एमालेले प्रस्ताव गरेकाे राष्ट्रपतिलाई कांग्रेसले हराएरै छाड्छ : गगन थापा

 माघ २५, २०७९ बुधबार १४:७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई आफ्नो पार्टीले हराएरै छाड्ने दाबी गर्नुभएको छ । महामन्त्री थापाले एमालेको राष्ट्रपतिको उम्मेदवारलाई हराउनका लागि आफूहरूले सक्दो प्रयास गर्ने कुरा स्वाभाविकै भएको जिकिरसमेत गर्नुभयो ।

बुधवार काठमाण्डाैमा आयोजित 'अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल' विषयक विचार गोष्ठीमा बोल्दै उहाँले राष्ट्रपतिप्रति आँखा नलगाउन एमाले अध्यक्ष केपी ओलीले आग्रह गरेको उल्लेख गर्दै आफूहरू आँखा लगाएरै अघि बढ्ने बताउनुभयो । महामन्त्री थापाले राष्ट्रपति एमालेको भए देशमा संवैधानिक दुर्घटना हुने डर कांग्रेसलाई भएकाले आफूहरू त्यो डरबाट मुक्त हुन पनि राष्ट्रपति आफ्नाे पक्षको बनाउन सबै प्रयास गर्ने बताउनुभयो ।

उहाँले भन्नु भयो, ‘राष्ट्रपतिमा आँखा लाउलास् भन्नुहुन्छ साथीहरू । तर नेपालको राष्ट्रपतिको संस्था गएको केही वर्षहरूमा हामीले कस्तो बनाएका छौँ ? मन लाग्दाखेरी हामीले संविधानलाई मिच्न पाउने । अहिले नेकपा एमालेले राष्ट्रपति बनायो भने त्यो राष्ट्रपति कस्तो हुन्छ ? त्यो राष्ट्रपतिलाई सम्माननीय कठपुतली राष्ट्रपति भनी दिए हुन्छ । त्यसले के गर्छ ? यो सरकारको कुरा होइन है । त्यसले बिस्तारै समानान्तर शक्तिको अभ्यास गर्छ । संविधानले दिँदै नदिएको शक्तिको अभ्यास गर्छ । त्यसले विस्तार दुई शक्ति केन्द्र हुन्छ । एउटा बालुवाटार, अर्को शीतल निवास हुन्छ । अनि बालुवाटारबाट कार्यअधिकार प्रयोग गर्ने ठाउँबाट शीतल निवासले पनि कार्यकारी अधिकार प्रयोग गर्छ । र एक ठाउँमा गएर ठोकिन्छ । त्यसले संविधानलाई दुर्घटनामा लिएर जान्छ । त्यो संविधानलाई दुर्घटनामा लिएर जाने डरले गर्दा नेपाली कांग्रेसले एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराएरै छाड्छ । ’

विगतका राष्ट्रपतिहरूको भूमिका ठिक नभएकाले पनि अहिलेको राष्ट्रपति एमालेलाई दिन नहुने पक्षमा आफूहरू रहेको महामन्त्री थापाको भनाइ थियो ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया