दूधकोशीको पानी खाेटाङकाे भुम्जुडाँडामा

 जेठ २६, २०८० शुक्रबार १३:१:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ - हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजना अन्तर्गत दूधकोशीको पानी हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडामा पुर्याइएकाे छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको लुलिमाबाट दूधकोशीको पानी परीक्षण स्वरुप भुम्जुडाँडा निकालिएको हो ।

दूधकोशीबाट १ सय ५० एमएमको पाइपमार्फत् ४ हजार ५ सय मिटरमाथि रहेको डाँडामा पानी निकालिएको सङ्घीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका प्रमुख हेराकाजी महर्जनले बताउनुभयो ।  भुम्जुडाँडामा पानी निकाल्ने प्रयासको सफल परीक्षण भएसँगै स्थानीय उत्साहित भएका छन् । 

दूधकोशीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा पानी निकालेर वितरण गर्ने लक्ष्यकासाथ २०७४ सालदेखि करिब एक अर्बको लिफ्टिङ आयोजनाको काम अघि बढाइएको थियो । दूधकोशीको लुलिमाबाट भुम्जुडाँडा र महादेवबेसीबाट काभ्रेडाँडामा पानी निकाल्ने मेनलाइनको ठेक्का दिवा–महादेव खिम्तीले गरिरहेको छ । 

महादेव खिम्तीले २०७६ साल पुस १७ गतेसम्ममा ३१ करोड ७५ लाख ९६ हजार रुपैयाँ (भ्याट बाहेक) मा सम्पन्न गर्नेगरी २०७४ असार २१ गते मेनलाइनको ठेक्का सम्झौता गरेको थियो ।

महादेवबेसीबाट काभ्रेडाँडामा पानी निकाल्नका लागि पम्प जडानको काम मात्र बाँकी रहेको सङ्घीय खानेपानी ढल व्यवस्थापन आयोजनाको कार्यालयले जनाएको छ । 

भुम्जुडाँडामा निकालिएको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेमा वितरण गर्ने वितरणलाइनको ठेक्का लामा कन्ट्रक्सन र काभ्रेडाँडामा निकालिएको पानीलाई महादेवस्थान, दुर्छिम र मङ्गलटारमा वितरण गर्ने कामको ठेक्का रमन सगरमाथा–सगरमाथा घिमिरे जेभीले लिएको छ ।

२०७७ साल असार ३० गतेसम्ममा सक्ने सर्तमा २०७५ साल असार ३१ गते दुवै वितरणलाइनतर्फको कामको सम्झौता गरिएको थियो । मेनलाइन तथा वितरणलाईतर्फका सबै प्रोजेक्टको चौथो पटक थप भएको म्याद गएकाे २०७९ चैत ३० गते सकिइसकेको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया