उपचुनावको नमुना मतपत्र सार्वजनिक : कहाँ कस्तो ?
मंसिर ७, २०८१ शुक्रबार
दैलेख – होटलमा काम गर्ने बाह्र वर्षको बालकले १५ सय चोरेको आरोपमा दैलेखमा होटल मालिक्नीले बालकको हात भाँचिदिएकी छिन् । कर्णाली राजमार्गमा पर्ने दुल्लू नगरपालिका–३, सियालाको सागर होटलकी मालिक्नी शान्ति शाहीले बालकको हात भाँचेकी हुन् ।
एकान्त ग्रामीण बस्ती भएको, पीडक पक्षले उपचारको वास्ता नगरेको कारण १८ दिनपछि मात्रै घटना सार्वजनिक भएको हो । प्रहरीलाई पहिल्यै सूचना गर्दा पनि उद्धारमा चासो नदिएको स्थानीय अधिकारकर्मीहरुको आरोप छ ।
प्राप्त विवरण अनुसार सल्यानको दार्मा गाउँपालिका–६ किमटाकुराका प्रकाश बुढाथोकीले आफू काम गर्ने होटलको गल्लाबाट रकम झिकेर भागेको आरोपमा होटल मालिक्नीले गरेको कुटपिटको क्रममा ती बालकको हात भाँचिएको प्रत्यक्षदर्शीले बताएका छन् । त्यसबेलाको कुटपिटले दुई वटा दाँत पनि हल्लिएका पीडित बालकले बताए ।
‘दसैँमा घर जाँदा १५ सय दिनुहोला’ भनी आग्रह गरेका बालकलाई दसैँमा जान नदिने कुरा गरेको कारण असोज १८ गते बिहान करिब १० बजेतिर भागेकामा छिमेकी कृष्णा शाहीले रोकेर बोलाएपछि शान्ति शाहीले मूल सडकमै लछारपछार गर्नुसँगै टेबुलमा हात राखेर दाउराले हिर्काउँदा प्रकाशको देब्रे हातको नाडी भाँचिएको हो ।
हात भाँचिएपछि बालकले ल्याएको भनिएको १५ सय लिएर ‘जहाँ जान्छस् जा’ भन्दै गलहत्याएर सुर्खेत जाने बाटोतर्फ धकेलेपछि बालकले रुँदै सियालाबाट पैदल ३ किलोमिटर टाढा नाउली भन्ने ठाउँमा कृष्णबहादुर शाहीको घरमा आश्रय लिएको बताइएको छ ।
स्थानीयले बालकको उपचार गर्न होटल मालिक्नीलाई भने पनि वास्ता नगरेको र यसबारे प्रहरीलाई खबर गर्दा प्रहरीले पनि चासो नदिएको स्थानीय तेजबहादुर महत गुनासो गर्नुभयो ।
होटल मालिकले बेवास्ता गरेको र त्यसरी भाँचिएको हात ढिलो उपचार गर्दा झनै जोखिम बढ्ने भएकोले स्थानीयहरुले दैलेख सदरमुकामको महिला तथा बालबालिका सेवा केन्द्रमा खबर गरेपछि मात्र यो घटना सार्वजनिक भएको हो ।
प्रारम्भिक उपचारको प्रयास गर्नुभएका अहेव राजेशप्रसाद रिमालले बालकको देबे्र हातका नाडीका दुइटै हड्डी फुटेको बताउनुभयो ।
बालकलाई कुटपिट गर्ने होटल मालिक्नीलाई बोलाइएकोमा उनका पति सुरेश शाहीसँग बालकको उपचारबारे जिल्ला प्रहरी कार्यालयमा भएको प्रारम्भिक छलफल भएको छ ।
छलफलपछि महिला तथा बालबालिका सेवा केन्द्रका प्रभा बिक र होटल मालिक शाहीसहित बालकको उपचार गराउन आजै नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
घटनाका विषयमा आारोपित व्यक्ति शान्ति शाहीसँग टेलिफोनमा प्रतिक्रिया माग्दा उहाँले भन्नुभयो ‘पैसा चोरेको रिसमा कुटपिट गरेकै हो, तर पुरानो घटनालाई घरायसी रिसिबी भएहरुले उच्काए हुन् ।’ उपचार नगर्नुको कारण बारे उहाँले केही बोल्न चाहनुभएन ।
‘मुलुकी अपराध (संहिता) ऐन २०७४’ को दफा १९२ को उपदफा (५)मा उपचारबाट निको हुने गरी अङ्गभङ्ग गराएमा ती वर्षसम्म कैद र ३० हजार रुपैंयाँ जरिवाना समेत हुने कानुनी व्यवस्था छ ।
त्यसैगरी १४ वर्ष मुनिका बालबालिकालाई बालश्रममा लगाउनेलाई ‘बालश्रम (निषेध र नियन्त्रण गर्ने) ऐन २०५६’को दफा ३ ले तीन महिनासम्म कैद वा १० हजार रुपैंयाँसम्म जरिवाना वा दुवै सजाय गर्ने व्यवस्था गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ ।
लछिराम थापा( मदाने)
Oct. 24, 2018, 8:22 a.m.यसरी बालबालिकालाई श्रमिक बनाई कुटपिट गरि उपचार नगर्ने पिडक ब्यक्तिलाई कानुन अनुसारको कार्बाही हुनु पर्छ ! यदि कार्बाही गरिएन भने यस्ता घटनाले थब उर्जा पाउँछन् सामाजिक चेतनालाई परिबर्तन गर्न कानुनको पालना हुनै पर्छ