५९ जिल्लाका विद्यालयमा पुग्याे किताब

 बैशाख ४, २०८० सोमबार १५:४७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नयाँ शैक्षिक सत्र सुरु भएसँगै देशभरका ५९ जिल्लाका विद्यालयमा किताब (पाठ्यपुस्तक) पुगेको छ । गएकाे चैत २४ गतेदेखि वैशाख ३ गतेसम्म देशभरका ५९ जिल्लाका विद्यालयमा किताब पुगेको जनक शिक्षा सामग्री केन्द्रले बताएको छ ।

आज सोमवार किताब बिक्री–वितरण र छपाइकाे विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनक शिक्षा सामग्री केन्द्रमा अनुगमन गरेको छ । अनुगमनपछि केन्द्रका प्रबन्धक अनिलकुमार झाले नयाँ शैक्षिक सत्रमा सबै विद्यार्थीको हातमा किताब पुर्‍याउने गरी काम भइरहेको बताउनुभयो । उहाँले केन्द्रले कक्षा ६ देखि १० सम्मका एक करोड ५० लाख किताब छपाइको काम सम्पन्न गरी बिक्री–वितरण गरिरहेको जानकारी दिनुभयो । उहाँले अहिलेसम्म ५९ जिल्लाका विद्यालयमा किताब पुगेकाे र अब बाँकी १८ जिल्लामा वैशाख १५ गतेसम्म किताब पुग्ने बताउनुभयो ।

प्रबन्धक झाले ढुवानीमा समय लाग्ने हिमाली र पहाडी दुर्गम जिल्लाहरूलाई प्राथमिकतामा राखेर किताब बिक्री–वितरण गरेको बताउनुभयो । पुस्तक छपाइ गर्ने मेशिन, जनशक्ति, बजेट र कच्चा पदार्थको व्यवस्थापन समयमा नै गर्न सकेकाले यो वर्ष विद्यालय सञ्चालन हुनुभन्दा पहिले नै किताब पुर्‍याउन सफल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जनक शिक्षा सामग्री केन्द्रले कक्षा ६ देखि १० कक्षासम्मको किताब छपाइको काम सम्पन्न गरेको छ । केन्द्रले एक करोड ५० लाख पुस्तक प्रकाशन गर्नुपर्नेमा पूरै काम सम्पन्न गरिसकेकाे छ । गएकाे २४ गतेदेखि २०८० वैशाख ३ गतेसम्म ५९ जिल्लामा पुस्तक बिक्री–वितरण सम्पन्न गरिसकेका छौँ । बाँकी १८ जिल्लामा पनि वैशाख १५ गतेसम्म किताब पुग्छ ।’

प्रबन्धक झाले राष्ट्रिय वाणिज्य बैंकबाट ७५ करोड र नागरिक कोषबाट १० करोड गरी ८५ करोड रुपैयाँ ऋण लिएर पुस्तक छपाइ गरेको जानकारी दिनुभयाे । उहाँले पुस्तक बिक्री–वितरण गरेसँगै ४० करोड रुपैयाँ ऋण चुक्ता गरिसकेको पनि बताउनुभयो । प्रधानमन्त्री कार्यालयबाट भएको सहयोगले पनि पुस्तक छपाइमा थप सहज भएको उहाँकाे भनाइ छ । 

केन्द्रले केन्द्रीय कार्यालयबाट कक्षा ६ देखि १० सम्मका १६ लाख १३ हजार नाै सय ५४, प्रादेशिक कार्यालय विराटनगरबाट पाँच लाख ७३ हजार १४, प्रादेशिक कार्यालय जनकपुरबाट पाँच लाख ७० हजार सात सय ४६, प्रादेशिक कार्यालय भरतपुरबाट १२ लाख सात हजार नाै सय २०, प्रादेशिक कार्यालय पोखराबाट ७ लाख ७५ हजार छ सय, प्रादेशिक कार्यालय बुटवलबाट छ लाख ३४ हजार चार सय ७४, प्रादेशिक कार्यालय नेपालगञ्जबाट १० लाख ३८ हजार, प्रादेशिक कार्यालय सुर्खेतबाट तीन लाख ५२ हजार दुई सय र प्रादेशिक कार्यालय धनगढीबाट सात लाख छ हजार चार सय ८१ गरी ७४ लाख ७२ हजार तीन सय ८९ वटा किताब बिक्री–वितरण भएको जनाएकाे छ ।

केन्द्रका अनुसार सोलुखुम्बु, धनकुटा, मोरङ, सुनसरी, झापा, सिरहा, सर्लाही, बारा, पर्सा, रुपन्देही, बाँके, बर्दिया, दैलेख, सुर्खेत, डोटी, डडेल्धुरा, कञ्चनपुर र कैलालीका विद्यालयमा किताब पुग्न बाँकी छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • राजेन्द्र राज राजेन

    April 17, 2023, 4:25 p.m.

    मतपत्र भए त ७७ वटै जिल्लामा पुगिसक्थे ।

  •  0 Reply

तपाईको प्रतिक्रिया