नयाँ बसपार्क घटनामा संलग्न थप १५ जना पक्राउ

 फागुन ४, २०७९ बिहिबार १३:४२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डाैकाे गाेङ्गबु नयाँ बसपार्ककाे ल्हाेत्से मलमा भएकाे ताेडफाेड र लुटपाट तथा प्रहरी बिटमा आगजनी गर्ने कार्यमा संलग्न थप १५ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । 

गएकाे साेमवार यातायात व्यवसायी र मजदुरहरूले गरेको प्रदर्शनका क्रममा भएकाे घटनामा संलग्नहरूलाई काठमाण्डाैका विभिन्न ठाउँबाट पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु र महाराजगञ्ज पठाइएकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार पक्राउ परेकाहरू धेरैजसाे चालक सहचालक र यसअघि विभिन्न आपराधिक घटनामा संलग्न रहेका छन् ।

पक्राउ पर्नेहरूमा काभ्रेकाे पाँचखालका सहचालक सुरज मगर, उदपुरकाे चाैदण्डी घर भएर ज्याला मजदुरी गर्ने रितेश बस्नेत, माेरङकाे बेलबारी घर भएर ज्याला मजदुरी गर्ने यमन राई रहेका छन् । यिनीहरू ल्हाेत्से मलमा भएकाे चाेरीमा संलग्न रहेका पाइएकाे प्रहरीले जनाएकाे छ ।

यस्तै आगजनी र ताेडफाेडमा संलग्न नुवाकाेटकाे ककनी घर भएका विद्यार्थी सुनिल कालिकाेटे, काठमाण्डाैकाे माछापाेखरीका व्यापारी राेमन नगरकाेटी, नुवाकाेटकाे ककनी घर भएका विद्यार्थी सुदिप तामाङ, काठमाण्डाैकाे माछापाेखरीका व्यापारी माधव शाही, नुवाकाेटकाे सूर्यगढी घर भएका सहचालक केशर राई र सिन्धुलीकाे सिन्धुलीगढी घर भएका सहचालक इन्द्र तामाङ पक्राउ परेका छन् । यस्तै प्रहरीले धादिङकाे नीलकण्ठ घर भएका चालक ईलाराज गुरुङ, उदयपुरकाे उदयपुरगढीका सहचालक राजन राउत, काभ्रेकाे नमाेबुद्ध घर भएका चालक हरिशरण तामाङ, धादिङकाे नीलकण्ठ घर भएका सहचालक विकाश गुरुङ, चितवनकाे रत्ननगर घर भएका चालक संविधान परियार र काठमाण्डाैकाे समाखुसी घर भएर हाेटलमा वेटरकाे काम गर्ने कविन खड्गीलाई पक्राउ गरेकाे छ ।     

प्रहरीले हिजै ल्होत्से मलमा लुटपाट गर्ने चार जना तथा प्रहरीका दुई वटा भ्यान र प्रहरी बिट जलाउने छ जनालाई पक्राउ गरिसकेकाे छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया