खाडीमा ७ वर्ष बिताएर पुर्ख्याैली आरन व्यवसाय अँगालेका राजु : 'कोइलाकाे अभाव हुँदा समस्या'

 फागुन २०, २०७९ शनिबार १५:४७:५९ | रासस
unn.prixa.net

पाल्पा – कुनै समय वैदेशिक राेजगारीमा खाडी जानुभएका पाल्पाको बगनासकाली गाउँपालिका–९ बगनासका राजु  विश्वकर्मा अहिले आफ्नै पुर्ख्याैली व्यवसाय आरनमा रमाइरहनुभएकाे छ । 

उहाँ वैदेशिक रोजगारको सिलसिलामा कतार र साउदीमा करिब सात वर्ष काम गरेर स्वदेश फर्केपछि घरमै बसेर आरन व्यवसायमा रमाइरहनुभएको हाे । उहाँले अर्काको देशमा दुःख गर्नुभन्दा हातमा सीप भएपछि घरमै बसेर काम गर्दा रमाइलो लागिरहेको अनुभव सुनाउनुभयो । उहाँले आफ्नै घरमा स्वतन्त्रसँग परिवारको साथमा आफ्नो सीपलाई व्यावसायिक रुपमा प्रयोग गरिरहनुभएको छ ।

विश्वकर्मा समुदायको पुर्ख्याैली व्यवसायका रुपमा आरन व्यवसायलाई लिइन्छ । यस समुदायका सबैका घर–घरमा पहिले आरन व्यवसाय अनिवार्यजसो चलाइन्थ्यो । हिजोआज भने गाउँघरमा पहिलेजसो व्यावसायिक रुपमा आरन चलाउने कमै छन् । यो व्यवसाय चलाउन कोइलाको अभाव र बाउबाजेले धान्दै आएको व्यवसाय युवापुस्ताले अवलम्बन नगर्दा व्यावसायिक रुपमा आरन धान्ने कम छन् ।

४६ वर्षीय राजु विश्वकर्माले कोइलाको अभावमा व्यवसाय धान्न समस्या रहेको गुनासो गर्नुभयो । बाउबाजेको पालादेखि नै चलाउँदै आएको व्यवसाय अहिले आफूले पनि निरन्तर रुपमा धान्दै आएको उहाँ बताउनुहुन्छ । गाउँघरमा कोइलाको अभावले गर्दा आरन व्यवसाय धान्न अप्ठ्यारो परेको उहाँले बताउनुभयो ।

“आरन व्यवसाय धान्न कोइलाको समस्या छ, गाउँमा हिजोआज कोइला पाइन छाड्यो”, उहाँले भन्नुभयो, “किनेर चलाउनु पर्दा व्यवसाय धान्न अप्ठ्यारो परिरहेको छ, कोइलाको बन्दोबस्त कतैबाट नहुँदा व्यवसाय कसरी धान्ने भन्ने पिरलो छ ।”

उहाँले अहिले कोइला किनेर दुःखसुखले पुर्ख्याैली व्यवसाय धानिरहनुभएको छ । हँसिया, कोदालो, कुटो, बञ्चरोलगायत फलामबाट बन्ने घरायसी प्रयोजनका सबैजसो औजार बनाउनुहुन्छ । पाल्पाको प्रख्यात बगनासे साँचोसमेत उहाँले तयार पार्नुहुन्छ । उहाँले न्यूनतम रु दुई सयदेखि एक हजार तीन सय मूल्यसम्मका सामग्री तयार पारेर बिक्री गर्नुहुन्छ । उहाँ यस व्यवसायबाट मासिक ३० हजार रुपैयाँ बराबरको कमाई गर्दै आउनुभएको छ ।

उहाँ भन्नुहुन्छ, “बाउबाजेबाट सीप सिकेर अहिलेसम्म निरन्तरता दिइरहेको छु, आरनबाटै घरखर्च चलाइरहेको छु, व्यावसायिक रुपमा काम गर्ने कम छन्, दैनिक घरायसी प्रयोजनका लागि चाहिने सामग्री भएकाले टाढा टाढाबाट ग्राहक खोजी खोजी आउँछन् ।”

अहिले उहाँले भैंसी बाँध्ने गोठमा आरन व्यवसाय चलाइरहनुभएको छ । व्यवसायमा वेल्डिङ्ग मेशिन, काट्ने मेशिन, छेड्ने मेशिन, कोइलाको आवश्यकता रहेको हुँदा विभिन्न सङ्घसंस्थाबाट उहाँले सहयोगको अपेक्षा गर्नुभएको छ । सबैले छाड्दै गएको अवस्थामा आफूले भने यो व्यवसायलाई सकेसम्म नछाड्ने अठोट राख्नुभएको छ ।

उहाँले घरमा तयार पारिएका विभिन्न सामग्री तानसेनको नारायणस्थान बजारको सडक छेउमा बसेर बिक्री गरिरहनुभएको छ । विश्वकर्मा विभिन्न स्थानमा हुने मेला महोत्सवमा बिक्रीका लागि सामग्री बोकेर पुग्नुहुन्छ । गाउँघरमा लोप हुँदै गरेको यस व्यवसायमा आफू सन्तुष्ट रहेको उहाँ बताउनुहुन्छ ।

गाउँघरमा भने पछिल्लो समय आरन चलाउने युवा कोही पनि छैनन् । विश्वकर्मा समुदायका पाका पुस्ता आरन व्यवसाय लोप हुँदै जाँदा चिन्ता व्यक्त गरिरहेका छन् । स्थानीय सरकारले कोइला र आरन व्यवसायका लागि आवश्यक पर्ने औजार र छाप्रो व्यवस्थापनमा सहयोग गरिदिए व्यवसायलाई व्यवस्थित बनाउने सम्बद्ध व्यवसायीको माग छ । घरमै बसेर जुनसुकै समय व्यवसाय चल्ने भएकाले यसबाट राम्रै कमाउन सकिन्छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया