नेपालमा गाउँपालिकाभन्दा नगरपालिकामा बस्नेकाे सङ्ख्या झन्डै दाेब्बरले बढी

 वैशाख १०, २०८० आइतबार १५:१०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालको कुल जनसङ्ख्यामध्ये नगरपालिकामा बस्ने जनसङ्ख्या सबैभन्दा बढी रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

आइतवार काठमाण्डाैमा पत्रकार सम्मेलन गरी केन्द्रीय तथ्याङ्क विभागले याे जानकारी दिएकाे हाे । पत्रकार सम्मेलनमा बोल्दै विभागका निर्देशक ढुण्डिराज लामिछानेले नगरपालिकामा बस्नेको जनसङ्ख्या एक करोड ९२ लाख ९६ हजार सात सय ८८ (६६ दशमलव २ प्रतिशत) रहेको बताउनुभयो । त्यस्तै गाउँपालिकामा बस्नेको सङ्ख्या ९८ लाख ६७ हजार सात सय ९० (३३ दशमलव ८ प्रतिशत) रहेको उहाँले बताउनुभयो ।

२०६८ को जनगणनाअनुसार नगरपालिकामा बस्नेको सङ्ख्या १७ दशमलव १ प्रतिशत थियो भने गाउँपालिकामा बस्नेको सङ्ख्या ८२ दशमलव ९ प्रतिशत रहेको थियो । नेपालको लैङ्गिक अनुपात प्रतिसय महिलामा पुरुषको सङ्ख्या ९५ दशमलव ५९ जना रहेको छ भने नगरपालिकाको ९६ दशमलव ०६ र गाउँपालिकाको ९४ दशमलव ६८ प्रतिशत रहेको छ । कुल जनसङ्ख्यामध्ये अन्य लिङ्गीको जनसङ्ख्या दुई हजार नाै २८ रहेका छन् भने याे सङ्ख्या नगरपालिकामा दुई हजार एक सय १८ र गाउँपालिकामा आठ सय १० जना रहेको निर्देशक लामिछानेले बताउनुभयो ।

२०६८ पछिको १० वर्षमा नेपालको वार्षिक औसत जनसङ्ख्या वृद्धिद्धर ० दशमलव ९२ प्रतिशत प्रतिवर्ष रहेको छ । नेपालमा कुल परिवारमध्ये पुरुष परिवारमुली रहेको परिवार ६८ दशमलव ५ प्रतिशत र महिला परिवारमुली रहेको सङ्ख्या ३१ दशमलव ५ प्रतिशत रहेको छ । नेपालमा जम्मा १५ लाख ५५ हजार नाै सय ६१ परिवारबाट २१ लाख ९० हजार पाँच सय ९२ जना परिवारमा अनुपस्थित रही विदेशमा बसोवास गर्ने पाइएको छ । 

नेपालमा १० वर्ष वा त्याेभन्दा बढी उमेरका कुल जनसङ्ख्याको ३३ दशमलव १ प्रतिशत व्यक्ति अविवाहित रहेका छन् । देशको कुल जनसङ्ख्याको २ दशमलव २ प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको छ । जनगणनाअनुसार जन्मस्थान र अहिलेकाे बसाेवास एउटै गाउँपालिका वा नगरपालिकामा भएका व्यक्ति ६९ दशमलव ० प्रतिशत रहेका छन् ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया