अरुण तेस्रो : स्थानीयले छुट जग्गाकाे मुआब्जा पाउँदै, प्रतिरोपनी ११ लाख ७५ हजार रुपैयाँ दररेट निर्धारण

 जेठ ११, २०८० बिहिबार २०:२९:५२ | रासस
unn.prixa.net

फाइल तस्बिर

सङ्खुवासभा - सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो प्रवेश मार्ग छ्याङकुटी–दिदीङ–पुखुवा सडक खण्डको जग्गा छुट मुआब्जाको दररेट निर्धारण गरिएको छ । 

अरुण तेस्रो प्रवेश मार्ग छ्याङकुटी–दिदीङ–पुखुवा (०–२४ किमी) सडक खण्डको जग्गा छुट मुआब्जाको दररेट निर्धारण भएको हो । सरकारले जग्गा अधिग्रहण गरेको करिब १४ वर्षपछि स्थानीयवासीले जग्गाको मुआब्जा पाएका हुन् । स्थानीयवासीले लामो समयदेखि मुआब्जाको माग राख्दै आन्दोलन गरेपछि सरकारले मुआब्जा दिन छुट जग्गाको यकिन विवरण र अन्यसम्बन्धी प्रतिवेदन तयार पार्न कार्यदल गठन गरेको थियो । 

विसं २०७५ साल चैत १ मा सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा आयोजना प्रवेशमार्ग छ्याङकुटी–दिदिङअन्तर्गत छुट जग्गाको यकिन विवरण र अन्य समस्यासम्बन्धी अध्ययन गरी प्रतिवेदन बुझाउन कार्यदल निर्माण गरिएको थियो ।

छ्याङकुटी–दिदीङ–पुखुवा क्षेत्रको मुआब्जा दर प्रतिरोपनी ११ लाख ७५ हजार रुपैयाँ रहने गरी दर निर्धारण गरिएको छ । केही दिनअघि जिल्ला मुआब्जा दर निर्धारण समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको संयोजकत्वमा बसेको बैठकले मुआब्जा दर निर्धारण गरेको हो । जिल्लामा रहेकाे जनप्रतिनिधि, दलका प्रतिनिधि तथा सरोकारवालाबीच पटक पटकको छलफलपछि दर निर्धारण गरिएको हो । 

चिचिला गाउँपालिकाको १, २ र ३ वडाका करिब दुई सय घर परिवारको जग्गा अधिग्रहण गरी छ्याङकुटीदेखि परियोजनास्थल पुखुवासम्म जोड्ने साढे २३ किलोमिटर लामो सडक निर्माण गरिएको थियो । विसं २०४६ सालमा मुआब्जा वितरण भएको तर २०५१/५२ मा नापी हुँदा सरकारी स्वामित्वमा लगत कट्टा हुनुपर्नेमा व्यक्तिको नाममा भएकाले पछि २०६६/६७ सालमा लगत कट्टा हुँदाको छुट जग्गाको मुआब्जा अधिग्रहण गर्ने सूचना प्रकाशन भएको थियो । त्यही सूचनाका आधारमा आवेदन परेकाबाट सर्वपक्षीय बैठकबाट दर निर्धारण गरिएको हो । 

सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनेको अध्ययन समितिले चार सय ५१ रोपनी जग्गाको मुआब्जा दिन छुट भएको ठहर गरेको छ । छ्याङकुटीदेखि विद्युत् गृह पुखुवासम्मको छुट जग्गाको मुआब्जा नपाएको भन्दै स्थानीयवासीले पटक–पटक माग गर्दै आएका थिए । 

मुआब्जा दर निर्धारण भएसँगै स्थानीयवासी खुसी भएका छन् भने अवरोध भइरहेको अरुण तेस्रोको काम सहजरूपमा हुने अपेक्षा लिइएको छ ।  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा बाँधस्थल निर्माणाधीन छ भने चिचिला गाउँपालिका–३ पुखुवामा विद्युत् गृह निर्माण भइरहेको छ । नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम भारतीय सतलज कम्पनी एसजेभिएनले गरिरहेको छ। आयोजनाको कूल लागत एक खर्ब चार अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया