लामखुट्टेले टोक्न नसक्ने तथा हुर्कन नसक्ने वातावरण बनाउन सक्याैँ भने डेङ्गीबाट बच्न सकिन्छ

 चैत २२, २०७९ बुधबार १२:५३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

नेपालमा २०६१ सालदेखि कुनै न कुनै रूपमा डेङ्गीका बिरामी देखिइरहेका छन् । यस अर्थमा कुनै वर्ष केस धेरै देखिन्छ भने कुनै वर्ष सामान्य अवस्थामा रहन्छ । त्यस आधारमा गएको महिना अलि धेरै सङ्ख्यामा डेङ्गीका बिरामी देखिए । हामीले पुरानो तथ्याङ्क हेर्‍याैँ भने पुस, माघ महिनामा केही बिरामी कम हुने देखिने गरेको थियो । यो वर्ष अथवा माघदेखि फेरि देशका कतिपय जिल्लाबाट डेङ्गीका बिरामी आउने क्रम देखिएको छ । यो तीन महिनाको सेरोफेरोमा तीन सयभन्दा माथि डेङ्गीका बिरामीको केस देखिएको छ । यस अर्थमा यो प्रि–मनसुन अर्थात् वर्षा सुरु हुनुभन्दा अगाडि पानी परिरह्यो भने पहिले नै रहेका अन्डाबाट फेरि लामखुट्टे बन्ने र त्यसले आफ्नो सन्तान उत्पादन गर्ने क्रम जारी रहन्छ । तुलनात्मक रूपमा यो वर्ष केस अलि छिटो देखिन खोजेको हाे भन्न सकिन्छ ।

अहिले तीन महिनाको मात्र तथ्याङ्क हेर्ने हो भने अघिल्ला वर्षहरूमा झन्डै सयको हाराहारीमा केस देखिने गरेकोमा अहिले तीन सय केस देखिनु भनेकाे सङ्ख्या बढेकै हो । 

यसभन्दा अघि डेङ्गीको सङ्क्रमणको बेला ७७ वटै जिल्लामा केस देखिएका थिए भने अहिले ५२ जिल्लाका एक सय १२ पालिकामा केस देखिएका छन् । अहिले यो तीन महिनामा काठमाण्डौ उपत्यकामा केस कम छ, ५० भन्दा कम केस देखिएकाे छ । केही पहाडी जिल्लाहरू जस्तै– दार्चुला, म्याग्दीलगायतका जिल्लामा केस बढेकाे छ । कतिपय जिल्लामा फाट्टफुट्ट एक/दुई वटा केस देखिएकाे छ । 

लामखुट्टेका अन्डा सुक्खा अवस्थामा पनि झन्डै नौ महिनासम्म पनि बाँच्न सक्छन् र अन्डाले पानी पाउने बित्तिकै उनीहरूको जीवनचक्र फेरि सुरु हुनसक्छ । तीन/चार महिना अगाडि डेङ्गी प्रकोपको रूपमा पनि थियो । यत्रतत्र छरिएर रहेका, सुक्खा अवस्थामा रहेका अन्डामा थोरै मात्र पनि कहीँबाट पानी पर्ने बित्तिकै त्यहीँबाट त्यसको जीवनचक्र सुरु हुने र त्यसबाट सन्तान उत्पादन क्रम जारी रहन्छ । त्यो हिसाबमा तुलनात्मक रूपमा केस देखिएको छ । अहिले देखिएका केस पहिले देखिएका केसको अवशेष हो कि भन्ने अनुमान हो । 

सामान्यतया डेङ्गी भाइरसबाट हुने रोग भएका कारणले अन्य भाइरसमा जस्तो प्रकृतिको लक्षण देखिने हो यसमा पनि त्यस्तै प्रकृतिको लक्षण देखिन्छ । धेरै ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, शरीर गलेको जस्तो हुने अथवा कसै–कसैलाई पेट दुख्ने, बान्ता हुने प्रकृतिका लक्षणहरू देखिन्छन् । अलि जटिल प्रकृतिका लक्षणहरू भनेको शरीरका विभिन्न ठाउँबाट रक्तश्राव हुने, बेहोस हुने र ज्यानै जाने सम्भावना पनि हुन्छ । त्यस आधारमा अहिले पनि देखिएका डेङ्गीका बिरामीको लक्षण उस्तै हो, खासै फरक रहँदैन । तर हामी बेलैमा सचेत भएर पूर्वतयारी भने गर्नुपर्छ । 

हामीले यस पटक जुन जुन पालिकाको जुन जुन वडामा केस देखिएका छन् ती सबै पालिकालाई पत्राचार गरेका छौँ । केस देखिएका पालिकाका वडाबाट डेङ्गीको तथ्याङ्क आएको हुनाले ती वडामा नागरिक तहसम्म गएर सचेतना गर्ने र डेङ्गी सार्ने लामखुट्टेको वासस्थानलाई व्यवस्थित गर्नुपर्‍याे पनि भनेका छौँ । प्रदेश र पालिकाका स्वास्थ्य हेर्ने सचिव तथा अन्य पदाधिकारी, गएको वर्ष धेरै केस देखिएका पालिकाका पदाधिकारीसँग बसेर गएको वर्षको शिक्षाका कारण बलियो पक्षलाई अझ सबल बनाउने र कमजोर पक्षलाई सुधार गर्दै अब पूर्ण तयारीमा रहनुपर्छ र बेलैमा तयारी गर्‍याैँ भने नियन्त्रण गर्न सकिन्छ भन्ने अभिप्रायले छलफल गरिसकेका छौँ । 

डेङ्गीकाे लक्षण नदेखिन पनि सक्छ । र लक्षण देखिएका बिरामीले ज्वरो आयो, टाउको दुख्यो वा मांसपेशी दुख्यो भनेर जथाभाबी दुखाई कम गर्ने प्रकृतिका औषधिहरू खान हुँदैन । सामान्य सिटामोल खाएर ज्वरो नियन्त्रणको प्रयास गर्नुपर्‍याे भने नजिकको स्वास्थ्य संस्था वा अस्पतालहरूमा डाक्टरसँग परामर्श लिनुपर्छ । 

केस व्यवस्थापनका लागि सबैभन्दा पहिलो उपाय भनेको त लामखुट्टेकाे टाेकाइबाट बच्ने नै हाे । लामखुट्टेले टोकेन वा लामखुट्टे हुकर्न सक्ने वातावरण हाम्रो घर वरपर भएन भने रोगबाट बच्न सकिन्छ । त्यसका लागि रोकथाममा हामी सबै सचेत हुनुपर्छ । 

डेङ्गीबाट जोगिनका लागि सरकारका तहबाट मात्र नभएर नागरिकका तहबाट पनि सचेतीकरणको सुरुवात गर्नुपर्छ । लामखुट्टेले नटोक्ने वातावरण बनाउनका निम्ति घर वरपर लामखुट्टे हुर्कन सक्ने वातावरणलाई बढ्न नदिने, पानी जम्ने ठाउँहरूलाई व्यवस्थित गर्ने, घरमा पानी सञ्चय गर्नुपर्ने छ भने त्यसलाई पनि व्यवस्थित गर्ने, धेरै दिनसम्म लगातार एउटै भाँडोमा पानी नराख्ने जस्ता कामहरू गर्नुपर्छ । डेङ्गीको लामखुट्टे सफा पानीमा बस्ने र अन्डा पनि त्यहीँ पार्ने हुनाले गमला, कुलर वा एसीको पानीलाई पनि व्यवस्थित गर्नुपर्छ । लामखुट्टेले टोक्ने वातावरण नबनाउने र लामखुट्टे हुर्कन नसक्ने तथा बस्न सक्ने वातावरणलाई नियन्त्रण गर्न सक्याैँ भने यो रोगबाट सजिलै बच्न सकिन्छ ।

इपिडियोमलोजी तथा किटजन्य शाखाका प्रमुख डा. गाेकर्ण दाहालसँग गरिएकाे कुराकानीमा आधारित

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया