फ्लाई दुबईको विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण, आगो लाग्नुको कारण खुल्न बाँकी

 वैशाख १२, २०८० मंगलबार ७:९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - काठमाण्डाै विमानस्थलबाट टेकअफ गर्नेबित्तिकै इञ्जिनमा समस्या देखिएको फ्लाई दुबईको विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण भएको छ । दुबई अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ५७६ एफजेड उडान नम्बरको जहाज स्थानीय समयअनुसार गएराति १२ बजेर ११ मिनेटमा अवतरण भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै ठूलो आवाजसहित जहाजमा आगोको झिल्का देखिए पनि पाइलटले उडानलाई निरन्तरता दिएका हुन् । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार, आगो नियन्त्रणपछि चालक दलले इञ्जिनमा कुनै समस्या नपरेको भन्दै उडानलाई निरन्तरता दिने निर्णय गरेका बताउनुभयो । फ्लाई दुबईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आफ्नो विमानमा चरा ठोक्किएको दाबी गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले पनि विमानमा चरा ठोक्किएको अनुमान गरेको छ । ‘हिजो के भएको हो भन्ने बारे यकिन केही जानकारी आएको छैन, यस विषयमा आज फ्लाई दुबई छलफल हुन्छ’ विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले भन्नुभयो।

हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडानभरे लगत्तै विमानको इञ्जिनमा ठूलो आवाजसहित आगोको झिल्को देखिएको थियो । पाइलटले विमानलाई धादिङको धार्केमाथिको आकाशमा केहीबेर होल्ड गरेका थिए । त्यतिन्जेलसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा आकस्मिक अवतरणका लागि सबै तयारी गरिएको थियो  ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार गएराति ९ बजेर २० मिनेटदेखि ९ बजेर ५९ मिनेटसम्म विमानस्थमा अन्य विमानको उडान रोकेर अवतरणको तयारी गरिएको थियो । तर, पाइलटले जहाज सामान्य अवस्थामा रहेको र गन्तव्यमा जाने भनेपछि विमानस्थलका अधिकारीले उडान खुलाउने निर्णय गरे ।

विमानमा दुई इञ्जिन रहेकाले एक इञ्जिनले काम नगरे पनि अर्कोले काम गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले बताउनुभयो । तर विमानमा के कारण समस्या आएको भन्नेबारे खुलेको छैन । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया