प्रधानमन्त्रीकाे भारत भ्रमण, नागरिकता विधेयक प्रमाणीकरणबारे कसले के भने ?

 जेठ २१, २०८० आइतबार १८:१९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा देशको सार्वभौमिकता, अखण्डता र जमिनमाथि धावा बोलेको जिकिर गर्नुभएकाे छ ।

आइतवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सचेतक बर्ताैलाले प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा देशमाथि गद्दारी गर्नुभएको आराेप लगाउनुभयाे । उहाँले प्रधानमन्त्रीले देशको सार्वभौमिकता, अखण्डता र नेपालको जमिनमाथि धावा बोलेर आएको भन्दै त्यसप्रति प्रधानमन्त्रीले माफी माग्नुपर्ने बताउनुभयो । उहाँले नागरिकता विधेयकलाई असंवैधानिक रूपमा राष्ट्रघात हुने गरी प्रमाणीकरण गरिएको दाबी पनि गर्नुभयाे ।

यसैगरी नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले प्रधानमन्त्रीको भारत भ्रमण निरन्तरतामा क्रमभङ्ग गर्दै सफलता मिलेको दाबी गर्नुभयाे । यो भ्रमण विगतको भन्दा अलग भएको पनि सांसद सापकाेटाकाे भनाइ छ । उहाँले प्रमुख प्रतिपक्ष दल एमालेले नागरिकता विधेयकको विषयलाई लिएर संसद् अवरोध गर्नु जायज नभएको बताउनुभयो । संसदमा सबै प्रक्रिया पूरा गरेर राष्ट्रपतिकहाँ पुगेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेको भन्दै यसमा केही गलत नभएको उहाँले बताउनुभयो ।

त्यसैगरी स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले प्रधानमन्त्रीको भारत भ्रमणबाट नेपालीले केही नपाएको टिप्पणी गर्नुभयो । उहाँले सीमासम्बन्धी विवाद र नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) को प्रतिवेदनसम्बन्धी कुनै चर्चा नभएको भारतीय पक्षले बताइरहेको भन्दै कुनै प्रगति नभएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा पूजाआजा गर्नु पनि उपयुक्त नभएको बताउनुभयो ।

नागरिकता विधेयक प्रमाणीकरणबारे कसले के भने ?

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियामा त्रुटि भएको बताउनुभयो । उहाँले नयाँ संसदमा छलफल गरेर त्यसले टुङ्ग्याएको विषयलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने बताउनुभयो । उहाँले नागरिकता विधेयक प्रमाणीकरणको समय पनि नमिलेको टिप्पणी गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्ष दल एमालेले नागरिकता विधेयक प्रमाणीकरणका लागि जस लिन नपाएका कारण संसदमा विरोध गरेको बताउनुभयो । विगतमा केपी ओली प्रधानमन्त्री हुँदा विधेयकमा निधारले हस्ताक्षर गरेको उहाँको भनाइ छ । त्यस्तै उहाँले भारतीयहरूले नेपालमा भारतीयलाई नागरिकता दिलाएर जनसाङ्ख्यिक हिसाबले बहुमत पुर्‍याउन खाेजेकाे टिप्पणी गर्नुभयाे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले ताजा जनादेश पाएको संसदमा छलफल भएरमात्रै नागरिकता विधेयक प्रमाणीकरण हुनुपर्नेमा त्यसो नभएका कारण आफूहरूले विराेध गरेकाे बताउनुभयो । उहाँले असंवैधानिक रूपमा नागरिकता विधेयक प्रमाणीकरण गरिएको भन्दै त्यो विधेयकलाई खारेज गरेर पुनः संसदमा दर्ता गर्नुपर्ने उहाँले बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति र प्रधानमन्त्रीले जालसाझी गरेको आराेप लगाउनुभयाे । उहाँले यस विषयमा देशघात भएको भन्दै प्रधानमन्त्री र राष्ट्रपतिको राजीनामा माग गर्नुभयो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया