चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाडौं – ‘कतै म आफैंले बनाएको बाकसमा फर्किनु पर्ने त हैन,’ मलेसियामा कफिन बनाउदा सिन्धुलीका पीताम्बर घिमिरेलाई यही कुराले मन घोच्थ्यो । सम्झिदा आङ झिरिङ हुन्थ्यो ।
काम नगरी सुखै थिएन । अर्को काम गर्ने विकल्प पनि थिएन । यो काम पनि पीताम्बरले मलेसिया पुगेको ३ महिनापछि पाउनुभएको थियो । कम्पनीको सरसफाई गर्ने कामबाट बढुवा त भयो तर लास हाल्ने बाकस बनाउने काममा ।
नेपालमा हुँदा पीताम्बरलार्इ विदेश सम्झने बित्तिकै टल्किने बाकसमा पो फर्किनु पर्ने हो कि भन्ने लाग्थ्यो । त्यसैले विदेश जाउँ कि नजाउँ भनेरमा दोधारमा पनि पर्नुहुन्थ्यो । तर विदेश जानुको विकल्प पनि थिएन उहाँसँग । विदेश जादैमा मरिन्छ भन्ने डरलाई विदेश पुगेपछि कमाइ हुने सपनाले पुरिदियो ।
पिताम्बर २०६३ सालमा मलेसिया जानुभयो । मलेसिया पुगेपछि राम्रो कमाइ होला भन्ठानेर उडेका पीताम्वरलाई सोचेजस्तो भएन । तीन महिना कार्यालयमा कुचो लगाउने, पुछ्ने काम गर्नुभयो । त्यसपछि सुरु भयो बाकस बनाउने काम ।
पीताम्बरले काम गर्ने कम्पनीमा बनेका बाकसको माग मलेसिया मात्रै थिएन् । साउदी, कतार, कुवेत, बहराइन लगायतका देशले पनि ती देशमा ज्यान गएका विदेशी कामदारको लास त्यही कम्पनीमा बनेका बाकसमा पठाउँथे ।
अरु देशमा ज्यान गुमाएका कामदारहरुका लागि पनि बाकस बनाउनु पर्दा पीताम्बरलाई निक्कै सकस हुन्थ्यो । ‘कामले होइन् भावनाले गर्दा’ उहाँले सकस हुनुको कारण पनि खुलाउनुभयो ।
‘बाकसमा लागि प्लाइ तयार पार्दा मनमा के के सोच आउँथ्यो, म जस्तै कमाउन आएको त थ्यो होला जस्तो लाग्थ्यो, आँसु आउँथ्यो,’ पीताम्बरले बाकस बनाउँदाको पीडा सम्झिनुहुन्छ ।
दुईचार पैसा कमाउनकै लागि घर छोडेर परदेश पुगेका बाकसमा फर्किंदा बाकससँगै परिवारका सपना र रहर पनि सधैंका लागि बन्द हुन्छन् । अरुलाई पठाउने बाकस बनाउँदा पीताम्बरलाई यस्तै लाग्थ्यो ।
मनमा अनेक तर्क बिर्तक आउँथे । बाकस तयार भएपछि आँखा चिम्लेर छाम्नु हुन्थ्यो । ‘लासलाई कतै बिझाउने त होइन जस्तो लाथ्यो । हेर्दा राम्रो देखेपनि आँखा चिम्लेर छाम्दा चैं घोच्छ कि घोच्दैन होला जस्तो लागेर छाम्थें ।’ पीताम्बर भावुक हुनुभयो ।
बिहानदेखि बेलुकासम्म बाकस बनाएर कोठामा पुग्दा उहाँलाई दिक्क लाग्थ्यो । ‘दिउँसो बनेको बाकसमा कहाँको मानिसलाई पठाउने होला जस्तो लाग्थ्यो, मनै कस्तो हुने,’ पीताम्बरलाई आफ्नो काम सम्झिएर दिक्क लाग्थ्यो ।
तीन वर्षमा पीताम्बरका हातले कति वटा बाकस बनाएँ, कति मानिस त्यसमा कहिल्यै नउठ्ने गरी सुतेर फर्किए यकिन छैन । तर ३ वर्षसम्म बाकस बनाउँदा पीताम्बरले आफ्नो भविष्यको बाटो चाहिँ यकिन गर्नुभयो ।
मरेपछि चिटिक्क परेको बाकसमा सुताएर पठाउने विदेशीले बाचुञ्जेल कहिले सुख दिन्छन जस्तो लाग्दैन् । पीताम्बरले पनि कहिल्यै सुखको सास फेर्न पाउनुभएन । मलेसियाको विमानस्थलमा झर्दा सपनाले भरिएका पीताम्बरको आँखा भाषा नजान्दा, काम नजान्दा फोरम्यानले गरेका गालीले आँसु आँसु भए ।
कम्पनीमा कुचो लगाउनु पर्दा, पोछा पर्दा घर सम्झनुहुन्थ्यो । ८० हजार रुपैयाँ बुझएर मलेसिया पुगेका पीताम्बरलाई नकमाएपनि ऋण तिर्नै पर्ने बाध्यता थियो ।
‘नराम्रो गाली गर्ने, झम्टिएर कुट्न आउने, पैसा कमाउन आएको भन्ने,’ पीताम्बरलाई फोरम्यानले यस्ता व्यवहार गर्दा अर्काको देशमा बेक्कार आएँछु जस्तो लाग्थ्यो । भुन्नुहन्छ, ‘घरमा बाआमाले एक लबटा हिर्काएनन्, यसले यस्तो भन्ने भनेर म त रुन्थें ।’
मलेसियाले तोकेको ४ सय ८१ रिंगिट थियो पीताम्बरको तलब । ३ वर्ष काम गर्दापनि त्यो भन्दा बढेन । त्यसमा पनि खान बस्न सबै आफैंले गर्नुपर्ने । फोरम्यानको व्यवहार र बिरक्तलाग्दो काम गर्दा गर्दा हैरान भएका पीताम्बरलाई साप्ताहिक बिदाको दिन नेपालीसँग भेट्दा त दशैं आए झैं लाग्थ्यो ।
पीताम्बर २०६६ सालमा घर फर्कनुभयो । खेतीपाती गर्नुभयो । परिवारसँग दुई वर्ष बिताउनुभयो । २०६८ सालमा उहाँ फेरि मलेसिया नै जानुभयो । भाषा आउने अनि काम पनि फर्निचरकै भएकाले उहाँलाई पहिले जस्तो गाह्रो भएन ।
मलेसियाको जोहरबारुमा रहेको इभरग्रिन कम्पनीमा फर्निचरकै काम गर्नुभयो । तर पहिलेजस्तो बाकस बनाउने होइन । उहाँले पेपर काट्नुपथ्र्यो । ‘सबै काम मेसिनबाटै हुन्थ्यो तर साइज हेरेर मेसिन चलाउन पर्ने, बस्न चाहिँ पाइँदैनथ्यो,’ पीताम्बरले कामको बारेमा बताउनुभयो ।
अघिल्लो पटक ८० हजारमा मलेसिया पुगेपनि यो पालि उहाँले ९० हजार रुपैयाँ बुझाउन प¥यो । दुई वर्षपछि मलेसिया पुग्दा उहाँलाई मलेसियाले त रंग फेरे झैं लाग्यो ।
किनकी न्यनतम तलव नै ९ सय रिंगिट पुगेको थियो । पहिले ४८० रिंगिटका लागि १० घण्टा खटेका पीताम्बरले यो पालि ८ घण्टा काम गरेरै पनि ९ सय रिंगिट पाउनुभयो ।
काम र कमाइ राम्रो हुँदाहुँदै पनि पीताम्बर आमाको निधन भएपछि घर फर्कनुभयो । घर फर्कदा आफैंले टिकट काट्न प¥यो । २० महिना मलेसियामा काम गर्दाको ४ सय २० रिंगिट लेबि पनि तिर्नुपर्यो ।
मलेसियाको ५ वर्षको अनुभवले उहाँलाई घरमै पनि केहि गर्न सकिन्छ भन्ने आँट आयो । उहाँले फर्किएर कुनै व्यापार व्यवसाय त गर्नुभएको छैन तर परिवारको साथमा खुसी मिलेको छ भन्नुहुन्छ पीताम्बर ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।