एक्लै बहुमत ल्याउन 'मिसन ग्रासरुट' : अध्यक्ष ओली

 चैत १०, २०७९ शुक्रबार १७:२८:१७ | रासस
unn.prixa.net

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदाे आम चुनावमा एमाले एक्लैले कम्तीमा ५१ प्रतिशत बहुमत सिट जित्ने लक्ष्यका साथ पार्टीले 'मिसन ग्रासरुट' अभियान सञ्चालन गरेको जिकिर गर्नुभएकाे छ ।

झापामा सञ्चालन भइरहेको 'मिसन ग्रासरुट' अभियानको आज शुक्रवार आयोजित मध्यावधि समीक्षा भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अनुशासित, विनम्र र साथी बनेर गाउँमा जान निर्देशन दिनुभयो । ‘आउँदाे चुनावमा एमाले एक्लैले बहुमत हासिल गर्ने उद्देश्य सफल बनाउन यो अभियान सुरु गरिएको हो’, उहाँले भन्नुभयो, ‘तपाईँहरू ग्रासरुट अभियानमा कार्यकर्ताको घरआँगनमा पुग्दा तपाईँहरूको व्यवहार मालिकजस्तो होइन, साथीजस्तो हुनुपर्छ ।’

एमालेविरुद्ध केन्द्रमा १० दलीय गठबन्धन बनाए पनि आम नागरिक एमालेकै पक्षमा रहेको ओलीकाे दाबी थियो । अभियानले आन्तरिक पार्टी जीवनको अन्तरविरोधहरूको समाधान गर्दै एमालेलाई देशको सबैभन्दा बलियो, जनाधारयुक्त र अनुशासित राजनीतिक शक्तिका रूपमा स्थापित गराउने उहाँले बताउनुभयो । 

एमाले अध्यक्ष ओलीले कुनै कमी–कमजोरी भए भने आफ्नो पनि आलोचना गर्न कार्यकर्तालाई आह्वान गर्नुभयो । ‘मेरा पनि कमजोरी छन्, आनीबानी र व्यवहारमा कुनै पनि कमजोरी देख्नुहुन्छ भने भन्नुहोस् भनेर आमसभाबाट आह्वान गर्न सक्ने एमाले अध्यक्षमात्रै हो’, उहाँले भन्नुभयो, ‘मलाई नजिकैबाट हेर साथीहरू, कुनै दाग धब्बा देखियो भने औँल्याउँ भन्न चाहन्छु ।’

फरक प्रसङ्गमा उहाँले कोशी प्रदेशको नामाकरण कुनै पार्टी र जाति विशेषसँग नजोडिएको हुँदा यसको विरोध गरिरहेकाहरूलाई समेत एमालेका कार्यकर्ताले सम्झाउनुपर्ने बताउनुभयो ।

गृह जिल्ला झापाको 'मिसन ग्रासरुट' अभियान गएकाे फागुन १० गते सुरु भएको थियो । जिल्लाका १५ पालिका र एक सय ३१ वटा वडा तहमा अभियान सञ्चालन भइरहेको एमाले झापाका अध्यक्ष दीपक कार्कीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया