अवश्य हेनुहोस् ट्रेलर हिट सिनेमा ‘चोरहरूको पछिपछि अनुभवी चोर’

 बैशाख ३१, २०८० आइतबार १४:५१:१४ | मिलन तिमिल्सिना
unn.prixa.net

‘फिल्म पूरा नहुँदै ट्रेलरले त हिट खालाजस्तो भयो’ निर्देशकले जुँगा मुसारे । भित्तातिर ऐनामा हेर्दै टोपी मिलाए । ट्रेलरमा देखाएका दृश्यसँग मिल्दोजुल्दो भाव आफ्नो अनुहारमा पनि झल्केजस्तो लाग्यो । हत्तपत्त ऐना पुछे । तर दाग ऐनामा हैन, आफ्नै अनुहारमा रहेछ ।

‘के हो निर्देशकज्यू खुब ऐना हेरेर मस्किँदै हुनुहुन्छ त, निको चाला छैन है’ फिल्मका अर्का निर्माता हातमा फाइल बोकेर भित्र पसे ।

‘ए तपाईँ पो... । हैन, हैन, त्यस्तो केही हैन । यहाँ गालामा लामखुट्टेले टोकेछ क्या’ निर्देशकले अनुहारको दाग हातले छोपेजस्तो गरे ।

‘ल ल फिल्मले हिट खालाजस्तो भयो । बधाई छ है निर्देशकज्यू ।’

‘त्यही त भन्या ट्रेलरले नै देश खालाजस्तो भयो । फिल्म नै देखाउन थालेपछि के पो होला ?’

‘देश मात्रै होइन, निर्देशकज्यू यसैगरी एकतर्फी कथा मात्रै बनाएर बुरुकबुरुक गर्नुभयो भने यो फिल्मले आफैँलाई पनि खान बेर छैन । ट्रेलर हिट भए पनि फिल्म भुस भएर निर्माता, निर्देशकले चिलिम खाएको त थाहा होला नि तपाईँलाई । त्यसैले बेलैमा विचार गर्नुहोला । पहिलो कुरा त तपाईँले देखाउन थाल्नुभएको ट्रेलर नै अस्पष्ट छ । फिल्मले देखाउन खोजेको कुरा अपुरो छ । फिल्मको कथा लेखिसक्नुभयो ?’ हस्याङफस्याङ गर्दै आइपुगेका फिल्मका अतिथि कलाकारले सोधे ।

‘कथा त पूरा हुनै बाँकी छ क्या कलाकारज्यू । पहिले कस्तो हुँदो रहेछ भनेर ट्रेलर मात्रै भन्देको, त्यसै हिट खायो ।’

‘अनि फिल्मको नाम नि ?’

‘त्यो पनि सोच्न भ्याएको छैन ।’

‘ल त्यसो भए तपाईँ हामी कोही नडुब्ने, फिल्म पनि चल्ने र हामी सबैलाई नाफा हुने फिल्मको कथा र नाम मसँग छ ।’

‘ल भन्नुहोस् न त । नाम चाहिँ के राख्ने ?’

‘नाम चाहिँ ‘चोरहरूको पछिपछि अनुभवी चोर।’ कथा वास्तविक तर दर्शकहरूले हेर्दा कमेडीजस्तो लाग्ने । हिजोआज कमेडी फिल्म बढी चल्छन् । कमेडी भनेपछि दर्शक सिरियस हुँदैनन् । हेरेर एकछिन थपडी बजाउँछन, हाँस्छन्, अनि चुप लागेर बस्छन् ।’

‘अनि कथा चाहिँ कस्तो नि ?’

ल सुन्नुहोस् कथा, तपाईँ हामीले गर्दै आएको काम र स्वभावसँग ठ्याक्कै मेल खाने । कथा चाहिँ पहिलेपहिले हजुरबा, हजुरआमाहरूले सुनाउने दन्त्यकथाजस्तो एकादेशबाट सुरु हुन्छ।

एकादेशमा एकजना हैन, धेरैजना राजाहरु थिए । राजा भएपछि रानी, राजकुमार, राजकुमारी, भाइभारदार, हुक्के, बैठके, धुपौरे हुने नै भए । कतै रानी पनि राजाजस्ता, राजकुमार, राजकुमारी र भाइभारदार पनि राजाजस्ता । कोही पुराना राजा, कोही नयाँ राजा, कोही राजा हुन नपाउँदै गद्दीबाट पछारिएका राजा । कोही राजा हुनको लागि ज्यान फालेर कुदेका राजा । गद्दीमा गजधम्म परेर बस्ने पनि राजा । गद्दीबाट लडेर रनभुल्लमा पर्ने पनि राजा । गद्दीमा चढ्न नसकेर पुर्पुरोमा हात राखेर बस्ने पनि राजा । जनताभन्दा धेरै राजा । हुँदाहुँदा चोर फटाहाहरू पनि राजा हुन थाले । एक, दुई, तीन...गर्दै राज्य चलाउने ठाउँमा चोरहरूको बिगबिगी बढ्न थाल्यो ।

कोही सियो चोर, कोही सुन चोर । कोही फाली चोर, कोही घर फोर । सियो चोर्नेले फाली चोर्न थाल्यो, फाली चोर्नेले घर फोर्न थाल्यो । सियो चोर्नै नजान्नेलाई पनि सियो चोर्नेले सित्तैमा लुगा सिलाइदिएर बिगार्न थाल्यो । चोरहरूको संगतमा पनि चोर हुन नसकेकाहरू बिचरा भै टुलुटुल हेरि बस्न बाध्य भए ।  जताततै चोरहरूको रजगज हुन थाल्यो । पहुँचमा हुनेहरू ठूलो चोर, पहुँच नभए पनि ठूला चोरलाई सघाउनेहरू साना चोर । 

तर अचम्म ठूला र साना सबै चोरहरू चोरको विरोध गर्थे । चोर्न हुँदैन भन्थे, चोरलाई भेट्नेबित्तिकै समातेर थुन्नुपर्छ भन्दै उफ्रन्थे । चोरलाई खेदेझैँ गरेर बारीको पाटोमा कुद्थे, अनि कसैले नदेख्नेगरी बारीमा फलेका फलफूल टिपेर गोजीमा हाल्थे । अनि आफ्नो गोजी समात्दै चोर समात भनेर पछिपछि कुद्थे । अलि पर पुगेर त्यही चोरसँग मित लगाउँथे । त्यो चोरको अरू पनि मित हुन्थे । चोरको मित मित चोर, चोर लखेट्नेको मित पनि मित चोर । 

हुँदै जाँदा चोर लखेट्ने बाटोमा पनि चोर । चोर समाउने ठाउँमा पनि चोर । ढुकुटी कुर्ने ठाउँमा पनि चोर । बेलाबेला ढुकुटी चोर्न आउने चोर र ढुकुटी कुर्न बसेको चोरबीच चोर–पुलिसको खेलजस्तो लुकामारी हुन्थ्यो । दर्शकले मजा मानेर ताली पिट्थे । खेल सकिन्थ्यो । फेरि जस्ताको तस्तै ।

यसपटक चोर–पुलिस खेलेजस्तो गर्दागर्दै साँच्चै हुन आँट्यो । रोक्न खोज्दाखोज्दै, थामथुम पार्न खोज्दाखोज्दै चोरहरूको पोल खुल्न थाल्यो । एकखाले चोरहरू भटाभट समातिन थाले । ती चोरहरूका पनि महाचोरहरूको खोजी हुन थाल्यो । अनि अर्काथरी चोरहरूको मुटुमा ढ्याङ्ग्रो ठोकियो । अनि उनीहरू दूधले नुहाएझैँ गर्दै दर्शकको माझमा बसेर ताली पिट्न थाले । त्यो चोर समातियो भनेर यो चोर मुर्छा परेर हाँस्न थाल्यो । त्यो महाचोर समातिन आँट्यो भनेर यो चोर थपडी बजाएर नाच्न थाल्यो । 

हुँदै जाँदा चोरलाई खबरदारी गर्ने भिडमा चोरहरुकै बिगबिगी बढ्दै गयो । चोरेर लुकाएको गोजी छोप्दै अर्को चोरले म चोर होइन भनेर कसम खायो । चोरेकै सुनपानी छर्केर अर्को चोरले आफू निर्दोष छु भनेर किरिया खायो । एउटा चोरको पछिल्तिर अर्को चोर लाग्यो । त्यो चोरलाई पाता फर्काउनुपर्छ भनेर यो चोर उफ्रन थाल्यो । सुन चोर्नेले घर फोर्नेको विरोध गर्यो । घर फोर्नेले सुन चोर्नेको पोल खोल्यो । फाली चोर्नेलाई साली चोर्नेले धारे हात लगायो । साली चोर्नेतिर औँला ठड्याउँदै साडी चोर्नेले आकाशतिर हेरेर थुक्यो । एउटा चोरले अर्को चोरको कठालो समात्न खोजेझैँ गर्यो । यो चोरले त्यो चोरसँग पानी बाराबार गरेजस्तो गर्यो । तँ कुटेजस्तो गर, म रोएजस्तो गर्छु भन्ने पारामा चोरहरूबीच नै भनाभन र हानाहान हुन थाल्यो । चोरहरूको पछि चोरहरु नै लागेपछि चोरहरूबाट आजित भएकाहरू रमिता हेर्न थाले । फिल्म खत्तम !
...................
चोरहरूको फिल्ममा आधारित यो कथा अहिलेको भ्रष्टाचार प्रकरणमा देखिएको नेपाली राजनीतिसँग मिल्दोजुल्दो भएमा संयोग मात्रै हुनेछ ।

अन्तिम अपडेट: चैत १५, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया