पाटन दरबार क्षेत्र आसपासका केही परम्परागत घर र सांस्कृतिक सम्पदा अझै टेकोको भरमा

 जेठ २, २०८० मंगलबार ७:२९:२३ | रासस
unn.prixa.net

फाइल तस्बिर

ललितपुर - पाटन दरबार क्षेत्र आसपासमा केही परम्परागत घर र सांस्कृतिक सम्पदाहरू टेकोको भरमा अडिएका छन् । मङ्गलबजार, गाबहाललगायतको क्षेत्र आसपासमा ऐतिहासिक घरहरूलाई २०७२ सालको भूकम्पपछि टेको लगाइएको छ ।

कलात्मकरूपमा निर्माण गरिएका घरहरूमा परेवा र भँगेराले गुँड बनाएका छन् । राणाकालीन समयमा निर्माण गरिएका सांस्कृतिक सम्पदा तथा परम्परागत घरहरूलाई विसं १९९० को भूकम्पले केही क्षति गरेको थियो । विसं २०७२ सालको भूकम्पले क्षति पुर्याएको एक दशक बित्न लागिसक्यो तर पनि घरहरूलाई टेकोको भरमा अड्याइएको छ । 

ललितपुर महानगरपालिका तिछुँ गल्ली जोम्बाहालका स्थानीयवासी ८३ वर्षीय जुलमला चित्रकार भन्नुहुन्छ,'बाजेको पालामा निर्माण भएका घरहरू निकै बलिया हुँदारहेछन् । २०७२ सालको भूकम्पका कारण धेरै घरहरू ढले पनि परम्परागत घरहरू ढलेनन् । अहिले मेरो घरलाई पनि टेकोकै भरमा अड्याएको छु । दिनप्रतिदिन जीर्ण बन्दै गएको घर कतिखेर ढल्छ पत्तो नहुने भएकाले म अहिले अर्को घरमा बस्छु । यो पुरानो घरमा कोही बस्दैन रित्तो छ ।'

दिनप्रतिदिन परम्परागत संरचनाहरू भत्काएर नयाँ संरचना निर्माण हुँदैछन् भन्दै उहाँले यस्तो क्रम निरन्तर बढ्दै जाने हो भने नेवार समुदायको कलात्मक शैलीमा निर्माण भएका घरहरूलाई कुनै दिन म्युजियममा खोज्नुपर्ने बताउनुभयो । सरकारले परम्परागत घरहरूको संरक्षण र त्यसको उचित व्यवस्थापन गर्न नसकेकामा चित्रकारले दुःखेसो पोख्नुभयो । 

सरकारले भूकम्प पीडितका लागि भनेर केही रकम अनुदान दिने निर्णय गरेको तर सरकारले दिएको थोरै रकमले घर भत्काउनु मात्र समाधान नभएका कारण भूकम्पको अनुदानसमेत नलिएको पाटनका अर्का स्थानीयवासी अरुण बज्राचार्यले बताउनुभयो । 

बज्राचार्यले भन्नुभयो,'पाटन क्षेत्र आसपासका विभिन्न गल्लीमा धेरै यस्ता घर छन् । ती घर प्रायः टेकोकै भरमा अडिएका छन् । नयाँ घर निर्माण गर्नका लागि आर्थिक अभाव, र अंशबन्डाका लागि झन्झटिलो भएका कारण अहिलेसम्म यी घर टेकोकै भरमा भए पनि अडिएका छन् ।'

दिनप्रतिदिन जीर्ण बनेका कलात्मक घरहरू कतिपयले कोठा भाडामा दिएका छन् भने कतिपयका घर पानी चुहिएर बस्नसमेत नमिल्ने भएका छन् । इतिहास बोकेका सांस्कृतिक सम्पदा र परम्परागत घरहरूलाई कसरी जगेर्ना गर्ने भन्ने विषयमा स्थानीय नेवार समुदायलाई चिन्ता छ ।

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया