संसद छिर्ने वामदेवको बाटोमा नेकपाकै शीर्ष नेताको तगारो !

 असोज २५, २०७५ बिहिबार १९:१५:३४ | नवराज फुयाँल
unn.prixa.net

काठमाडौं – वामदेव गौतम उपचुनाव लड्ने विषयले नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद बढाएको छ । आन्तरिक एकतालाई लिएर देखिएको विवाद सुल्झिन नपाउँदै गौतमले काठमाडौं ७ मा उपचुनाव लड्ने विषयले पार्टीभित्रको विवाद झनै बढेको हो ।  

वामदेवलाई खाली गरिदिन भन्दै काठमाडौं ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिएपछि अहिले त्यस विषयले पार्टीभित्र र बाहिर वामदेवकै आलोचना बढेको छ ।  

बर्दिया निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा चुनावमा पराजित नेता गौतमलाई काठमाडौं–७ बाट निर्वाचित सांसदलाई राजीनामा गराएर संसदमा लैजादा पार्टीका लागि राम्रो सन्देश नजाने भन्दै नेकपाकै शीर्ष नेताहरुले विरोध जनाएका छन् । 

मंगलबार काठमाडौं ७ बाट निर्वाचित सांसद रामवीर मानन्धरले पत्रकार सम्मेलन गरेरै गौतमका लागि ठाउँ खाली गरिदिएको घोषणा गर्नुभएको थियो । काठमाडौं ७ वरिष्ठ नेता वामदेवका लागि खाली गर्दा खुसी देखिएका रामवीर आफै पनि जनमतको उपेक्षा गरेको भन्दै निकै आलोचित बन्नुभएको छ । 

अध्यक्ष पुष्पकमल दाहाल र नेता गौतमसँगको छलफलपछि आफूले राजीनामा दिएको बताएसँगै पार्टीभित्रैबाट यसको विरोध सुरु भएको हो । 

नेकपाका महासचिव विष्णु पौडेल, सचिवालय सदस्य एवं उपप्रधानमन्त्रीसमेत रहनुभएका ईश्वर पोखरेल, स्थायी समिति सदस्य भीम रावल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ लगायतका नेताहरुले अहिले पार्टी सुदृढ बनाउने समय भएकाले उपचुनावको आवश्यकता नरहेको बताएका छन् । 

अब वामदेव गौतम आफैले पनि उपचुनावमार्फत सांसदमा आउने योजना त्यागेर पार्टी सुदृढिकरण तर्फ लाग्न उनीहरुले सुझाव दिएका छन् । 

नेकपाका महासचिव पौडेलले गौतमलाई संसदमा ल्याउन उपचुनाव गराउने विषयमा अहिलेसम्म पार्टीमा कुनै निर्णय नभएको भन्दै उपचुनावबाट प्रतिनिधिसभामा जाने योजना त्याग्न गौतमलाई आग्रह पनि गर्नुभयो । 

‘अहिले यो विषयले चर्चा पाएसँगै पार्टीको छविमा समेत नकारात्मक टिप्प्णी सुरु भएको छ’, उहाँले भन्नुभयो, ‘त्यसैले अब गौतम पार्टी संगठन सुदृढ पार्ने काममा लाग्नु उत्तम हुन्छ ।’ 

यस्तै नेकपाका सचिवालय सदस्य एवं उपप्रधानमन्त्रीसमेत रहनुभएका पोखरेलले सामाजिक सञ्जालमा प्रतिक्रिया लेख्दै रामवीरको राजीनामा र वामदेव उपचुनावबाट सांसद बन्ने योजना  दुर्भाग्यपूर्ण रहेको बताइसक्नु भएको छ । पोखरेलले सोमबारको सचिवालय बैठकमै पनि निर्वाचित सांसदलाई राजीनामा गराएर गौतमलाई सांसदमा ल्याउने प्रस्तावको प्रतिवाद गर्नुभएको थियो । 

नेकपाका स्थायी समिति सदस्य तथा प्रदेश ७ का इन्चार्ज भीम रावलले पनि आवश्यक छलफलबिना पार्टी चल्न थालेको भन्दै असन्छुष्टि व्यक्त गर्नुभयो । रावलले सामाजिक सञ्जाल ट्विटरमार्फत राष्ट्रिय र पार्टी जीवनमा दीर्घकालीन प्रभाव पार्ने विषयमा छलफलबिना निहित स्वार्थ र आवेगमा आएर निष्कर्ष निकाल्ने काम नहोस भन्दै चेतावनी दिनुभएको छ । 

उहाँले लेख्नुभएको छ, ‘विधि, प्रक्रिया र राष्ट्रिय हितबारे पार्टी स्थायी कमिटीमा छलफल अत्यावश्यक छ ।’

पार्टीका स्थायी समिति सदस्य एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले कसलाई कहाँ उठाउने वा कसलाई राजीनामा गर्न लगाउने भन्ने बारेमा पार्टीले निर्णय नगरेको बताउनुभयो । ‘अहिले नै कसैले पनि कसैका लागि भन्दै राजीनामा नगरे हुन्छ,’ उहाँले भन्नुभयो, ‘पार्टीले निर्णय गरेर भनेमा मै भए पनि सांसद छोड्न तयार हुनुपर्छ ।’

रामवीरको राजीनामा र गौतम उपचुनावमार्फत सांसद छिर्ने योजनाको उपल्लो तहका नेताहरु मात्रै होइन तल्लो तहमा समेत त्यस्तै असन्तुष्टि छ । 

काठमाडौं क्षेत्र नम्बर ७ (क) र (ख) बाट निर्वाचित प्रकाश श्रेष्ठ र बसन्त मानन्धरले यो क्षेत्रमा गौतमका लागि अहिले चुनाव लड्नु सहज हुँदैन भनेर भनिसक्नु भएको छ । प्रधानमन्त्री केपी ओलीलाई भेटेरै आफूहरुले अहिलेको वर्तमान अवस्थाको बारेमा अवगत गराएको प्रदेशसभा सदस्य बसन्त मानन्धरले बताउनुभयो । 

काठमाडौं क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य एवं तत्कालीन एमालेका काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राईले भर्खरै एकीकृत हुन लागेको पार्टीलाई भताभुंग पार्नेहरुको योजनामा वामदेवलाई प्रतिनिधिसभामा ल्याउने खेल भइरहेको भन्दै यसको विरोध गर्नुभयो । 

शीर्ष नेतादेखि मतदातासम्मैले उपचुनावमार्फत सांसद छिर्ने वामदेवको योजनाको चर्को आलोचना गरेका छन् । 

अन्तिम अपडेट: चैत १५, २०८०

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया