मिथिलामा महाशिवरात्रि

 फागुन ६, २०७९ शनिबार १३:२३:४१ | सुजीत झा
unn.prixa.net

धनुषा – महाशिवरात्रिको अवसरमा जनकपुरधामको शिवालयहरुमा भक्तजनहरुको भीड लागेको छ । व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनहरूले शुद्ध भइ शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

निर्जला व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । र यी सबै कार्य जनकपुरधामको भूतनाथ मन्दिरमा हुने गरेको भूतनाथ मन्दिरका संस्थापक पवन सिंघानियाले बताउनुभयाे ।

मिथिलामा प्राचीनकालदेखि नै शिवको पूजा हुँदै आएको छ । राजा जनकले जनकपुरधामको चार कुनामा शिवलिंग स्थापित गरेको मिथिला महात्म्यमा उल्लेख रहेको छ । शिवलिंग स्थापना गरेका स्थानहरुमा जलेश्वरनाथ, क्षीरेश्वरनाथ, सतोषर र कलाणेश्वर स्थान रहेको छ ।

शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामाकरण भएको यो पर्वलाई हिन्दू संस्कृतिमा अत्याधिक महत्त्व रहेको छ । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आँशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

1 Comments

  • Raman kumar pandey

    Feb. 18, 2023, 1:57 p.m.

    सटीक सही बर्णन मिथिला में देवो के देव महादेव का .. 🙏🌹

  •  0 Reply

तपाईको प्रतिक्रिया