आज आठौँ भूकम्प स्मृति दिवस : झण्डै एक लाख निजी घरसहित महत्त्वपूर्ण भवन तथा सम्पदाको काम अधुरै

 वैशाख १२, २०८० मंगलबार ७:२४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - गोरखा भूकम्पको आठौँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ । २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पमा परेर झण्डै नौ हजार मानिसको ज्यान गएकोे थियो । भूकम्पले २२ हजार ३ सय ९ जना घाइते भएका थिए । यस्तै, आठ लाख भन्दा धेरै निजी आवासमा क्षति पुगेको थियो भने झण्डै एक हजार ५ सय सांस्कृतिक सम्पदामा क्षति भएको थियो ।

भूकम्पले १४ जिल्ला काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गामा सबैभन्दा धेरै असर परेको थियो । अति प्रभावित र प्रभावित जिल्लाका घरसहित सम्पदा, विद्यालय, स्वास्थ्य संस्था, सुरक्षा निकायका भवन, सडक र खानेपानी आयोजनामा भूकम्पले क्षति पुगेको थियो । भूकम्पले ध्वस्त बनाएका कयौँ संरचना पुनर्निर्माण भए पनि पुनर्निर्माणको काम अझै सकिएको छैन ।

भूकम्पपछिको पुनर्निर्माणमा आठ वर्षमा झन्डै चार खर्ब रुपैयाँ सकिएको छ । तर, अझै पनि झण्डै एक लाख घरको पुनर्निर्माण हुन बाँकी नै छ भने, सिंहदरबार र धरहराजस्ता ऐतिहासिक संरचनाका पुनर्निर्माणको काम पूर्ण रुपमा सकिएको छैन ।

२०७८ साल पुसमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विघटनपछि निजी आवाससहित संरचनाको काम सहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय योजना कार्यान्वयन एकाइले गर्दै आएको छ । भूकम्पको सम्झनामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दातृ तथा सहयोगी निकायसँगको समन्वयमा आज र भोलि दुई दिने गोष्ठी गर्दैछ । त्यस्तै राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले पनि कार्यक्रमको आयोजना गरेको छ ।

भूकम्पमा परेर आफन्त गुमाएका वा घर क्षति भएकाबाहेक धेरैले २०७२ सालको भूकम्प बिर्सिसकेका छन् । मान्छेले भूकम्प बिर्सिए पनि भूकम्पले भने बेलाबेला सम्झाइ रहेको केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारी बताउनुहुन्छ । २०७२ सालको भूकम्पले सुरक्षित र बलिया घर/भवन बनाउनुपर्छ भन्ने चेतना केही बढेको विज्ञको भनाइ छ ।

अन्तिम अपडेट: असोज १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया