पानी पर्नेबित्तिकै सडक बन्द हुने जोखिम, खुलाउनको लागि सडक विभाग तयारी अवस्थामा

 बैशाख २०, २०८० बुधबार १०:५१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सडक विस्तार र मर्मत भैरहेको ठाउँमा सामान्य वर्षा हुँदा पनि भत्किने जोखिम बढेको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्के नजिकै गणेश खोला पुलमा पनि सडक खन्ने काम भैरहेका बेला पानी परेपछि अस्ति जमिन भासिएर सडक बन्द भएको थियो । भासिएको ठाउँमा ग्याविन जाली भरेर एकतर्फी गाडी सञ्चालनमा ल्याइएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत अरु ठाउँमा पनि सडक विस्तार र मर्मत भैरहेकाले पानी परेको बेला पहिरो जाने र भासिने जोखिम छ । अरु राजमार्गमा पनि यस्तै जोखिम बढेपछि सरकारले सडक बन्द हुनेबित्तिकै खुलाउनको लागि तयारी अवस्थामा रहेको जनाएको छ । मुख्य राजमार्गमा पहिरो झरेर तथा संरचना भासिएर हुने अवरोध तत्काल खुलाउन र यात्रा सहज बनाउनको लागि पूर्व तयारी र योजना बनाएको सडक विभागको दाबी छ । 

विभागका महानिर्देशक सुशीलबाबु ढकालका अनुसार सडक अवरुद्ध भएको सूचना पाएको आधा घण्टादेखि ४५ मिनेटभित्र मर्मतका लागि जनशक्ति र उपकरण पुगिसक्ने छ । तर यो समयभित्र मर्मतको टोली र उपकरण पुगे पनि काम थालेर सडक खुलाइसक्न केही समय लाग्न सक्ने महानिर्देशक ढकाल बताउनुहुन्छ । सडक खुलाउन लाग्ने समयसम्म यात्रु र गाडी चालकले पर्खनुपर्ने या वैकल्पिक व्यवस्था अपनाउनुपर्ने सडक विभागले जनाएको छ । 

काठमाण्डौको लाइफलाइन मानिएको नागढुङा–मलेखु  र मलेखु– मुग्लिन सडक खण्ड विस्तारको लागि कुनामा भित्ता काट्ने र छेउमा पर्खाल लगाउने काम भैरहेको छ । मर्मत र विस्तारको काम भैरहेकाले ठाउँठाउँमा सडक निकै साँघुरा छन् । पुल जीर्ण बनेका छन् । पुरानो पुल भएको ठाउँमा नयाँ पुल बनाउनको लागि जग खन्ने काम भैरहेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडकखण्डमा पनि मर्मत र विस्तारको काम भैरहेको छ । मुग्लिन–पोखरा सडकखण्डमा पनि विस्तारको लागि ठाउँठाउँमा भत्काइएको छ । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्र पनि पहिरोको जोखिममा छ ।

यस्तै, सन्धीखर्क–गोरुसिँगे, भालुवाङ–प्यूठान, तानसेन–तम्घासलगायतका देशका थुप्रै सडकको अवस्था जीर्ण छ । मर्मत र विस्तार भैरहेका यी सडकमा अहिले पनि यात्रा निक्कै कष्टकर छ । सामान्य पानी पर्दा पनि मुख्य राजमार्ग तथा अरु सडकमा पहिरो खस्छ, पुललगायतका संरचना बिग्रने गर्छन् । अहिले नै समस्या भोग्दै आएका यात्रुलाई आउँदो बर्खामा सडकको अवस्था थप जोखिम हुने चिन्ता बढेको छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया