नेपालको विकास र समृद्धिमा सक्दो सहयोग गर्ने चीनको आश्वासन

 चैत २५, २०७९ शनिबार ७:५१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चीनले नेपालको विकास र समृद्धिमा सक्दो सहयोग गर्ने आश्वासन दिएको छ । हिजो चीनको राजधानी बेइजिङमा भएको परराष्ट्रसचिवस्तरीय द्विपक्षीय कुटनीतिक परामर्श संयन्त्रको १५औँ बैठकमा चीनले यस्तो आश्वासन दिएको हो ।

बैठकमा राजनीतिक, आर्थिक, जनस्तरको सम्बन्धलगायत सबै क्षेत्रमा छलफल भएको चीनमा रहेको नेपाली दूतावासले जनाएको छ । दूतावासकाअनुसार नेपालमा चिनियाँ अनुदानका परियोजनाको समयबद्ध कार्यान्वयन गर्न दुवै पक्ष सहमत भएका छन् ।

यस्तै, चिनियाँ अनुदान सहयोगमा निर्माण भइरहेका विभिन्न पूर्वाधार विकास आयोजना र चिनियाँले ठेक्का लिएका आयोजना समयमै सम्पन्न गर्न कार्यान्वयनलाई तीव्रता दिनुपर्नेमा सहमति पनि भएको छ ।

नेपालले चिया, कफी, जडीबुटी, राँगा/भैँसीको मासु तथा कृषिजन्य वस्तुलाई चीनमा निर्यातका लागि वातावरण बनाइदिन गरेको आग्रहमा चिनियाँ पक्षले सकारात्मक रूपमा लिएको जवाफ दिएको छ । बैठकमा दुई देशबीच आर्थिक साझेदारी, व्यापार प्रवर्द्धन, लगानी र पर्यटन, कनेक्टिभिटी निर्माण, कृषि, शिक्षा, सांस्कृतिक तथा जनस्तरको सम्बन्धबारे छलफल भएको नेपाली दूतावासले जनाएको छ।

यस्तै, दुई पक्षबीच जनसम्पर्क तथा सांस्कृतिक सहयोग प्रवर्द्धन, नेपाली विद्यार्थी तथा पेसाकर्मीलाई चीनमा छात्रवृत्तिको सङ्ख्या बढाउने, नेपालका प्राविधिक विज्ञहरूको क्षमता बढाउनेलगायत विषयमा पनि छलफल भएको छ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रसचिव भरतराज पौड्याल र चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको परराष्ट्र मन्त्रालयका उपमन्त्री सुन वेइदोङले गरेका थिए । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया