सत्ता गठबन्धन भत्किनेप्रति केपी ओलीको आशङ्का

 फागुन २, २०७९ मंगलबार १७:२७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धन भत्किनेप्रति आशङ्का व्यक्त गर्नुभएको छ ।

मङ्गलवार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सत्तारूढ गठबन्धन भत्किनेप्रति आशङ्का व्यक्त गर्नुभएको हो । उहाँले संसद्को बनावट अस्थिरताको कारक हुने खालको रहेको भन्दै गठबन्धन भत्किनेप्रति शङ्का व्यक्त गर्नुभयो । उहाँले देशभित्रका र बाहिरका शक्तिहरू देशलाई बरबाद पार्न लागेका जिकिर गर्नुभयाे । 

एमाले देशलाई बरबाद पार्नबाट रोक्ने गेटपाले भएको भन्दै अध्यक्ष ओलीले सबैभन्दा पहिले एमालेलाई प्रहार हुनसक्ने बताउनुभयो । उहाँले देशमा स्थिरता र स्थायित्व हुन नदिका लागि अनेक प्रकारका षड्यन्त्रहरू भइरहेकाे दाबी गर्नुभयाे । उहाँले भन्नुभयो – ‘हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौँ । यो सफलताको कुरा हो । तर हाम्रा पार्टीका साथीहरू प्रसन्न भएको देखिन्छ । प्रसन्न हुनुपर्दछ । तर कथम कदाचित यो स्थिति फेरियो भने ? संसद्को बनावट नै अस्थिरताको कारक हुने खालको छ । बहुमत कसैको छैन । हामीसँग बहुमतभन्दा निकै तल सिट छ । र भित्रका, बाहिरका अनेक शक्तिहरू यो देश बरबाद पार्न क्रियाशील छन् । यो देश बर्बाद पार्न सबैभन्दा पहिले यदि कुनै डाकाले बैंकमा डकैती गर्नपर्‍याे भने पहिले पालेलाई प्रहार गर्छ । नेकपा एमाले यो देशमा डकैती गर्न नदिने गेटको पाले हो । त्यस कारण पहिले यसमाथि प्रहार हुनसक्छ । भइआएको छ । यहाँ स्थिरता, स्थायित्व हुन नदिने खालका प्रयासहरु भइरहेका छन् ।’

कार्यक्रममा बाेल्दै अध्यक्ष ओलीले विगतमा नेपालको शिक्षालाई बुर्जुवा शिक्षा भनेर प्रचार गरिनु गलत भएको बताउनुभयो । कसैले पनि संस्थागतरूपमा शिक्षालाई बुर्जुवा शिक्षाको उपमा दिएर बहिष्कार गर्न नभनेको भए पनि कुनै व्यक्तिको लहडको भरमा त्यसो भनिएको उहाँकाे भनाइ छ । कुनै पनि बाहानामा पढ्ने काम नछोड्न उहाँले विद्यार्थीहरूलाई आग्रह गर्नुभयो । 

अध्यक्ष ओलीले आउँदाे स्ववियु चुनावमा अनेरास्ववियु विजयी हुने कुरामा विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल विद्यार्थी सङ्घले अनेरास्ववियुसँग प्रतिस्पर्धा गर्न नसक्ने र अन्य विद्यार्थी सङ्गठनहरू भर्खरै सिक्दै गरेका भनी टिप्पणी गर्नुभयो । उहाँले नेविसङ्घलाई अनेरास्ववियुले जहिले पनि छक्का हान्दै आएको टिप्पणी गर्नुभयाे । 

अध्यक्ष ओलीले अनेरास्ववियुको नेतृत्वका लागि सहमतिको प्रयास गर्न आग्रह गर्नुभयो । उहाँले अनेरास्ववियु उद्देश्य बोक्ने संस्था भएको भन्दै महत्त्वकाङ्क्षा बोक्न नहुने बताउनुभयो ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया