पाेखरा–मुग्लिन सडककाे पूर्वी खण्ड कालाेपत्र गर्न सुरु

 जेठ २१, २०८० आइतबार १४:५६:२३ | रासस
unn.prixa.net

फाइल फाेटाे

तनहुँ – पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वी खण्ड कालोपत्र गर्न सुरु गरिएको छ । आयोजनाको पूर्वी खण्डको परीक्षणपछि कालोपत्र गर्न सुरु गरिएको हो । 

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसय क्षेत्रमा कालोपत्र गर्ने काम भइरहेको पोखरा–मुग्लिन सडक योजना (पूर्वी खण्ड) का प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार दुई लेनको सडकलाई चार लेन बनाउने क्रममा पहिलो चरणमा दुई लेन कालोपत्र गर्न सुरु गरिएको छ ।

‘पहिलो चरणको परीक्षण सकिएपछि कालोपत्र सुरु गरेका हौँ, कालोपत्र गर्दै जाने हो, यति नै गर्नेछौँ भन्ने छैन, माटोअनुसारको कालोपत्र गर्नुपर्ने हुन्छ, परीक्षण गर्दै कालोपत्र गर्नेछौँ’, प्रमुख सुवेदीले भन्नुभयो । चालु आर्थिक वर्षमा सात किलोमिटर पूरा गर्ने गरी कालोपत्र गर्न थालिएको उहाँले बताउनुभयो ।

‘यातायात आवागमनलाई सहजताका लागि पहिलो चरणमा दुई लेन कालोपत्र गरिन्छ, त्यसपछि अर्कोतर्फको सडकमा कालोपत्र गरिन्छ’, प्रमुख सुवेदीले भन्नुभयो । यस खण्डमा सडक विस्तारअन्तर्गत सत्रसय क्षेत्रमा कालोपत्र र अन्य क्षेत्रमा फराकिलो बनाउने, टेवा पर्खाल लगाउने, भित्तो कटान तथा खाल्टा पुर्ने, पक्की पुल तथा कल्भर्ट निर्माणको काम भइरहेको उहाँले बताउनुभयो ।

सुवेदीले भन्नुभयो, ‘निर्धारित समयमा पूरा गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिएका छौँ, निर्धारित समयमा सडक निर्माणको काम सम्पन्न गरी सर्वसाधारणलाई सहज बनाउन प्रतिबद्ध छौँ, अब सडक विस्तारअन्तर्गत सम्याउने र यसलाई क्रमिकरूपमा कालोपत्र गर्नेछौँ ।’ मापदण्डलगायत सबै पुगेका क्षेत्रमा यससँगै कालोपत्र गर्दै काम सम्पन्न गर्ने उहाँले बताउनुभयो ।

पूर्वी खण्डको निर्माणका लागि विसं २०७७ माघ १७ मा सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । झन्डै ४१ दशमलव ४५ किलोमिटर यस खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्शनले पाएको छ भने यस खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।

पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्म विसं २०७८ जेठ २ मा सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यस खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्शनले पाएको छ । यस खण्डको म्याद २०८१ भदौसम्म रहेको छ । विसं २०२६ मा रेखाङ्कन गरिएको यस सडकमा सवारी चाप बढेसँगै एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउने कार्य तीव्रताका साथ भइरहेको छ ।

पूर्वी खण्डको छ अर्ब २१ करोड ३१ लाख १३ हजार र पश्चिम खण्डको सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का लागेको छ । सडक विस्तार गर्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ भने सहरी क्षेत्र तथा बाक्लो बस्ती भएको ठाउँमा ४१ मिटर चौडाइको सडक निर्माण हुनेछ ।

सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक निर्माण हुनेछ । दुलेगौँडाबाट खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ । सडक विस्तारका क्रममा धुलो हुँदा स्थानीयले समयसमयमा पानी हाली सहज बनाउनसमेत माग गर्दै आएका छन् । सडक विस्तारबाट हुने प्रदूषणको व्यवस्थापन गर्न वा निराकरणकै लागि पनि पानी हाली सहजता कायम गर्न उनीहरूले माग गरेका हुन् ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया