दाङ : मोबाइल चलाउन छाडेर फुटबल सिक्दै बालबालिका

 वैशाख २३, २०८० शनिबार १६:१४:९ | रासस
unn.prixa.net

तस्बिर : रासस

दाङ - पहिले घरमै मोबाइल चलाएर बस्ने घाेराहीका बालबालिकाको दैनिकी अचेल फेरिएको छ । उनीहरु दाङको घोराही उपमहानगरपालिका–१८ मा रहेकाे नवलपुर फुटबल मैदानमा फुटबल सिक्न थालेका छन् । दिनहुँ बालबालिका फुटबल अभ्यासका लागि पुग्ने गरेका छन् ।

स्थानीय धरम केसी हरेक दिन बिहान फुटबल अभ्यासका लागि नवलपुर पुग्छन् । फुटबलका बारेमा सैद्धान्तिक ज्ञानसँगै अनुशासनबारे पनि थाहा पाएको उनको भनाइ छ । केसीले भने,'खेल खेल्न र यस सम्बन्धी विभिन्न खालका ज्ञान लिन पाउँदा धेरै हर्षित छु, खेल क्षेत्रमा अगाडि बढ्न सघाउ पुर्याएको छ ।' नवलपुर फुटबल एकेडेमीले फुटबल सिकाउन थालेपछि अभिभावक पनि खुसी भएका छन् ।

खुट्टामा जुत्ता, फुटबलकै पोसाक लगाएका आठ वर्षदेखि १४ वर्षसम्मका बालबालिका हरेक दिन चौरमा फुटबल सिक्न व्यस्त रहन्छन् । उनीहरु निकै मेहनत गर्छन् । रामेछाप स्थायी घर भइ अहिले घोराही–१५ बस्दै आएका १४ वर्षीय सुजन तामाङ एकेडेमी आएर सिक्न थालेको दुई वर्षभन्दा बढी भइसकेको छ । बालबालिका तथा किशोरकिशोरी  गलत सङ्गतमा फस्ने, कुलतमा लाग्ने, अनावश्यक गतिविधि गरेर भविष्य बिगार्ने खतरा रहेका बेला यहाँ आएर फुटबल सिक्ने र भविष्यका बारेमा सोच्नसक्ने भएका छन् ।  

बालबालिकामा विभिन्न  खालका  मानसिक तथा शारीरिक समस्या देखापरिरहेका बेला फुटबल प्रशिक्षणका माध्यमबाट खेलमा व्यस्त हुन थालेपछि बालबालिकाका अभिभावक पनि उत्साहित भएका प्रशिक्षक दीपक पुन बताउँछन् । एकेडेमीमा आबद्ध थुप्रै बालबालिकालाई हरेक दिन उनीहरूका अभिभावकले खेलमैदानसम्म पुर्याउने गरेका छन् । खेलमा सानै उमेरदेखि लाग्न प्रेरित गर्न, मानसिक, शारीरिकरूपमा स्वस्थ राख्न फुटबल प्रशिक्षणमा लैजाने गरेको नवलपुरका भीमबहादुर छन्तेल बताउनु हुन्छ । 

विसं २०७६ सालदेखि विभिन्न उमेर समूहका बालबालिकालाई नवलपुर फुटबल एकेडेमीले प्रशिक्षण दिँदै आएको छ । ‘ग्रासरुट’मा नै प्रशिक्षण दिनसके राम्रा खेलाडी उत्पादन हुनेमात्रै नभइ मानसिक तथा शारीरिक विकाससँगै खेलमा सुधार ल्याउन मद्दत पुग्ने प्रशिक्षक पुनको भनाइ छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले हरेक जिल्लामा यस्तो कार्यक्रम सञ्चालन गर्न आवश्यक भएको उनले बताए । तर दाङमा नलवपुर फुटबल एकेडेमीले लामो समयदेखि बालबालिकालाई निःशुल्क फुटबल प्रशिक्षण गराउँदै आएको छ । 

'फुटबलको समग्र विकासका लागि उमेर समूहबाटै खेलाडी उत्पादन आवश्यक छ । यसका लागि खेलकुदका क्षेत्रमा काम गर्दै आएका निकाय  र राज्यको नजर अझै पुग्न सकेको छैन', प्रशिक्षक पुनले भने । दक्ष खेलाडी उत्पादनमा ध्यान नदिने तर नतिजा भने राम्रो खोज्ने परिपाटीले नेपालमा फुटबलको विकास सोचेअनुरुप हुननसकेको उनको भनाइ छ ।

कमजोर खेल संरचनालाई बलियो बनाउन र खेलकुदको समग्र विकासका लागि स्थानीयस्तरमा पालिकाले पनि प्रयास गर्न जरुरी छ । एकेडेमीको सहयोगले बालबालिकाको शारीरिक र मानसिक विकासमा त सहयोग पुगेको छ नै, साथै खेलाडी उत्पादन गर्न पनि मद्दत पुगेको छ। 

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया