रोहितको कप्तानी 'इनिङ्स'

 फागुन ९, २०७९ मंगलबार १८:१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : आईसीसी

काठमाण्डौ – कप्तान रोहितकुमार पौडेल र करण केसीले नवाैँ विकेटका लागि अविजित ७५ रनको साझेदारी गरेपछि नेपालले विश्व कप क्रिकेट लिग–२ को च्याम्पियन स्कटल्यान्डमाथि २ विकेटको रोमाञ्चक जित निकालेको छ ।

कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा मङ्गलवार सम्पन्न त्रिदेशीय एकदिवसीय शृङ्खलाकाे अन्तिम खेलमा नेपालले स्कटल्यान्डले दिएकाे २ सय १३ रनको लक्ष्य ३५ बलअघि नै भेटाएकाे हाे । सातौँ ओभरमा नेपालले १९ रन बनाउँदा २ विकेट गुमाएकाे अवस्थामा ब्याटिङ गर्न आएका रोहितले अविजित ९५ रन बनाएका हुन् । यस्तै नेपालले १ सय ३८ रन जोड्ने क्रममा ८ विकेट गुमाएको अवस्थामा राेहितलाई करण केसीले साथ दिएका थिए । त्यस क्रममा राेहित र करणले नवाैँ विकेटका लागि ७५ रनको साझेदारी गरेपछि नेपालकाे जित निश्चित भएको थियो । रोहितले १ सय १ बलको सामना गर्दा ७ चौका र ४ छक्का प्रहार गर्दा करणले ३७ बलमा ३१ रन बनाउँदा २ चौका र १ छक्का प्रहार गरे । 

स्कटल्यान्डले दिएको २ सय १३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवात राम्रो भएन । ओपनर कुशल भुर्तेल १ रनमै र अर्का ओपनर आसिफ शेख १२ रन बनाउँदै आउट भए । यस्तै ज्ञानेन्द्र मल्लले २१ रन जोड्दा कुशल मल्लले २८ बलको सामना गर्दै २७ रन बनाए । सन्दीप जोरा १, दीपेन्द्रसिंह ऐरी ७, सोमपाल कामी २ र सन्दीप लामिछाने ९ रनमा आउट भएका थिए ।

नेपालको इनिङ्सलाई कठिन बनाउने क्रममा कसिलो बलिङ गरेको स्कटल्यान्डका लागि स्पिनर मार्क वाटले ३ र क्रिस ग्रेभिसले २ विकेट लिए । 

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङ गरेकाे स्कटल्यान्ड ४६ ओभर १ बलमा २ सय १२ रन बनाउँदा अलआउट भयाे । नेपालका सन्दीप लामिछानेले ४, करण केसीले ३ तथा ललित राजवंशी र कुशल मल्लले समान १/१ विकेट लिए ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया