शिक्षकले जाँड–रक्सी खाए/नखाएकाे परीक्षण गर्न उपकरण किन्दै हलेसी तुवाचुङ

 चैत ८, २०७९ बुधबार १५:३:५८ | रासस
unn.prixa.net

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले जाँडी–रक्सी खाए/नखाएको परीक्षण गर्न उपकरण खरिद गर्ने निर्णय गरेको छ । नगरभित्र सञ्चालित कतिपय विद्यालयका शिक्षक दिनहुँ जाँड–रक्सी खाएर कक्षामा पुग्ने गरेको गुनासो आएकाले नगरपालिकाको ९८ औँ कार्यपालिका बैठकबाट मापसे परीक्षण गर्ने सात वटा ब्रेथलाइजर उपकरण खरिद गर्ने निर्णय गरिएको हो । 

मापसे परीक्षण गर्ने छ उपकरण नगरपालिकाभित्रका छ वटा प्रहरी चौकी र एउटा नगर अस्पतालमा राखेर प्रयोगमा ल्याउने निर्णय गरिएको हलेसी तुवाचुङकी मेयर विमला राईले बताउनुभयो । ‘विगतका वर्षमा वार्षिक परीक्षाका लागि खटाइएका शिक्षकले नै जाँड–रक्सी खाएर प्रश्नपत्र सिरानी लगाएर सुतेको घटना छन्’, उहाँले भन्नुभयो, ‘कतिपय स्वास्थ्य संस्था र वडा कार्यालयका कर्मचारीसमेत जाँड–रक्सी खाएर कार्यालयमा अनियमित हुने गरेका गुनासो छ, यी सबै गुनासोलाई सम्बोधन गर्ने उद्देश्यले मापसे परीक्षण गर्ने ब्रेथलाइजर खरिद गर्ने निर्णय गरिएको हो ।’

जाँड–रक्सी खाएर सार्वजनिकस्थलमा हुने झैझगडामा संलग्नको जाँचमा समेत उपकरणलाई उपयोगमा ल्याउने तयारी छ ।    

ब्रेथलाइजरकाे अभावमा अहिलेसम्म स्वास्थ्य संस्थादेखि इलाका प्रहरी कार्यालय हलेसीमा समेत मुख सुँघेर जाँच गर्नुपर्ने बाध्यता अन्त्यका लागि पनि उपकरण खरिद गर्ने निर्णय गरिएको जनाइएको छ । मध्यपहाडी लोकमार्गले छोएको नगरपालिकामा चालकले जाँड–रक्सी खाए/नखाएकाे पत्ता लगाउनसमेत उपकरण सहयोगी हुने नगरपालिकाले जनाएको छ । 

आवश्यक परेको समयमा जाँड–रक्सी खाने सबैको जाँच गर्न उपकरणको प्रयोग गरिने मेयर राईले बताउनुभयो । विशेषगरी शिक्षकलाई लक्षित गरेर ब्रेथलाइजर ल्याउने निर्णय गरिएको हो । १० वटा पालिका रहेको खोटाङमा अहिलेसम्म जाँड–रक्सी खाए/नखाएकाे परीक्षण गर्ने डिजिटल उपकरण छैन ।     

ट्राफिक प्रहरी कार्यालयमा कसैले जाँड–रक्सी खाए/नखाएकाे परीक्षण गर्न कम्तीमा पाँच/सात मिनेट लाग्ने पुरानो प्रविधिको उपकरणमात्र रहेको ट्राफिक प्रहरी प्रमुख हिमालय पौडेलले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया