चीनमा विदेशीमाथि लगाइएका भिसा प्रतिबन्ध हट्यो

 फागुन ३०, २०७९ मंगलबार १५:७:१४ | एजेन्सी
unn.prixa.net

तस्बिर : फ्रान्स २४

चीनले कोभिड–१९ महामारी फैलिएपछि विदेशीमाथि लगाइएको यात्रा प्रतिबन्ध पूर्णरूपमा हटाएको छ । भोलि बुधवारदेखि विदेशी पर्यटकहरूलाई भिसा जारी गर्ने चीनको विदेश मन्त्रालयलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

काेरोना महामारी नियन्त्रण गर्न सरकारले केही महिना अघिसम्म कठोर शून्य कोभिड रणनीति अवलम्बन गरेको थियो । सरकारको पछिल्लो निर्णयले बाहिरी संसारका निम्ति चीन पुनः खुलेको छ ।

चिनियाँ विदेश मन्त्रालयले जारी गरेको सूचनामा नयाँ भिसा आवेदनको समीक्षा र स्वीकृतिका साथै २०२० को मार्च २८ अघि जारी गरिएका तर म्याद नगुज्रिएका भिसावाहकले पुनः चीनमा प्रवेश गर्न पाउने उल्लेख छ । सरकारले जारी गरेको भिसासम्बन्धी अद्यावधिक नीतिले पानी जहाजबाट शङ्घाई आउनेहरूका साथै हङकङ, मकाउ र आसियान क्षेत्रीय समूहभित्रका देशका निश्चित पर्यटक समूहहरूका लागि विना भिसा यात्राको अनुमति दिएको छ ।

राष्ट्र सङ्घीय विश्व पर्यटन सङ्गठनका अनुसार काेराेना महामारी सुरु हुनुअघि अर्थात् सन् २०१९ मा छ करोड ५७ लाख अन्तर्राष्ट्रिय पर्यटकले चीन भ्रमण गरेका थिए । विश्वका धेरैजसो देशले महामारीका कारण बन्द गरिएको यात्रा अनुमति पुनः खुला गरेपछि चीनले पनि गएकाे वर्षको अन्त्यतिर यात्रा अनुमति दिएको हो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया