युद्ध अपराधको आरोपमा इजरायलका प्रधानमन्त्री, पूर्व रक्षामन्त्री र...
मंसिर ७, २०८१ शुक्रबार
दुई तिहाईको बलियो सरकार भएको देशका नागरिक आशबहादुरलाई जता फर्के पनि आश मात्रै लाग्छ । कतातिर मात्रै आश गरौं भनेर पर्खिरहेको बेला दसैँ टुप्लुक्क दैलोमै आइपुग्यो ।
दसैँ कसरी मान्ने र के ले टार्ने भन्दै टाउको समाएर बसेका बेला दसैँ घरमै पसि हाल्यो । जमरा राख्ने दिन आयो । दिन आएपछि त्यो पनि राख्नै पर्यो । जमरा पनि राखियो जसोतसो । जमरा नै राखेपछि त जसरी पनि दसैँ मान्नु पर्यो । जाबो जमरा राख्नका लागि खर्च गर्न परेन । धान, मकै, जौ घरमै थियो । बालुवा, माटो खोलामै पाइन्थ्यो । ख्यालख्यालमै जमरा राखिसकेपछि अब साँच्चिकै दसैँ सुरु भयो ।
सबैलाई खुशी र सुखी बनाउँछु भन्ने दुई तिहाईको सरकारले दसैँमा पक्कै पनि राहत दिन्छ भन्ने आशबहादुलाई आश थियो । आशबहादुरले राहत र सहुलियतको आश बोके । त्यसपछि झोला बोकेर बजार पुगे ।
अक्षता बनाउनदेखि दहीचिउरासँग मुछ्न पनि चिनी नभई हुन्न । त्यसैले सबैभन्दा पहिले चिनीपसल पुगे र भाउ सोधे । असी भनेको हो कि खसी भनेको हो, एकछिन कुरा बुझ्न मुश्किल पर्यो । पसलेले असी नै भनेको रहेछ । सुनेर झण्डै बेहोस भैसकेका थिए, सँगै गएको अर्काले पानी छर्किएपछि उनी होशमा आए ।
होशमा फर्किएपछि उनले बल्ल बुझे, किनमेल गर्न बजार निस्कँदा दह्रो मुटु बनाउनुपर्छ, नत्र जे पनि हुन सक्छ ।
चिनी चिन्नै नसक्ने भएपछि उनी लुगाफाटा र मरमसला बेच्ने पसलमा पुगे । त्यहाँ पनि बेहोस हुने गरी पसलेले भाउ सुनाए । यसपटक मुटु दह्रो बनाएकाले आशबहादुर बेहोस नै त भएनन् । तर फनफनी रिंगटा लाग्यो । उनलाई लाग्यो, बजारका सरसामान किन्नका लागि होइनन्, सजाएर राख्नको लागि मात्रै ठीक छ ।
दसैँमा कपडा समेत किन्न सकिंदैन भन्ने निष्कर्षसहित उनी हारेको जुवाडेको तालमा घर फर्किए । पिंढीमा बसेर झोक्राए ।
चौबीसैघण्टा फेसबुकमा झुण्डिने छोराछोरीले एउटा भाइरल भएको भिडियो देखाए । भिडियो देखेर आशबहादुरका आँखा रसाए । भिडियोमा एउटी केटीले खसीखसिनीलाई नकाट्नु है, मासु त खानु तर नकाट्नु, काटे पनि परिवार नभएकालाई मात्रै काट्नु भनेको सुनेर आशबहादुर एकछिन अलमलमा परे ।
केटाकेकटीदेखि नै उनले बाख्राको छोरो बोको हुन्छ र नसबन्दी गरेपछि त्यै बोकालाई खसी भनिन्छ भन्ने थाहा पाएका थिए । भिडियाे हेरेपछि उनको टाउको दसैँले पीरलेभन्दा खसीखसिनीका कुराले रिंगाउन थाल्यो । खसीकी श्रीमती खसिनी भएपछि अब बाख्राको श्रीमान् बाख्रिनी हुने भयो । भनेपछि अब कि बाख्रा नरहने भयो कि खसी नरहने भयो । ब्रम्हाको श्रृष्टिबाट एउटा प्राणीको लोप हुने भयो भन्ने चिन्ता लाग्यो आशबहादुरलाई । तर यो चिन्ता धेरैबेर टिकेन । खसी र बाख्रा जे भए पनि दसैँमा खाने त मासु नै हो जस्तो लाग्यो । मासु त हो, तर खसीखसिनीका परिवार भए, नभएको कसरी थाहा पाउने ? अनि मासु चाहिँ खानु, नकाट्नु भनेपछि काट्दै नकाटी के खानु ? तर पैसो नभएको बेला नकाट्नै नै ठीक भन्ने उनलाई लाग्यो । खसीखसिनीको माया गर्ने केटीले खसी किन्ने पैसा जोगाइदिइन् भनेर उनी मख्ख परे ।
खसी पनि टर्यो, कपडा पनि टर्यो । तर दसैँ त खल्लो हुने भो । केही न केही चमत्कार गरेरै भएपनि दसैँ मनाउन पाए हुन्थ्यो भन्ने पनि लाग्यो । चमत्कार गरेर चिनी किन्न पाइयो भने सबैभन्दा उत्तम हुन्छ भन्ने उनलाई लाग्यो ।
उस्तै चमत्कारी पारामा दसैँमा चाहिने लुगाफाटा कसैले घरमै ल्याइदेओस् । परिवार नभएका खसीखसिनी वा बाख्राबाख्रीनी पनि जादुगरले हातमा परेवा र रुमाल निकालेझैं गरी म्याँम्याँ गर्दै आँगनमा आइपुगोस् । आशबहादुरले चमत्कार हुन्छ कि भन्ने आश गरे ।
त्यहीबेला उनले प्रधानमन्त्रीको नयाँ भाषण सुने । पहिले चुनावी घोषणापत्र र भाषणमा देशमा अब चमत्कार हुन्छ भन्ने प्रधानमन्त्रीले अब चमत्कार गर्न सकिंदैन भनेछन् । जादू देखाएजस्तो कहाँ चमत्कार गर्न सकिन्छ भनेर प्रधानमन्त्रीले नै भनेपछि चमत्कार पनि नहुने भयो, जादू पनि नदेखिने भयो । त्यसपछि फेरि उनको आश मर्यो । मनमनमा सोचे, अब चमत्कार गरेर पनि दसैँ मनाउन सकिंदैन ।
किनमेल नगरे पनि केही न केही गरेर दसैँ त मनाउनुपर्यो । घरमा जमरा राखिसकेको छ । जमरा राखेपछि किनमेल गर्न उनी शहर आएका थिए । अब गाउँ जानुपर्यो भनेर आशबहादुर पुरानो झोला बोकेर बसपार्क पुगे । तर बसमा त टिकट पहिल्यै सकिसकेको रहेछ । बस्ने सिट त के झुण्डिने डन्डी समेत रहेनछ । बस नपाएर घर जान पनि पाइएन ।
न लुगाफाटा, न मरमसला, न त खसी र चिनी नै किन्न पाइयो, न घर फर्कन बस नै । सबैतिरको संयोगले योपालि आशबहादुरले दसैँमा खर्च गर्न परेन । तर दसैँको मुखमै दुई तिहाई सरकार भएको पार्टीले बम्पर उपहार खोल्यो ।
नेकपा भनेको वाम पार्टी । नाम नै वाम भएपछि वाम नाम नभएका मान्छे सरकार र संसदमा नहुनु सुहाउने कुरा पनि भएन । त्यसमाथि सरकारले केही काम गर्न सकेन भनेर आलोचना भैरहेको छ । ओलीले चमत्कार देखाउन सक्दिन भनेर हार मानिसके । मैले भनेको कसैले टेर्दैनन् भनेर खुट्टा कमाइसके । ओली पछिका प्रचण्डको खुट्टा त छ, तर त्यो उनको चाहनामा उचालिंदैन । मान्छे त बलियै छन्, तर उनका खुट्टी देखिंदैनन् । खुट्टी लुकाएर नसक्नेले के गर्न सक्लान् ?
खुट्टा दह्रो भएका एकजना वैकल्पिक मान्छे त चाहियो । बीच सडकको बार पनि नाघ्न सक्ने दह्रो खुट्टा भएका, एक-दुई अर्बको बराबर रकम बेलुका खाएर बिहान ट्वाइलेटमा फ्लस गर्न सक्ने बलियो जाँते भएका, आफ्नै पार्टीका नेताबाट टुँडिखेलमा एक नम्बरको भ्रष्टाचारी विभूषण पाइसकेका अनि प्रहरीलाई समेत थर्कमान बनाएर राख्न सक्ने दह्रो मुटु भएका मान्छे वामदेव मात्रै हुन् । तर बर्दियाका मतदाताले यो कुरो बुझेनन् । उनीजस्तो जे पनि गर्न सक्ने खुबी भएका मान्छेको खुट्टा चुनावको बेलै बाँधेर हल न चल पारिदिए ।
अब बाँधिएको वामदेवको खुट्टा खोल्नुपर्ने भयो । वामदेव भन्नु र महादेव भन्नु उस्तैउस्तै हो । बरु महादेव नहुँदा देवलोक चल्ला, वामदेव नहुँदा मर्त्यलोकको नेपाल देश चल्नै नसक्ने भैसक्यो । नागरिकले दुःख पाए । सडक अस्तव्यस्त भयो । जताततै हत्या, हिंसा, बलात्कार, महंगी, भ्रष्टाचार, अनियमितता फैलियो । न ओलीले केही गर्न सके, न प्रचण्डले ।
नागरिकले आश गरेअनुसारको काम गर्न सक्ने मान्छे वामदेव नै हुन् । त्यसैले दसैँको छेक पारेर सरकार चलाउने पार्टीका नेताल वामदेव बम्पर उपहार घोषणा गरे । महंगी र असुरक्षाले आत्तिएका आशबहादुर जस्तालाई योभन्दा खुशीको कुरा अरु के हुन सक्छ ? खुशीले उफ्रिरहँदा फेरि उपहार रद्द भएको कुरा आयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।
Laxman Pokharel
Oct. 17, 2018, 10:28 p.m.म पनि बर्दिया कै हुँ/ बामदेव भन्ने मान्छेले बर्दियालाई आफ्नो विर्ता भन्ठान्यो रे ....पछि प्युठान मेरो भन्यो रे...के हो के हो मैले त केहि बुझ्न सकिन /जमिन्दारी प्रथा चाहिं सकियो, वामदेवजीको grassroot approach चाहिं कम्जोर नै हो कि जस्तो लाग्यो / ठूलो मान्छे, के भन्ने ? भोट त सानै मान्छेले दिने हो , भैगो नि धेरै कुरा नगरौं, फेरी गाह्रो होला /