युवामाथि सिङ्गो राष्ट्रको भरोसा छ : प्रधानमन्त्री प्रचण्ड

 फागुन ११, २०७९ बिहीबार १३:१२:४६ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवामाथि सिङ्गो राष्ट्रको आशा र भरोसा रहेको बताउनुभएको छ । काठमाण्डौको टुँडिखेलमा आज बिहीवार आयोजित राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १७ औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै उहाँले वर्तमान अवस्थामा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताउनुभयो । 

‘तपाईँहरूमाथि अभिभावकको मात्र आशा र सपना निहीत नभई प्राध्यापक, नातेदार र समाजको पनि सपना र आशा रहेको हुन्छ । त्यसैले उत्कृष्ट समाज निर्माणका लागि यसै युवा अवस्थामा तपाईँहरूले आफ्नो मनोबल उच्च बनाउनुका साथै कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै आफ्नो समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र त्योअनुरूपको कार्यभार पूरा गर्न सबल नागरिक बन्ने कार्य पनि उत्तिकै महत्त्वपूर्ण छ’, उहाँले भन्नुभयो । 

युवाको व्यक्तित्व विकास गर्ने उद्देश्यले विसं २०२२ बाट ‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने मान्यतासहित राष्ट्रिय सेवा दलको स्थापना भएको थियो । राष्ट्रिय आवश्यकताको अनुपातमा राष्ट्रिय दलको तालिमको मात्रात्मक उपस्थिति पर्याप्त नभएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आउँदा दिनमा तालिममा सहभागीको सङ्ख्या विस्तार गर्न सरकार गम्भीर रहेको बताउनुभयो । 

उहाँले आउँदा दिनमा सङ्ख्या वृद्धि गरी तालिमको गुणस्तरमासमेत थप प्रभावकारिता ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले सरकारको उच्च प्राथमिकतामा परेको यस कार्यक्रमले युवालाई अनुशासित, मर्यादित, देशप्रति समर्पित र राज्यका संस्थाप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउनुका साथै विपद्को समयमा परिचालन गर्न सकिने तालिम प्राप्त स्वयंसेवक जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको बताउनुभयो । 

नैतिकवान्, क्षमतावान् र देशभक्त युवा तयार गरी राष्ट्रको आवश्यकता सम्बोधन गर्ने उद्देश्यसहित राष्ट्रिय सेवा दल स्थापना भएको उल्लेख गर्दै उहाँले राष्ट्रलाई आवश्यक परेको बेलामा निःस्वार्थ सेवा भावबाट समर्पित भई नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । 

सैनिक पोसाकमा विभिन्न सैनिक कला तथा समसामयिक विषयमा ज्ञान मात्र नदिई विभिन्न प्राकृतिक भू–बनोट, संस्कृति, परम्परा र संस्कारबाट आई राष्ट्रिय सेवा दलको एउटै छानामुनि बसी एकअर्काको भावना एवम् संस्कृति, परम्परा, संस्कार र इतिहास बुझ्ने मौका पनि मिल्दछ भन्दै उहाँले यसबाट राष्ट्रि«य एकताको भावनामा थप प्रतिबद्धताको विकास हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले युवाको शारीरिक, मानसिक, बौद्धिक विकासका निम्ति सरकार निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सेवा दलले प्रदर्शन गरेको कवाज, कला र प्रस्तुतिको अवलोकनले आफूलाई विगतमा राष्ट्रिय सेवा दल तालिम गर्दाको सुखद क्षण स्मरण भइरहेको जनाउँदै प्रधानमन्त्री प्रचण्डले अहिले प्रधानमन्त्रीका रूपमा कार्यरत रहँदा राष्ट्रिय दलको लक्ष्यअनुरूप यस तालिमबाट प्राप्त हुने ज्ञानले देशप्रति थप जिम्मेवारी र कर्तव्य बोधको ऊर्जा प्राप्त भएको बताउनुभयो । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया