नक्कली शरणार्थी प्रकरण : पक्राउ परेका १८ जनासँग बयान लिइयाे, आइतवारदेखि थुनछेक बहस

 जेठ १९, २०८० शुक्रबार १९:५३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेकाे प्रकरणमा पक्राउ परेका १८ जनासँग जिल्ला अदालत काठमाण्डाैले बयान लिएको छ । 

जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवादी बनाएकामध्ये अहिले थुनामा रहेकासँग अदालतले थुनछेक बहसअघिको बयान लिएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो । अब पर्सि आइतवारदेखि थुनछेक बहस सुरु हुने छ । थुनछेक बहस न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ । 

बहसमा सरकारी वकिल र प्रतिवादीका वकिलले बहस गर्नेछन् । सरकारी वकिलले बहस सकेपछि प्रतिवादीका तर्फबाट अधिवक्ताले बहस गर्नेछन् । प्रतिवादीका अधिवक्ताले गरेको बहसपछि जवाफी बहस गर्न आवश्यक देखिएमा सरकारी वकिलका तर्फबाट जवाफी बहस पनि हुनेछ ।

दुवै पक्षको बहस सकिएपछि इजलासले प्रतिवादीका सम्बन्धमा अदालतमा पेस गरिएका प्रमाण, उनीहरूको बयान र तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिएको अवस्थामा उनीहरूलाई थुनामा पठाउन सक्नेछन् ।

आज शुक्रवार अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल र गिरोहका सदस्य हरिभक्त महर्जनसँग बयान लिएको हो । बाँकीसँगको बयान यसअघि नै सकिएको थियो । 

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ र फरार १४ गरी ३० जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले ठगी, सङ्गठित अपराध, किर्ते र राज्यविरुद्धको अपराधको कसुरमा कारबाही मागदाबीसहित जेठ १० गते मुद्दा दायर गरेको छ । अदालतमा मुद्दा दायर भइसकेपछि फरारमध्येका लक्ष्मी महर्जन र हरिभक्त महर्जन पक्राउ परे थिए ।

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया