हिउँदयाम सकिनै लाग्दा समेत भएन वर्षा

 माघ २३, २०७९ सोमबार ७:१८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - पश्चिमी वायु सक्रिय नहुँदा यसपालि हिउँदयामको अन्तिमतिर आइपुग्दा समेत जमिन भिज्ने गरी वर्षा हुन सकेको छैन । यस्तै, यसपालि हिमपातसमेत राम्ररी हुन सकेको छैन । केही दिनअघि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परे पनि अन्य क्षेत्रमा पानी पर्न सकेको छैन । त्यतिबेला पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको थियो । केही दिनयता पनि पश्चिमी वायुको प्रभाव पर्न थालेको छ । यसकै प्रभावका कारण हिमाली जिल्लामा हल्का हिमपात हुने अनुमान गरिएको छ ।

पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्यबदली भइरहेको छ भने तराईका जिल्लामा हुस्सु कुहिरो लाग्दै आएको छ । तर, मौसम बदली भइरहे पनि पश्चिमी वायु सक्रिय नभइदिँदा पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार तत्काललाई पानी पर्ने सम्भावना पनि छैन ।

डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई हिउँदयाम मानिन्छ । हिउँदको पहिलो महिना डिसेम्बर पानी नपरि बितेको थियो भने जनवरीमा पश्चिमका केही क्षेत्रमा हल्का वर्षा भएको थियो । तर, अहिले फेब्रुअरीको पहिलो हप्ता बित्न लागिसक्दा पनि पानी पर्न भने सकेको छैन ।

यस्तै आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली र हिमाली जिल्लामा हल्का हिमपात हुने अनुमान गरिएको छ । तराईका जिल्लामा भने बिहानैदेखि बाक्लो हुस्सु कुहिरो लागेको छ । तराईमा लागेको हुस्सु कुहिरो दिउँसो पछि हट्ने अनुमान गरिएको छ । बाक्लो हुस्सु कुहिरो लागेकाले गाडी चलाउँदा र यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया