काठमाण्डाै महानगरले न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने

 चैत ९, २०७९ बिहिबार २०:२९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले चैत १५ र १६ गते न्यायिक समिति राष्ट्रिय सम्मेलन–२०७९ गर्ने भएको छ । 

महानगरले बिहीवार पत्रकार सम्मेलन गर्दै स्थानीय विवाद निरूपणमा न्यायिक समितिले सम्पादन गरेका काम, प्राप्त गरेका सफलता, भोगेका समस्या र चुनौतीसम्बन्धी आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागेको जानकारी दिएकाे हाे । महानगरकी उपमेयर सुनिता डंगोलले देशभरमा पालिकाका न्यायिक समितिलाई प्राप्त संवैधानिक तथा अन्य कानुनी प्रबन्ध र उपयोगमा समान बुझाइ विकास गर्न सम्मेलन आयोजना गर्न लागेको बताउनुभयो । 

उपमेयर डंगोलले देशभरमा महानगर, नगरपालिका र गाउँपालिकाका न्यायिक समितिले भोगेका समस्या र चुनौतीको बारेमा जान्ने प्रयास गर्न लागेको बताउनु भयो । उहाँले सम्मेलनमा न्यायिक समितिको अवधारणा, विभिन्न कानुनमा भएका न्यायिक समितिसम्बन्धी व्यवस्था, न्याय सम्पादनमा न्यायिक समितिको क्षेत्राधिकार र प्रचलनकाे विषयमा कार्यपत्र प्रस्तुत हुने उल्लेख गर्नुभयो । उहाँले सम्मेलनको दुई दिनसम्म छलफल भएका विषयलाई समेटेर विवाद निरूपण काठमाण्डाै घोषणापत्र जारीसमेत गर्ने जानकारी दिनुभयो । डंगोलले सम्मेलनमार्फत देशभरमा न्यायिक समितिले गर्ने काममा एकरूपता ल्याउने काम गर्न सहयोग पुग्ने बताउनुभयो ।

सम्मेलनमा अहिलेसम्म देशभरका चार सय ५० पालिकाका न्यायिक समितिका संयोजक वा प्रतिनिधि सहभागी हुने निश्चित भएको छ । सम्मेलनबाट मेलमिलापका माध्यमबाट समाधान गर्न सकिने विवाद र यसका लागि अपनाउनुपर्ने विधि, मेलमिलाप र निर्णय प्रक्रियाका बारेमा समान बुझाइ विकास हुने अपेक्षा गरिएको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया