झापाकाे बाहुनडाँगीमा हात्तीमैत्री ‘सामूहिक खेती’

 चैत १४, २०७९ मंगलबार ८:४२:५२ | रासस
unn.prixa.net

झापा - जङ्गली हात्तीको क्षतिबाट आजित झापाको बाहुनडाँगीका किसानले हात्तीमैत्री अवधारणाअन्तर्गत सामूहिक खेती सुरुआत गरेका छन् । बालीमा गाईभैँसी र बाख्रालाई जस्तो हात्तीको प्रवेशलाई निषेध गर्न नसकेपछि हात्तीमैत्री अवधारणा प्रयोगमा ल्याइएको स्थानीयवासी बताउँछन् । 

मेचीनगर नगरपालिका वडा नं ४ को प्रधानगाउँका ५० वर्ष उमेर नाघेका २६  किसानले हात्तीमैत्री किसान समूह गठन गरी अढाई बिघा जग्गा भाडामा लिएका छन् । जग्गामा किसानले तरकारी खेती लगाएका छन् । भर्खरै उनीहरूले आलु फलाएका छन् भने भिण्डी, टमाटर, घिरौला, बोडी, फर्सी, लौका, सिमरायोको सागलगायतका सब्जीको बिरुवा हुर्काइरहेका छन् ।

किसान समूहका अध्यक्ष देवीप्रसाद आचार्यका अनुसार खेतीका लागि हरेक सदस्यबाट पाँच हजार रुपैयाँका दरले बीउ पुँजी सङ्कलन गरिएको छ भने समूहलाई वडा कार्यालयले एक लाख ५० हजार रुपैयाँ अनुदान दिएको छ ।

'हात्तीसँग दुश्मनी गरेर होइन, सहअस्तित्वलाई स्वीकार गरेर अब हामी मानव–हात्तीबीच मैत्रीपूर्ण वातावरण बनाउने प्रयासमा लागेका छौँ', मेचीनगर वडा नं ४ का अध्यक्ष अर्जुनकुमार कार्कीले भन्नुभयो, 'हात्ती र मान्छेबीच खुनी सङ्घर्ष भएको धेरै वर्ष भइसक्यो । धेरै मानिस र हात्तीले ज्यान गुमाएका छन् । अब दुवैले बाँच्ने वातावरण बनाउन जरुरी छ ।'

‘किसानको हात, वडाको साथ’ कार्यक्रमअन्तर्गत वडा कार्यालयले हात्तीमैत्री किसान समूह गठनलाई सामूहिक सब्जी खेतीमा प्रोत्साहित गरेको हो । वडाका विभिन्न टोलमा सामूहिक खेतीलाई विस्तार गर्ने र पालिकाबाट समेत अनुदान दिलाउने अभियानमा जुटिरहेको वडाध्यक्ष कार्की बताउनुहुन्छ ।

सब्जी खेती गर्न भाडामा लिइएको जग्गा वार्षिक ३५ हजार रुपैयाँ भाडा तिर्ने गरी १० वर्षका लागि लिइएको हात्तीमैत्री किसान समूहका अध्यक्ष आचार्यले बताउनुभयो । किसानले जग्गा वरिपरि अहिले तरुल रोपेका छन् । बजारमा बिक्ने र हात्तीले भरसक नोक्सानी नगर्ने खालका तरकारी बालीको उत्पादनमा किसानले जोड दिएका छन् ।

हात्तीले नष्ट नगर्ने कोदो, तोरी, रहरी दाल, अदुवा, बेसार, पिँडालुजस्ता तरकारीको खेतीमा किसान लागेका छन् । सामूहिक खेतीको बालीमा पसेर हात्तीले नष्ट गरिदिएमा सबै सब्जीको क्षतिपूर्ति दिलाउन पालिकाले सहयोग गर्ने वडाध्यक्ष कार्कीले बताउनुभयो ।

'हात्तीको क्षति रोक्न सकिँदैन भन्नेमा हामी लगभग सहमत भइसक्यौँ', समूहका सदस्य एवं किसान धनपति गौतमले भन्नुभयो, 'हात्तीले खाएर नष्ट गर्यो भने बीमाबाट क्षतिपूर्ति भराउँछौँ । तरकारी बालीको बीमा गर्छौँ । जतिपटक हात्तीले खाएर बिगार गरे पनि हामी नोक्सानीमा पर्दैनौँ ।'

नगरपालिका बैठकले हात्तीबाट किसानको बालीनाली क्षति भएमा क्षतिपूर्ति दिलाउन बाली बीमा गरिदिने निर्णय गरेको वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो । मेचीनगरमा यस्तो बाली बीमा कार्यक्रम आगामी आर्थिक वर्षदेखि मात्र लागू हुने बताइएको छ ।

कृषि प्राविधिक करण अधिकारीले मानव–द्वन्द्वबाट झापामा सबैभन्दा बढी प्रभावित मानिएको बाहुनडाँगीमा स्थानीय किसानले सुरु गरेको सामूहिक खेती जिल्लाका अरु पालिकाका लागि अनुकरणीय बन्ने बताउनुभयो । किसानले उत्पादन गरेका सब्जीको बजारीकरणमा समस्या भए स्थानीय सरकारले यसको जिम्मा लिनेसमेत वडाध्यक्ष कार्कीले आश्वासन दिनुभएको छ ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया