ह्युमन प्रणाली (गोठ) रहेको क्षेत्रमा प्रयोग गरिन्छ । जब जङ्गल र खेतमा जनावरहरु चर्छन् र मलमुत्र बिसर्जन गर्छन्, बिरुवाको जिवाभार (बायोमास) प्राङ्गारिक पदार्थहरूमा रूपान्तरण हुन्छ र माटोमा मिसिन्छ यसरी माटोमा बन्ने प्राङ्गारिक पदार्थमा नयाँ बिरुवाहरूको पोषक तत्वहरु हुन्छ । अझ जङ्गलको स्याउला (भुइँमा पाइने पात पतिङ्गर) लाई जनावरको मलमूत्रमा मिसाएर कम्पोष्ट बनाउने प्रचलन छ । जसकारण हाम्रो विद्यमान बाली प्रणालीमा पोषक तत्व प्रवाहको चक्र र सन्तुलन कायम भइरहेको छ । माटोको प्राङ्गारिक पदार्थमा भएको परिवर्तनहरूको निगरानी गर्न आवश्यक छ जसका लागि केही वर्षदेखि दशकसम्म समय लाग्न सक्छ । 

किसानको ज्ञान

पातपतिङ्गर र गोठेमलमा भएको पौष्टिक तत्वको गुणस्तरका आधारमा जमिन र गुणस्तरिय कम्पोष्ट मलको छनोट गर्नसक्ने किसानहरूको परम्परागत ज्ञान उत्कृष्ट छ । किसानहरु स्वस्थ बेर्ना उत्पादनका लागि उत्कृष्ट र बढी मल भएको कम्पोस्ट प्रयोग गर्न नै सजग देखिन्छन् । पाखोबारी तथा खोँच खेतमा गरिने फरक फरक गुणस्तरयुक्त कम्पोस्ट मलको प्रयोगले किसानहरूको पोषक तत्व सन्तुलनप्रतिको चेतना झल्काउँछ । उदाहरणका लागि, पाखो बारीमा हुने मध्यम गुणस्तर कम्पोस्टको प्रयोग जसका दुई मुख्य कारण छन् । सर्वप्रथम बारीमा लगाइने बाली जस्तै, मकै बालीहरूले उच्च स्तरको पोषक तत्वहरूको माग गर्छ । त्यसैगरी बारीको माटोमा पोषक तत्वहरू वार्षिक रूपमा लीच (निक्षालन) भइरहेका हुन्छन् जस्लाई प्रतिस्थापन गर्न आवश्यक छ । यसबाहेक, काठमाण्डौ उपत्यकाका क्षेत्र जस्तै भक्तपुर, कालीमाटी, बल्खुलगायत नेपालको केही अन्य भू–भागमा प्राकृतिक रूपमा उर्बर माटो पाइन्छ, जसलाई कालो माटो पनि भनिन्छ । कालो माटो उच्च गुणस्तरको प्राङ्गारिक पदार्थ भएका नदीहरू र खोलाहरूबाट तालमा जम्मा भएर बनेको हुन्छ । प्राङ्गारिक पदार्थको उच्च मात्रा भएको माटोमा उच्च कार्यक्षमता हुन्छ जसले बालीको जरा विस्तार गर्न र पोषक तत्वहरू लिन मद्दत गर्छ । त्यसकारण यस्ता क्षेत्रमा किसानहरुले तरकारी खेतीलाई बढी प्राथमिकता दिएको पनि देखिन्छ । तर पनि, विभिन्न कारणले परम्परागत खेती र प्राङ्गारिक मलको प्रयोग तथा विस्तारमा समस्या ल्याइरहेको छ ।

रासायनिक मलको विकल्प प्राङ्गारिक मल 

जनसङ्ख्या वृद्धिसँगै जमिनमा बढेको चर्को दबाबका कारण परम्परागत पशुपालन प्रणाली र वन स्रोतको पहुँच भत्किएको छ । कम्पोस्टको तयारी र व्यवस्थापनमा बढी समय खपत र बढी श्रम लाग्ने काम हो । जहाँ पर्याप्त संख्यामा पशुपालन गर्न, नियमित रूपमा वनबाट घाँस र वनस्पति सङ्कलन गर्न जरुरी छ । रासायनिक मल, विषादी र यान्त्रिकीकारणको प्रचलनसँगै हामी व्यावसायिक र प्रतिस्पर्धात्मक खेतीमा प्रवेश गरेका छौँ । कम आयतन प्रकृति, सहज ढुहानी, प्रयोगमा सहजता र सबैभन्दा महत्त्वपूर्ण कुरा, उपजमा तीव्र वृद्धिका कारण बिरुवामा बाह्य पोषक तत्व, विशेष गरी रासायनिक मलले लोकप्रियता हासिल गरेको छ । तसर्थ, परम्परागत रूपमा प्रयोग हुने प्राङ्गारिक मलमा कम ध्यान गएको छ र खेती प्रणालीमा सन्तुलित पौष्टिक चक्रलाई असर गरेको छ ।

जब कम प्राङ्गारिक पदार्थको कारण माटोमा पोषक तत्वहरुको कमी हुन्छ रासायनिक मलको बढ्दो प्रयोगले यसलाई पुनर्स्थापित गर्न सकिँदैन । माटोमा छरिने रासायनिक मलबाट सजिलै उपलब्ध हुने पोषक तत्वहरू छिट्टै माटोमा चुहिएर जान्छ । विगत केही दशकदेखि प्रमुख खाद्यान्न बालीहरूको उत्पादकत्व स्थिर वा घट्नुको मुख्य कारणहरूमध्ये यो पनि एउटा हो । यस समस्यालाई हटाउन सरकारले सन् २०३५ सम्म माटोको प्राङ्गारिक पदार्थलाई अहिलेको स्तरबाट ४ प्रतिशतसम्म वृद्धि गर्ने लक्ष्य राखेको छ ।

हामीले हाम्रा गतिविधिहरू सम्झने हो भने, हामी माटोमा प्राङ्गारिक पदार्थको महत्त्वलाई नजिकबाट हेर्न असफल भयौँ, हामी किसानहरूलाई प्राङ्गारिक स्रोतको महत्त्वबारे सिकाउन असफल भयौंँ, हामी अनुदान कार्यक्रममा प्राङ्गारिक मललाई रासायनिक मलसँग एकीकृत गर्न असफल भयौँ, र हामी प्राङ्गारिक बालीको अवशेष र मलले कृषि उत्पादनमा दिने महत्त्वलाई विचार गर्न र प्राथमिकता दिनबाट चुक्यौँ ।

उत्पादनको जीवन चक्रलाई पूर्णता दिन उपउत्पादनहरू र फोहरहरू जहाँ औद्योगिक, जैविक, वा घरेलु फोहर, वा ढलको फोहरहरुलाई जैविक मलको स्रोतको रूपमा प्रयोग गर्न प्राथमिकता दिन्छ । सन् २०११ मा सञ्चालित आरम्भिक परियोजनाले काठमाण्डौका स्थानीय बजारबाट सङ्कलन गरिएको १ सय ४० टन ताजा प्राङ्गारिक फोहर प्रयोग गरी १५ टन उच्च गुणस्तरको कम्पोष्ट मल उत्पादन गर्न सकेको थियो, जसलाई प्राङ्गारिक मल उत्पादनको वैकल्पिक स्रोतका रूपमा लिन सकिन्छ । यद्यपि माटोमा प्रयोग गर्नु अघि यसरी बनेका प्राङ्गारिक मलको पोषण स्थिति र मानव तथा खाध शृङ्खलालाई हानि गर्न सक्ने प्रदुषकहरूको उपस्थितिको मूल्याङ्कन भने गर्नुपर्छ ।

सारमा, संक्षिप्तमा, स्वस्थ एवम् उत्पादनशील माटो, तथा सूक्ष्म जिवाणुको बासस्थानका लागि माटोमा प्राङ्गारिक पदार्थको आवश्यकता पर्दछ । हामीले हाम्रो सोचाइ र काम गर्ने तरिकालाई परिवर्तन गर्न आवश्यक छ । प्राङ्गारिक पदार्थलाई ध्यानमा राख्दै माटो व्यवस्थापन गर्ने हो भने लामो समयसम्म पनि त्यस्तो माटो खेती प्रणालीको लागि बलियो, स्वस्थ र अनुकूलन हुने गर्छ । प्राङ्गारिक पदार्थलाई उच्च प्राथमिकता दिनुपर्छ । किनभने प्राङ्गारिक पदार्थ साँच्चै नै महत्त्वपूर्ण छ ।
(नोट : यो लेख अंग्रेजी भाषामा प्रकाशित सामग्रीको सम्पादित नेपाली अनुवाद हो ।)

अन्तिम अपडेट: असोज २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डा. दिनेश पाण्डे र लक्ष्मी चौलागाईँ

डा. पाण्डे कृषि पर्यावरण प्रणालीमा कार्बन र नाइट्रोजन चक्रको विशेषज्ञता भएका माटो वैज्ञानिक हुनुहुन्छ । चौलागाईँ अहिले ल्यान्डस्केप मोडलिङमा पीएचडी गर्दै गरेकी कृषि माटो विज्ञानकी आकाङ्क्षी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया