अमेरिकाको न्युयोर्क सडकलाई 'तेन्जिङ नोर्गे शेर्पा' नामकरण

 जेठ १६, २०८० मंगलबार ९:३०:३४ | रासस
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - अमेरिकाको न्युयोर्क राज्यको क्विन्स बोरोको ७५ स्ट्रिटको ब्रोड वे र उडसाइडको सडकलाई  पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा नामकरण गरिएको छ । 

याे सडकलाई नामकरणका लागि गएकाे छ वर्षदेखि स्थानीयरूपमा सक्रिय रहेका युनाइटेड शेर्पा किदुङ्ग र यूएसए नेपाल क्लाइम्बर्स एसाेसिएशनले सिटीसँग पहल गर्दै आएकामा गएकाे अप्रिलमा न्युयोर्कको क्विन्सको डिष्ट्रिक २५ को सिटी काउन्सिलले अनुमति दिएको थियो ।

क्लाइम्बर्स एसाेसिएशनका अध्यक्ष पासाङनिमा शेर्पाले भन्नुभयो 'सिटीको अनुमति पाएपछि हामीहरूले सगरमाथा दिवसकै दिन पारेर याे सडकमा तेन्जिङ शेर्पाको नाम राखेका हौँ । हामी सगरमाथाको देशबाट आएर पहिलो सगरमाथा आरोहीकै नाममा न्युयोर्कजस्तो विशाल सिटीमा सडकको नामकरण हुनु साह्रै गर्वको विषय हो ।'

कार्यक्रममा सहभागी हुनुभएका र लामो समयदेखि न्युयोर्कमा बस्दै आउनुभएका जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले नेपालीको नाममा सडकको नामकरण हुनु सुखद् क्षण भएको बताउनु भयाे। उहाँले भन्नुभयो, 'सगरमाथाको देश भनेर हामी विश्वभरि चिनिन्छौँ, त्यसमा पनि प्रथम आरोही तेन्जिङ शेर्पाको नाममा सडकको नामकरण गर्न सहजीकरण गरिदिनुभएकामा काउन्सिलका सदस्यहरूलाई धन्यवाद ।' 

यस अगाडि प्रथम दक्षिण एसियालीमूलकी कंग्रेसवुमन जेनिफर राजकुमारले एक सङ्कल्पपत्र पास गरेर मे २९ लाई सगरमाथा दिवसका रूपमा मान्यता दिलाउन सफल हुनुभएको थियो । त्यसैले हिजाे सोमवार ७०औँ सगरमाथा दिवस पनि मनाइएको थियो ।

कार्यक्रममा तेन्जिङ शेर्पाका छोरा नोर्बु तेन्जिङ नोर्गे, दामे तेन्जिङ नोर्गेसमेत सहभागी हुनुभएको थियो । नेपाली नियोगका प्रतिनिधि, नेपाली समुदायका अगुवालगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया